काङ्ग्रेस संसदीय दलको चुनाव र भविष्य

काङ्ग्रेस संसदीय दलको चुनाव र भविष्य


बीपीले भनेजस्तो सुकिलामुकिला र पैसावालाहरूले पैसाको आधारमा चुनाव जित्ने र पैसाको लागि नै काम गर्नेहरूले नै काङ्ग्रेसलाई कब्जा गरेको देखिएको छ ।

– दामोदर पौडेल

लोकतन्त्र सभ्य मानव जीवनको लागि प्रधान हैसियतको शान्तिपूर्ण राजनैतिक ब्यवहार हो र, यसको सुन्दर गहना समाजवाद हो । समाजवादलाई लोकतान्त्रिक किसिमले लागु गरेर समानता र विकास तथा शान्तिको स्थापना नै सामाजिक हित र स्थायित्वको आधार हो । त्यो महान् विचार बोकेको नेपाली काङ्ग्रेसको राजनैतिक हैसियत दिनहुँ ओह्रालो लाग्नु भनेको नेताहरूको असक्षमता र बेइमानीको उपजबाहेक अरु होइन । त्यो दल ओह्रालो लाग्ने पक्षको नेतृत्व अहिले रामचन्द्र पौडेल, प्रकाशमान, विमलेन्द्र निधि समेतको सहयोगमा शेरबहादुर देउवाले गरिरहेका छन् ।

यो पटकको संसदीय दलको नेतामा देउवालाई नै चुनेर काङ्ग्रेसले बेथितिलाई निरन्तरता दियो भनिन थालिएको छ । त्यस्तै, पुस्ता हस्तान्तरणको आवाज उठेकोमा त्यो भनेको काङ्ग्रेसबाट देउवाले उमेरको समेत कारणले नेतृत्व छोड्न सक्ने अवस्थामा आरजु देउवा नेतृत्व लिनको लागि तयार भएको र, मन्जु खाणहरू पनि पछि लागेको धेरैले महसूस गरेका छन् । पतिहरूले गरेका गल्तीलाई पत्नीहरूले सुधारेमा राम्रो हुनेछ । आरजु देउवा सकारात्मक पक्षलाई स्थापित गरेर अगाडि बढेमा उनमा क्षमता पनि छ ।

नेपाली काङ्ग्रेस संसदीय दलको चुनावमा गगन थापाले चुनाव हारे र त्यो हार वास्तवमा नै युवाहरूको हार अनि युवाहरूलाई काङ्ग्रेसले स्वभाविक किसिमले आकर्षण गर्न नसक्ने वातावरण बन्नु हो भन्ने पनि देखिएको छ । यस्तो परिदृश्यले नेपाली काङ्ग्रेसबाट युवाहरू तथा लोकतन्त्रको पक्षधर भएको कारणले काङ्ग्रेसको नजिक रहेका र मत दिनेहरू क्रमश: बाहिर जाने अवस्था अझै बढेको छ । ३७ प्रतिसत भन्दा ज्यादा जनप्रिय मत ल्याएको काङ्ग्रेसले अहिले करिव २६ प्रतिशतमा चित्त बुझाउन परेको छ । पपुलर मत घट्नु भनेको काङ्ग्रेसको वास्तविक हैसियत कमजोर हुँदै जानु हो । गठबन्धनको मत भनेको सुन्निएर मोटाएको जस्तो हो र, केही समयमात्र काम लाग्छ अर्थात् अहिले पनि प्राविधिक रूपमा मात्र चुनावसम्म राम्रोसँग काम लाग्यो ।

