तपाईंको मोबाइल नम्बर दुरुपयोग भएको त छैन ?

तपाईंको मोबाइल नम्बर दुरुपयोग भएको त छैन ?


राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने जरुरी अवस्था देखिएको नेपाल टेलिकमले जनाएको छ । अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भइ अनधिकृत व्यक्तिले रकम लिने गरेकाले आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गर्दै टेलिकमले सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन आग्रह गरेको छ ।

मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयम्को नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधा सुरक्षितसाथ प्रयोग गर्न सकिने टेलिकमको भनाइ छ । ‘टेलिकम ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराए/बिग्रिएमा स्वयम् उपस्थित भइ प्राप्त गर्न अनुरोध गर्दछ’, टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ग्राहकको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा मापदण्ड कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएको छ । नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरण स्पष्टरूपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र एवम् सम्पर्क नम्बर स्पष्ट रूपमा लेख्नुपर्ने जनाइएको छ ।

स्वयम् उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने छ र परिचयपत्रको प्रतिलिपिलाई सक्कल परिचयपत्रको नाम, बुबाको नाम, परिचयपत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिने भएको छ । सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयम् उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्णरूपमा भरेको/नभरेको जाँचपश्चात् ग्राहकको परिचयपत्रको सक्कल र नक्कललगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुनेछ ।

ग्राहक स्वयम् उपस्थित नभइ अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयम् उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचयपत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाइ सोको प्रतिलिपि रीतपूर्वक भरिएको फारामसाथ संलग्न गर्नुपर्छ । कागजात रुजु सम्पन्न भएपछि सिमकार्ड परिवर्तन हुन्छ ।

सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आ–आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचयपत्रको सक्कल र तिनका प्रतिलिपिसहित स्वयम् उपस्थित भइ निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

ग्राहक अशक्त भएमा निजको मञ्जुरीनामा पत्र र परिचयपत्रको सक्कल तथा प्रतिलिपि, लिन आउने व्यक्तिको सक्कल परिचयपत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाणपत्रसहित हकवाला नातेदार सक्कल कागजात तथा परिचयपत्रसहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचयपत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याइँ गरी सिमकार्ड परिवर्तन गर्न सकिने टेलिकमले बताइएकोे छ ।