सुनकोसीको पुल सम्पन्न नहुँदै सञ्चालन गर्ने हतारो

सुनकोसीको पुल सम्पन्न नहुँदै सञ्चालन गर्ने हतारो


  • दमन राई, खोटाङ

खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको काम सम्पन्न नहुँदै सञ्चालनमा ल्याइएको छ । खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणको काम सम्पन्न नहुँदै बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।

पूर्णरुपमा पुलको काम नसकिए पनि गाडी वारपार गर्न मिल्ने अवस्था बनेपछि खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम राई, उपाध्यक्ष रुपेश राईलगायतको उपस्थितिमा सञ्चालनमा ल्याइएको हो ।

गाईघाट-दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तर्गत फोक्सिङटारमा बनेको १२० मिटर लम्बाई भएको पुलको वेरिङकस, रंगरोगन लगायतका काम बाँकी नै छ । खोटाङको ‘वेटिङ प्रोजेक्ट’का रुपमा रहेको पुल निर्माण सामग्री तथा उपभोग्य सामग्री ढुवानीका लागि बनिनसक्दै सञ्चालनमा ल्याइएको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीका साईड इन्चार्ज मदन मगरले बताए ।

२०७५ सालमै बनिसक्नुपर्ने पुल ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण चार वर्ष ढिलागरी अन्तिम चरणमा पुगेको हो । फोक्सिङटारमा पुल सञ्चालनमा ल्याइएसँगै खोटाङलाई पुर्वी शहर जोड्ने छोटो दूरीको स्थायी नाका खुलेको छ । पुलका कारण जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्यामा कमी आउने अपेक्षा गरिएको छ । पुल निर्माणको काम अन्तिम चरणमा पुगेपछि जिल्लाका नेताबीचमा ‘जसलिने’ होड नै चलिरहेको छ । गत ४ मंसिरको चुनावमा कतिपयले फोक्सिङटार पुललाई चुनावी एजेण्डा नै बनाएका थिए ।

फोक्सिङटारमा २२ चैत २०७३ भित्र ‘सस्पेन्सन’ ब्रिज बनाउने गरी २३ चैत २०६९ मा सम्झौता गरिएको थियो । तर, २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरेर मुग्लिनकोजस्तो ‘आर्क’ ब्रिज निर्माणको काम अघि बढाइएको थियो । कामै नगरी २२ चैत २०७३ सम्मको म्याद सकिएपछि पुन: २०७५ साल चैत ३० गतेसम्मका लागि सम्झौता अवधि लम्ब्याइएको थियो । तर, सो अवधिमा पनि पुलको काम नभएपछि नवौं संशोधनअनुसार पुलको प्रथम म्याद १३ पुस २०७७ सम्म थप भएको थियो । पुन: कोभिड-१९ को महामारीलाई कारण देखाएर दोश्रोपल्ट थप भएको म्याद १२ असार २०७८ मा सकिएपछि पु:न २०७८ चैतसम्मका लागि तेश्रो म्याद थप भएको थियो ।

फोक्सिङटार पुल २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिएस सहित)मा पूरा गर्नेगरी गौरी पार्वती वाईपी जेभीले ठेक्का लिएको थियो । पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै तत्कालिन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गृहमन्त्रीसमक्ष २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए ।

ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक-पटक विरोध गर्दैआएका छन् ।

ढिलासुस्तीका विरुद्ध २०७२ माघ २४ गते सडक विभागमा धर्ना दिएका जिल्लावासीले पुन: २०७२ चैत २३ गते घेराउ गरेका थिए । सडक विभाग घेराउका क्रममा सांसद, नेता र जिल्लाबासीमाथि प्रहरी हस्तक्षेप भएको थियो । २०७२ चैत २४ गते पुल र सडक चाँडो निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए र सदरमुकाम दिक्तेलमा बिरोध र्‍याली निकालेको थियो ।

हट्यो बेलिब्रिजको सकस

गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने पुल निर्माणमा ढिलासुस्ती हुँदा विगत ६ वर्षदेखि फोक्सिङटारमा बेलिब्रिज राख्ने गरिएको थियो । बेलिब्रिजमार्फत यात्रु तथा मालबाहक सवारी साधन ओहोरदोहोर गर्थे । बेलिब्रिज राख्ने र झिक्नेक्रममा राज्यको करोडौं खर्च भइसकेको छ ।

फोक्सिङटारमा हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी अस्थायी बेलिब्रिज राख्ने गरिएको थियो । फोक्सिङटारको बेलिब्रिज हटाइएपछि कटारी-घुर्मी-जयराम हुँदै यात्रा तथा उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । तर पुलका कारण फोक्सिङटारमा बेलिब्रिज राख्नुपर्ने वाध्यता हटेको छ ।

खुल्यो पूर्व जोड्ने नाका

फोक्सिङटारमा ‘आर्क’ ब्रिज सञ्चालनमा आएपछि दिक्तेल-गाईघाट सिधा यातायात सेवा सुरु भएको छ । पुल सञ्चालनमा ल्याइएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर, काँकडभिट्टा जाने दोश्रो र छोटो बाटो खुलेको छ ।

पुलका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पुर्वी तराईका जिल्ला पुग्न र आउन सकिने वाताबरण बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । पुलका कारण बार्‍हैमास दिक्तेलबाट पुर्वी शहर आउजाउ गर्ने छोटो मार्ग खुलेको हो ।

पुल बन्यो तर सडकको बेहाल

गाईघाट-दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत सुनकोसीमा बनिनसक्दै पक्की पुल सञ्चालनमा ल्याइएको छ । तर सो पुलसँग जोडिएको महुरे-फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम भने अत्यन्तै सुस्त छ । महुरे-सिमपानी (राजापानी) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ ।

पुल उद्घाटनमा हतारो भइरहँदा सोही पुलसँग जोडिएका सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा भने एकादुईको मात्र ध्यान गएको देखिन्छ । कालोपत्रेको काम नहुने हो भने वर्षामा सडक हिलाम्मे हुने र पुल उपयोग नहुने चिन्ता उत्तिकै छ ।