काङ्ग्रेसबाट बाहिर गएको मत र अझै जाने मत विप्लवहरू तथा विदेशीको प्रत्यक्ष प्रभावमा पुगेमा वा राजनैतिक वितृष्णामा परिणत भएमा त्यसको ठुलो मूल्य देशले चुकाउनुपर्ने छ । यसलाई ब्यवस्थित गर्ने जिम्मा गगन, विश्वप्रकाश, धनराज, प्रदीप पौडेल, रामकृष्ण यादव, चन्द्र भण्डारी जस्ता जुझारु नेताहरूको हातमा रहेको छ । उनीहरू यस कारणले पनि २५ मत पाउन सकेकोमा बधाईका पात्र छन् कि देउवाले चुनावमा आफ्ना पक्षधरहरूले जित्ने ठाउँमा आफूले लिने अर्को पक्षधरहरूले जित्न सक्ने स्थानमा गठबन्धनलाई टिकट दिने, अर्को पक्षकालाई टिकट सकेसम्म कम दिने, समानुपातिकमा अर्को पक्षलाई साह्रै कम प्रतिनिधित्व गराउने, त्यसबाट बचेको टिकट आफ्ना पक्षमा रहने पैसावाल र डनहरूलाई दिने कार्य गरेको आरोप छ । उनीसँग पद बाँड्ने क्षमता पनि छ । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि जस्ता ‘पाए देउवाबाटै पाइन्छ’ भन्ने भावना पाल्नेहरूको साथ छ । देउवालाई प्रचण्ड, माधवकुमार नेपाल तथा विदेशी साथ समेत छ । देउवा संसदीय दलको नेता भएमा उनी अपेक्षाकृत आफ्ना साथीहरू भन्दा पदको लागि अरु दलका नेताहरू र विदेशीले भनेको मान्ने मान्ने ब्यक्ति हुन्, त्यसैले प्रधानमन्त्री बन्ने सम्भावना छ भन्ने भावना र पदको लोभ तथा टिकट दिएको ऋण तिर्न समेत देउवालाई मत दिइएको अनुमान भएको छ । यस अवस्थामा पनि मन्त्री पद नपाउने र केवल घेराउमा मात्र पर्ने सम्भावना हुँदाहुँदै पनि गगन थापाले २५ मत पाएका छन् । यो उनको ठुलो सफलता हो र काङ्ग्रेस अझै पनि तङ्ग्रिन सक्छ भन्ने सन्देश भने हो । उनी र उनका सहयोगीहरू बधाईका पात्र छन् ।

केपी ओलीले एमालेलाई लोकतान्त्रिक समाजवादी दलको रूपमा ब्ल्याक एण्ड ह्वाइटमा पनि रूपान्तरित गरेमा अबका दिनमा त्यो दलले देशको लागि भारतको पहिलाको काङ्ग्रेस र अहिलेको भाजपाजस्तो जनाधार बनाउन सक्छ ।

वास्तवमा नै बीपीले भनेजस्तो सुकिलामुकिला र पैसावालाहरूले पैसाको आधारमा चुनाव जित्ने र पैसाको लागि नै काम गर्नेहरूले नै काङ्ग्रेसलाई कब्जा गरेको देखिएको छ । नेपाली काङ्ग्रेसभित्र र अन्य केही दलहरूमा विदेशीको वैचारिक उपनिवेशीकरणको अवस्था बढिरहेको छ । यो दलभित्रको वैचारिक उपनिवेशको रंगले क्रमश: देशलाई नै समाप्त गर्ने प्रक्रियाको सुरुवात हुन सक्छ । त्यसलाई निरस्त पार्न गगन थापाहरू सफल त भएनन् तर निर्वस्त्र पार्न धेरै हदसम्म सफल भए ।

सत्तामा जाने ज्यादा सम्भावना भएका देउवाको लागि संसदीय दलमा जित भएमा मन्त्री पाइन्छ भनेर मत दिएको फोटो खिच्ने र दलको महामन्त्री भएकोले तुरुन्तै म मन्त्री बन्दिनँ भन्ने विश्वप्रकाश शर्मा पनि एउटै दलमा देखिए । विदेशको लागि देउवाको कम्फर्टेवल सरकार देख्ने र राष्ट्रियताको लागि र भ्रष्टाचारको विरुद्धमा चट्टान बन्ने धनराज पनि काङ्ग्रेसमा छन् । पदको लागि समुह बदल्ने र पद हैन इमान्दारी र आदर्शको लागि समुह बदल्ने पौडेलहरू पनि देखिए । नेपाली राजनीतिका अर्को नक्षेत्र बन्दै गएका प्रदीप पौडेल पनि त्यहीँ छन् ।

