‘भाइरल’ बन्नु र बनाउनुअघि सोचौँ

‘भाइरल’ बन्नु र बनाउनुअघि सोचौँ


विभिन्न अभियानकर्ताको नाममा हामीकहाँ जसले जसलाई जे आक्षेप लगाए पनि हुने संस्कृति स्थापित हुँदैछ । बेथिति रोक्ने नाममा कसैलाई अपमान गरेर अर्को बेथिति सिर्जना गर्न मिल्दैन ।

– बबिता बस्नेत

हामीकहाँ हिजोआज ‘भाइरल’ शब्द निकै चर्चित छ । सिनेमा, मिडिया, राजनीति, औपचारिक, अनौपचारिक, गाउँ, शहर, कुनैपनि क्षेत्र, पेशा, ब्यवसाय, लिङ्ग, वर्ग यसबाट टाढा छैन । भाइरल हुने होडमा मानिसहरू हिजोआज आफूलाई मनमा लागेको कुरा बोल्न छोडेर त्यस्ता कुराहरूमा बढी जोड दिन थाले जुन कुराले अरुलाई अरुलाई असर या प्रभाव पार्छ । आफूले बोलेका शब्दहरूमा अरुले कमेन्ट गरुन् भनेर अरुको ध्यान तान्ने उद्देश्यले बोलिएका शब्दहरूमा वास्तविकता भन्दा बढी ‘होहाल्ला’ हुने गरेको छ । इन्टरनेटको माध्यमबाट थारै समयमा धेरै पाठक तथा दर्शकसम्म पुग्नु भाइरल हुनु हो । इन्टरनेट प्रयोगकर्ताको दुनिँयामा अहिले भाइरल हुने र बनाउने दुईथरी समूह देखिन्छन् । एकथरी के गर्दा आफू भाइरल भइन्छ भनेर सोहीअनुरुपका तस्बिर, भनाइ तथा लेखाइहरू पस्किने र अर्कोथरी अरुले लेखेका, बोलेका कुराहरूलाई घुमाइफिराइ जोडजाम गरेर सम्बन्धित ब्यक्तिलाई गलत प्रमाणित गर्ने उद्देश्यले आफ्नो टिप्पणीसहित सामाजिक सञ्जालमा राखिदिने । अनि उसले उसलाई उसले उसलाई गर्दै त्यस्ता सामाग्रीहरू सामाजिक सञ्जाल, इमेल वा म्यासेज सेयरिङबाट धेरैजना समक्ष पुर्‍याउने । कुनैपनि सामाग्री इन्टरनेटमा एकै पटक धेरैले हेर्नु, पढ्नु, सुन्नु भाइरल हुनु हो । सकारात्मक, नकारात्मक दुवै सामाग्रीहरू भाइरल हुन सक्छन् ।

खासमा भाइरलको पृष्ठभूमि ‘हल्ला’ हो । जतिबेला मिडिया थिएन, मुखैले कति कुराहरू यताबाट उता, उताबाट यता, एउटा गाउँबाट अर्को गाउँ पुग्ने गर्थे, पुर्‍याउने गरिन्थ्यो । राम्रा कुराको चर्चा मानिसहरू कमै गर्ने गर्छन् त्यसैले परापूर्वकालदेखि नै राम्राभन्दा नराम्रा कुराहरू चाँडै फैलिन्थे । फलानाले फलानीलाई गर्भवती बनाएर भाग्यो रे… फलानाकी छोरी फलानासँग गइ रे…त्यहाँ त यस्तो भयो रे… शुक्रबारको ब्रत लिएन भने छोरा छोरी मर्छन् रे… यस प्रकारका हल्लाहरू प्राय: सबै गाउँघरमा चल्थे, चलाइन्थे । हल्लामा भए, नभएका सबै कुराहरू हुन्थे । सकरात्मकभन्दा नकरात्मक कुराको चर्चा हिजोपनि बढी नै हुनेगथ्र्यो । कसैका छोराछोरीले तरक्की गरे रे भन्ने भन्दा बिग्रिए, खत्तम भए भन्ने कुरा नै बढी चर्चाको विषय हुने गथ्र्यो । अहिले पनि नराम्रा कुराकै हल्ला चाँडो फैलिन्छ, फैलाइन्छ । त्यसैले ‘भाइरल’ शब्द नेपालीका लागि नयाँ भए पनि ब्यवहार भने नयाँ नभइ परिमार्जित मात्र हो । पहिला ती कुराहरू एकपछि अर्को ब्यक्ति-ब्यक्तिमा सीमित हुने गर्थे भने अहिले इन्टरनेटको प्रयोग गरी सोसियल मिडियामार्फत फैलिने गरेको छ, फैलाइ ने गरिएको छ ।

