कान्तिपुर सहकारीका अध्यक्ष एक करोड रकमसहित फरार

कान्तिपुर सहकारीका अध्यक्ष एक करोड रकमसहित फरार


सप्तरीको राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ठूलो धनराशिका साथ फरार भएका छन् ।

राजविराज नगरपालिका-७ मा रहेको सहकारीका अध्यक्ष बेचन यादवसहित पदाधिकारी एक करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका हुन् । अध्यक्ष बेचन सप्तरीकै विष्णुपुर गाउँपालिका-१, जमुनीका बासिन्दा हुन् ।

बचतकर्ताका अनुसार संस्था सञ्चालक समितिका पदाधिकारी एक वर्षदेखि सम्पर्कमा आएका छैनन् । गएको मंसिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराए पनि प्रहरीले पक्राउ नगरेको बचतकर्ताको गुनासो छ ।

शनिबार बचतकर्ताले सहकारीका सचिव सिद्धार्थ तातेडलाई उनको घरबाट ल्याएर जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएका थिए ।

आक्रोशित बचतकर्ता शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूलगेटमा केहीबेर धर्नामा समेत बसेका थिए ।