एक अर्ब ३५ करोड लगानीमा हिमालयन हस्पिटालिटी होटल निर्माण हुँदै

एक अर्ब ३५ करोड लगानीमा हिमालयन हस्पिटालिटी होटल निर्माण हुँदै


काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । कूल रु एक अर्ब ३५ करोड लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।

होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुने बताइएको छ । होटलमा कूल ९४ कोठामा दुई सय शय्या हुनेछन्, जसमा आठ वटा स्वीट रुम रहने छ ।

बेसमेन्ट दुई र भुई तल्ला गरी कूल नौ तले सो होटल इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटल प्रालिले निर्माण गर्न लागेको हो । होटलको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि केही दिन पहिले वन तथा वातावरण मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको छ । होटल निर्माण क्षेत्र वरपरको वातावरणीय प्रभावका बारेमा आवश्यक जानकारी दिन मन्त्रालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ ।

सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम इन्भाइरोन्मेन्टल सर्भिसेज प्रालिले गरिरहेको छ । होटल सञ्चालनमा आएपछि करिब एक सय जनाले रोजगारी पाउने छन् । होटलमा आठ तलासम्म चार वटा ट्वीन रुम, छ वटा क्वीन रुम र एउटा स्वीट रुम रहनेछन् भने नवौँ तलामा दुई वटा ट्वीन रुम र चार वटा क्वीन रुम रहनेछन् । होटलमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका लागि र्‍यामका साथै दुई वटा कोठा निर्माण गरिने सम्बद्ध पक्षको भनाइ छ ।