एकैपल्ट बनिबनाउ रूपमा परिपक्व सोच कसैको पनि हुँदैन । काम गर्दै जाँदा कतिपय कुरा जानिन्छ, कतिपय कुरा पढेर र कतिपय कुरा आफूलाई परेर जानिन्छ । अवधारणा र धारणाहरू परिवर्तन हुन्छन्, हेर्ने दृष्टिकोण बदलिन्छ, सोचहरू सधैं एकनास रहँदैनन् ।

खासमा कुनै मानिस केका लागि भाइरल हुने ? केका लागि कसैलाई भाइरल बनाउने ? त्यसले समाजलाई के योगदान गर्छ ? ब्यक्ति स्वयम्लाई के हुन्छ ? मनोवैज्ञानिक त्रासबाट गुज्रिन्छ या सकरात्मक प्रभाव पर्छ ? कुनै सामाग्रीलाई भाइरल बनाउनुअघि हामीले सोच्नु आवश्यक छ । अहिले भाइरल बन्नका लागि युटुबमा बोल्नेहरूको तँछाड मछाड देखिन्छ । मानिसले समाजमा आफ्नो छवी बनाउनका लागि वर्षौं लगाएको हुन्छ, कपाल फुलाएको हुन्छ । कसैलाई केमा चित्त बुझ्दैन युटुबमा उक्त ब्यक्तिको बारेमा मनपरी बोलिरहेको हुन्छ । विषय, प्रसङ्ग अनेक हुनसक्छन्, तर यो अहिलेको हाम्रो दु:खद वास्तविकता हो । विभिन्न अभियानकर्ताको नाममा हामीकहाँ जसले जसलाई जे आक्षेप लगाए पनि हुने संस्कृति स्थापित हुँदैछ । बेथिति रोक्ने नाममा कसैलाई अपमान गरेर अर्को बेथिति सिर्जना गर्न मिल्दैन । कसैको नाम नै लिएर युटुब या कुनै पनि माध्यमबाट सार्वजनिक रूपमा गालीगलौज गर्न मिल्छ कि मिल्दैन ? हाम्रो कानूनले भन्छ, त्यसो गर्न मिल्दैन ।

हामीकहाँ ब्यक्तिको गोपनियताको हकसम्बन्धी कानून छ । विसं २०७५ सालदेखि लागु भएको उक्त कानूनअनुसार, ‘कसैले कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुने गरी त्यस्तो व्यक्तिसँग सम्बन्धित उपदफा (३) बमोजिमका कुनै पनि विषय लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन ।’ यसमा चरित्रसम्बन्धी गोपनियताको पनि कानूनी ब्यवस्था छ । भनिएको छ, ‘कुनै व्यक्तिको चरित्र, आचरण वा व्यवहारको सम्बन्धमा कुनै प्रश्न उठेमा त्यस सम्बन्धमा छानबिन गरी कानूनबमोजिम कारबाही गर्ने क्रममा बाहेक निजको चरित्रको सम्बन्धमा कसैले कुनै टिप्पणी गर्न हुँदैन । कसैले कुनै पनि व्यक्तिको चरित्रमा आघात पार्ने वा निजको बेइज्जती वा अपमान हुनेगरी कुनै पनि प्रकारको काम कारबाही गर्न वा निजको आचरण वा व्यवहारसम्बन्धी कुनै पनि कुरा सार्वजनिक गर्न वा गराउन हुँदैन ।’ यस्ता अपराधमा कानूनले ३ वर्षसम्म कैद या ३० हजारसम्म जरिवानाको ब्यवस्था गरेको छ ।

अहिले झट्ट हेर्दा कस्तो जमाना आयो.. जसले जसलाई जे भने पनि भयो भनेजस्तो लागे पनि कसैलाई पनि अपमानजनक भाषा प्रयोग गर्न पाइँदैन । बेइज्जतीलाई हाम्रो कानूनले अपराध मानेको छ । मुलुकी अपराधसंहिता २०७४ को दफा ३०७ मा बेइज्जती गरेमा सजाय तोकिएको छ । जसमा कसैले कसैको बेइज्जती गरेमा या गराएमा निजलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुवै हुने ब्यवस्था छ । तर विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप १ वर्षसम्म कैद र १० हजार रुपैयाँ सजाय हुनेछ । उजुरी गर्ने हदम्याद सम्बन्धित ब्यक्तिले थाहा पाएको तीन महिनाभित्र रहेको छ ।