जे भए पनि काङ्ग्रेसमा देउवाका मनिसहरूले अरुले जतिसुकै चाहेर अरु चार जनालाई प्रधानमन्त्री बन्ने र क्षमता हेर्न अवसर नदिएर असक्षमलाई नै प्रधानमन्त्री बनाए । एमालेले दलबाट प्रधानमन्त्री बनाएका तीन जनाले पालो पाएर जनताले यिनीहरूको क्षमता हेर्ने समेत अवसर पाए । लोकतन्त्रको मन्त्रले गर्दा होला, तर पनि माओवादी र एमालेमा ओली र प्रचण्डपछिको नेताको प्रष्ट परिदृष्य देख्न सकिएन । काङ्ग्रेसमा अहिले पनि समझदारीका साथ नेतृत्वमा उभिएका कम्तिमा चार नेता छन् । यो काङ्ग्रेसको शुभ सङ्केत हो ।

विदेशीहरू र विषेशत: अमेरिकी तथा पश्चिमा शक्तिहरू भइरहेको जनप्रिय दललाई आफ्नो दलाल बनाउने कार्य प्रथम चरणमा गर्छन् । त्यो दललाई आफ्नो पक्षमा लिएपछि अझै त्यो दलका नेता-कार्यकर्ताहरू पुर्णत: आफ्नो पक्षमा हुन सक्दैनन् । त्यस समयमा अर्को आफ्नो पक्षधर नयाँ दल तयार गर्छन् भन्ने गरिन्छ । नेपालमा पनि नेपाली काङ्ग्रेस पुर्णत: विदेशीको इसारामा जान सक्ने सम्भावना हुँदैन भन्ने बुझेमा मूल प्रवाहभन्दा बाहिर रहन पुगेको पक्षको नजिकमा जनता रहन्छन् भन्ने देखिएमा अर्को नयाँ शक्ति जन्माउँछ । यस्ता सङ्केतका बारेमा समेत सवाल उठेका छन् ।

अब पनि धेरै आशा मात्र गर्दा सम्भवत: काङ्ग्रेससँगै लोकतन्त्रका पक्षधरहरू पनि कमजोर हुँदै, सुक्दै जान सक्ने सम्भावना छ । यो काङ्ग्रेसबाट पर गएको शक्तिलाई सङ्गठित गर्न नसकेमा देशको लागि झनै प्रत्युपादक हुन सक्छ । विप्लव मात्र होइन, त्यो भन्दा ज्यादा बाहिर पनि जान सक्छ । एक जना पहिला माओवादी र पछि एमाले बनेका मेडिकल क्षेत्रका उद्योगपतिले भनेका छन् कि यदि यस्तै हुने हो भने नेपालीहरूले यो पनि सोच्न सक्छन् कि नेपालमा २ लाख पर्ने मोटरसाइकल भारतमा ४० हजारमा किन्न पाइन्छ । राजनीतिमा कुनै सकारात्मक सन्देश नभएपछि देशमा पूरा आतङ्कको सायामा बस्न भन्दा मानिस सुरक्षाको पक्षमा जान पनि सक्छ । जस्तै, मर्नुभन्दा बहुलाउनु निको !

