शिक्षक बिष्टको हत्यामा श्रीमान-श्रीमतीको संलग्नताको खुलासा

शिक्षक बिष्टको हत्यामा श्रीमान-श्रीमतीको संलग्नताको खुलासा


  • सुरेश धामी

बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको हत्या आरोपमा पक्राउ परेका दुवै श्रीमान-श्रीमतीले प्रहरीसमक्ष अभियोग स्वीकार गरेका छन् भने उनीहरुलाई आज बिहीबार सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

‘घटना भएको राति विष्टले मेरो श्रीमतीलाई बोलाएपछि कोठाबाट बाहिर आएकी थिइन् । के रहेछ भनेर म पनि उनीसँगै आउँदा आपत्तिजनक अवस्थामा देखेपछि मैले मुक्का प्रहार गरेको हुँ,’ बयानमा अभियुक्तले भनेका छन्, ‘सोही क्रममा ढलेर उनको मृत्यु भयो ।’

प्रहरी स्रोतका अनुसार विष्टको मृत्यु भएपछि लडेको देखाउने उद्देश्यले शव क्याम्पसको होस्टेलनजिकै फालेको उनीहरुले स्वीकार गरेका छन् । ती युवती कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गर्दै आएको बुझिएको छ । उनी क्याम्पसकै होस्टेलमा बसेर अध्ययन गर्ने गरेकोमा घटना भएको दिन श्रीमान् पनि उनीसँगै थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिँदै बिहीबार सार्वजनिक गरिने बताए । घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।