पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट दिइने

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट दिइने


पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सरकारले विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरिएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुरुप पोखरा विमानस्थल सञ्चालनमा आएको मितिदेखि एक वर्षसम्मका लागि अन्तर्राष्ट्रियतर्फको उडान र अवतरणमा शतप्रतिशत छुट दिने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार विमानस्थलमा अवतरण शुल्क, विसन शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको छ । यस्तो छुट अन्तर्राष्ट्रिय उडान भर्ने स्वदेशी तथा विदेशी एयरलाइन्सले पाउनेछन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यही पुस १७ गते (सन् २०२३ जनवरी १ तारिख) देखि व्यावसायिक उडान सञ्चालन गर्ने क्यानले घोषणा गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नवनियुक्त प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । विमानस्थल उद्घाटन बिहान ११ बजे हुने र औपचारिक समारोहपछि विमानस्थलमा अन्य कार्यक्रम पनि सञ्चालन हुने क्यानले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही पुस ७ गते निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयर र यती एयरलायन्सले आफ्नो परीक्षण उडान गरिसकेका छन् । त्यस्तै गुण एयरलाइन्सले पनि परीक्षण उडान गरेको छ ।

विमानस्थल सञ्चालनका लागि तयार भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । पोखरा विमानस्थलमा एरो थाई कम्पनीको जहाजले गत मङ्सिर ५ देखि ११ सम्म एक साता सफलतापूर्वक यान्त्रिक उडान गरेको थियो । यान्त्रिक उडानको प्रतिवेदन सकारात्मक आएसँगै विमानस्थल व्यावसायिक उडानयोग्य भएको हो ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ ।

उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानी डाँडा कटानको काम पनि अन्तिम चरणमा पुगेको विमानस्थलले जनाएको छ । पहिलो चरणअन्तर्गत १६ मिटर कटान गरी यान्त्रिक उडान गरिएको थियो । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडाकाटेर समतल बनाइनेछ ।