ऐतिहासिक सहभागिताका साथ पोखरामा माछापुच्छ्रे टेनिस हुँदै

ऐतिहासिक सहभागिताका साथ पोखरामा माछापुच्छ्रे टेनिस हुँदै


कास्की जिल्ला टेनिस संघले ‘१९औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रानस टेनिस प्रतियोगिता २०७९’ आयोजना गर्दैछ ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा यहि पौष ११ गतेबाट १५ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुन लागेको हो । माछापुच्छ«े टेनिस प्रतियोगितामा अहिलेसम्मकै ठूलो सहभागिता रहने कास्की टेनिस संघका उपाध्यक्ष नविन चालिसे जनाएका छन् ।

प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आउन लागेको उपाध्यक्ष चालिसे जानकारी दिए । उनले भने– ‘यो माछापुच्छ्रे टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।’ सहभागी खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आउने छन् ।

प्रतियोगिताअन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथि गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथि मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथि सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथि सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथि सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका विजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ विजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्षमाथि भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजारसहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफीसंगै सेमीफाइनालिष्टले नगद १० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्षभन्दा माथिको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत नै हुने ५५ वर्षमाथिको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथिको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

‘१९औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९’ सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न माछापुच्छ्रे बैंकले मुख्य प्रायोजन वापत नगद ५ लाख उपलव्ध गराउने भएको छ ।

पत्रकार भेटघाटका अवसरमा आफ्ना भनाई राख्दै कास्की टेनिसका संस्थापक अध्यक्ष तथा नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थले माछापुच्छ्रे टेनिसले पोखराको टेनिस खेलको विकासमा अहम भूमिका खेलेको बताए । उनले भने– ‘हामीले २१ वर्ष अघि यूवा खेलाडीमा आकर्षण बढाउन भेट्रान्स टेनिस प्रतियोगिता सुरु गरेका थियौँ । अहिले १९ औं श्रृङ्खलामा आइपुग्दा यसले वृहद् रुप लिएको मात्रै नभइ खेलाडी उत्पादनमा समेत भूमिका खेलेको छ ।’