एक महिना समुद्रमा अलपत्रपछि इन्डोनेसिया पुगे रोहिंग्या

एक महिना समुद्रमा अलपत्रपछि इन्डोनेसिया पुगे रोहिंग्या


दर्जनौँ रोहिंग्या शरणार्थीहरू बिग्रिएको इन्जिन भएको काठको डुंगामा पश्चिमी इन्डोनेसियाको समुद्र तटमा पुगेका स्थानीय अधिकारीहरूले बताएका छन् । समुद्रमा एक महिना बिताएपछि उनीहरू भोकले कमजोर भइसकेका छन् ।

तट पुगेकामध्ये कम्तिमा तीन जनालाई अस्पताल लगिएको थियो । बिबीसीका अनुसार उनीहरू हप्तौँअघि समुद्रमा अलपत्रमा परेका १५० रोहिंग्याहरूको समूहको हिस्सा हुन् वा होइनन् भन्ने प्रष्ट हुन बाँकी छ ।

रोहिंग्याहरू म्यानमार (बर्मा)मा आफ्नो मूल घरमा पीडित बनेका जातीय अल्पसंख्यक हुन् ।

५७ जना मानिस सवार काठको डुंगा आइतबार बिहान आचे प्रान्तमा अवतरण भएको स्थानीय प्रहरी प्रवक्ता विनार्डीले जनाएका छन् । ‘डुङ्गाको इन्जिन बिग्रिएको थियो र यसलाई हावाले आचे बेसार जिल्लाको लाडोङ गाउँको किनारमा पुर्‍याएको हो’, प्रवक्ताको भनाइ छ ।

एक स्थानीय अध्यागमन अधिकारीले शरणार्थीहरूलाई अस्थायी रूपमा सरकारी सुविधामा राखिने जानकारी दिए । विभिन्न सञ्चारमाध्यमका अनुसार ५८ जना पुरुष आचे पुगेका छन् । आप्रावासीले कहाँबाट डुंगा तैरेका थिए भन्ने तत्काल जानकारीमा आएको छैन, यद्यपि अधिकांश शरणार्थी १२०० माइलको दूरीमा रहेको बंगलादेशमा विभिन्न शिविरमा बस्छन् ।