युक्रेनमाथि युद्ध सुरु भएपछिकै ठूलो हमला, ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार

युक्रेनमाथि युद्ध सुरु भएपछिकै ठूलो हमला, ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार


रसियाले युक्रेनमा ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । यो हमलालाई युद्ध सुरु भएदेखिकै सबैभन्दा ठूलो आक्रमण बताइएको छ ।

आक्रमपछि किभ राष्ट्रव्यापी आपतकालीन ब्ल्याकआउट लागु गर्न बाध्य भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । बताइएअनुसार मध्य क्रिभिइ रिहमा एउटा अपार्टमेन्ट ब्लकमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै, दक्षिण खेरसनमा भएको गोलीबारीमा अर्का एक जनाको मृत्यु भएको छ ।

कब्जा गरिएको पूर्वीयुक्रेनमा रुसी–स्थापित अधिकारीहरूले युक्रेनी गोलाबारीबाट १२ जनाको मृत्यु भएको बताएका छन् ।

एउटा भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग अझै धेरै ठूलो हमला गर्न पर्याप्त क्षेप्यास्त्रहरू रहेको स्वीकार गर्दै किभलाई थप र राम्रो वायु रक्षाप्रणालीहरू आपूर्ति गर्न पश्चिमी सहयोगीहरूसँग आग्रह गरेका छन् ।

गत फेब्रुवरी २४ मा सुरु भएको हमलाको अवसर पारेर मस्कोले अर्को वर्षको सुरुमा नयाँ आक्रमणको योजना बनाएको युक्रेनले अनुमान गरेको छ । झन्डै एक वर्ष लामो युद्धमा युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र हमला भएको छ ।