नराम्रा कुराकै हल्ला चाँडो फैलिन्छ, फैलाइन्छ । त्यसैले ‘भाइरल’ शब्द नेपालीका लागि नयाँ भए पनि ब्यवहार भने नयाँ नभइ परिमार्जित मात्र हो ।

विगतमा बोलिएका कतिपय कुराहरूलाई लिएर मानिस कुनै ओहदामा पुगेपछि खोजी-खोजी भाइरल बनाउने गरिएको छ । मानिसको बुझ्ने क्षमता र बुझाइमा परिपक्वता आउनका लागि अनुभव चाहिन्छ । एकैपल्ट बनिबनाउ रूपमा परिपक्व सोच कसैको पनि हुँदैन । काम गर्दै जाँदा कतिपय कुरा जानिन्छ, कतिपय कुरा पढेर र कतिपय कुरा आफूलाई परेर जानिन्छ । अवधारणा र धारणाहरू परिवर्तन हुन्छन्, हेर्ने दृष्टिकोण बदलिन्छ, सोचहरू सधैं एकनास रहँदैनन् । कतिपय अवस्थामा अगाडि र पछाडिका शब्दहरू काटेर भनाइलाई विवादास्पद बनाउने गरिएको छ । अरुलाई विवादमा ल्याएर मज्जा मान्नेहरूको सङ्ख्या प्रशस्त छ । एक जनाले पोष्ट गर्न पाएको छैन, ल…हेर… भन्दै सेयर गर्न हामीलाई हतार हुन्छ । खासमा यस्तो कसरी भयो या के भएको थियो होला… भनेर हामी त्यसको खोजी गर्दैनौँ । कतिपय मानिसहरू चाहिँ आफू चर्चित हुनकै लागि विभिन्न प्रकारका पोष्टहरू गरिरहेका हुन्छन्, प्रश्नहरू तेस्र्याइरहेका हुन्छन् । आफू भाइरल हुन बोलीले मात्र नपुगेर शारिरीक हाउभाउ गर्ने चलन पनि हिजोआज बढ्दो छ । चर्चित हुनु र लोकप्रिय हुनु फरक कुरा हो ।

सामाजिक सञ्जालले हामीलाई आफ्नो प्रवृत्ति उजागर गर्ने राम्रो अवसर दिएको छ । तपाईं कस्तो मूल्य मान्यता राख्नुहुन्छ ? विभिन्न विषयलाई हेर्ने दृष्टिकोण कस्तो छ ? सामाजिक सञ्जालका कारण हामीले आफ्ना विचारहरू क्षणभरमै विश्वब्यापी गर्न पाएका छौँ । इन्टरनेट र सामाजिक संजालका राम्रा पक्ष र यिनले ल्याएका अवसरहरू धेरै छन् । तर हिजोआज मनै झसङ्ग बनाउने अभिब्यक्ति पनि त्यत्तिकै आउन थालेका छन् । आफ्नो नाम नराखी लेख्न मिल्ने सामाजिक सञ्जालमा त झनै लेख्न नमिल्ने धेरै कुराहरू लेखेको देखिन्छ । कहिलेकाहीँ त आफ्नो परिचय नखुल्ने हो भने मानिसले जे पनि गर्ने रहेछ जस्तो पनि लाग्छ । कुनै पनि कुरामा अभिब्यक्ति दिनुअघि आफूले बोलेको कुराले के असर या प्रभाव पार्छ भन्ने बारेमा आफूले आफैलाई प्रश्न गर्नु आवश्यक छ । संविधानले हामीलाई अभिब्यक्तिको स्वतन्त्रा दिएको छ तर अभिब्यक्तिको नाममा हामी घृणास्पद अभिब्यक्ति पो दिइरहेका छौँ कि ? सोच्नु जरुरी छ । अभिब्यक्ति स्वतन्त्रता अधिकार हो घृणास्पद अभिब्यक्ति अपराध हो । अधिकार र अपराधबीचको ठुलो अन्तरलाई छुट्याएर हेरौँ, भाइरल बन्नु या बनाउनु अघि सोचौँ ।