माओवादी र एमालेमा ओली र प्रचण्डपछिको नेताको प्रष्ट परिदृष्य देख्न सकिएन । काङ्ग्रेसमा अहिले पनि समझदारीका साथ नेतृत्वमा उभिएका कम्तिमा चार नेता छन् । यो काङ्ग्रेसको शुभ सङ्केत हो

लोकतन्त्रलाई समाजवादबाट बलियो बनाउनको लागि विकल्पहरू हेर्दा ब्यवहारिक रूपमा एमालेले आफूलाई लोकतान्त्रिक समाजवादी बनाएको छ तर दलको नामले गर्दा कुनै पनि समय एकदलिय परिपाटीको पक्षमा जान सक्छ कि भन्ने आशङ्का छ । सम्भावना कम भए पनि ओलीले एमालेलाई लोकतान्त्रिक समाजवादी दलको रूपमा ब्ल्याक एण्ड ह्वाइटमा पनि रूपान्तरित गरेमा अबका दिनमा त्यो दलले देशको लागि भारतको पहिलाको काङ्ग्रेस र अहिलेको भाजपाजस्तो जनाधार बनाउन सक्छ । यसमा काङ्ग्रेसबाट आशा राख्न छोडेकाहरूलाई ब्यवस्थित गन सक्र्नुपर्ने हुन्छ ।

अर्कोतर्फ गगनहरूले रवि, काङ्ग्रेसहरू, राप्रपा तथा एमाले समेतका अन्य दलहरू र ब्यक्तित्वहरूलाई एउटै मञ्चमा आउन सक्ने वातावरण बनाएर लोकतान्त्रिक विचार मञ्च जस्तो छातास्थल बनाउन सक्छन् । यो सम्भावित वैकल्पिक राजनैतिक शक्तिको लागि वातावरण वा दलहरूलाई सच्चिनको लागि कारक वा बाध्यता हुनेछ । यो विचार समुह बेलायतको लेवर तथा अमेरिकाको डेमोक्रेट पार्टी जस्तो धेरै फरक विचार समूहको साझा थलो हुन सक्छ, तर लोकतन्त्रको पक्षधरतामा अडिग हुन्छ । सम्भवत: धेरैलाई थाहा नहुन सक्छ कि वर्तमान अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको राजनैतिक पृष्ठभूमि कम्युनिष्ट अर्थात् कमसेकम हाल पनि वामपन्थी हो ।

अझै पनि भन्नैपर्छ कि यी सबै आशा र चाहनाहरू केवल अस्थायी माध्यममात्र हुन् । देशमा राजनैतिक रूपमा लोकतन्त्रलाई बलियो बनाउन सेना, प्रहरी, निजामति, शिक्षा सेवासमेतमा कार्यरतहरूले ठुलो भूमिका निभाउनुपर्ने हुन्छ । यसको लागि देशको बजेट वा नागरिकहरूमा हुने खर्च वा राज्यले गर्ने सम्पुर्ण खर्च नै यथासम्भव ज्यादा जनताले पाउने, त्यो उत्पादनमुलक हुने, ज्यादाभन्दा ज्यादा राम्रो प्रतिफल कम खर्च वा लगानीमा हुने र जनता शहरमा बस्न भन्दा दूरदराजमा बस्न रुचाउने किसिमको हुनुपर्छ । विदेशी आयात रोक्ने र निर्यातलाई प्रोत्साहित गर्ने हुनुपर्छ । यो सम्भव पनि छ । क्रमश: देशको प्रत्यक्ष साधारणखर्च ४० प्रतिसतभन्दा कममा झारेर अरु सम्पुर्ण खर्च जनसहभागितामा आधारित विकास र स्थायी संरचना तथा स्थायी फाइदाको लागि प्रयोग गरिनुपर्छ । जनतालाई जात, धर्म र भाषाभन्दा ‘समाज’ र ‘मान्छे’ भन्ने भावनाको विकासमा विश्वब्यापी आधारमा प्रेरित गर्न तयार हुनुपर्छ । सबै विचार र धर्महरू विवादको कसीमा आउने र गल्तीलाई सच्याउन तयार हुनैपर्छ । यसले रामराज्यको परिकल्पनालाई पनि साकार बनाउन सक्छ ।