चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा दुईको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा दुईको मृत्यु


सर्लाहीको हरिपुर नगरपालिका-९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ ।

हरिपुर नगरपालिका-९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवारले जनाएको छ ।

केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो । दुई कोठामध्ये एउटा कोठा दाइ मोती माझी र अर्को कोठा रमेशले अंशबण्डा गरेका थिए । एउटै कोठामा मृतक रमेश, उनकी श्रीमती चन्दु माझी, जेठो छोरा पङ्कज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित पाँच जना बस्दै आएका थिए । किरियापुत्री बसेका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको त्यहीँ कठ्याङ्ग्रिएर ज्यान गएको जानकारी दिए ।

स्थानीय मुसहरको पनि लगाउने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा समस्या रहेको हरिपुर नगरपालिका-९ पिडारीका वडाध्यक्ष विश्वनाथ रायको भनाइ छ । चिसोले कठ्याङ्ग्रिएर रमेशको मृत्यु भएको बारे आफूलाई पनि कसैले जानकारी नगराएको जिकिर गर्दै उनले चिसोप्रभावितका लागि गैरसरकारी संस्थासँग समन्वय गरी कम्बल बाँड्ने तयारी गरिरहेको जानकारी दिए ।