राजा वीरेन्द्रलाई सम्झँदा !

राजा वीरेन्द्रलाई सम्झँदा !


जुन घरका मूलीलाई वरिपरि समाजले सम्मान दिन्छ त्यो घरका हरेक सदस्यले पनि सम्मान पाउँछ । जता जाँदा पनि फलानोको छोरा हो भनेर हेप्न सक्दैन । पहिला र अहिले धेरै भिन्नता छ । हामी विदेशको यात्रा गर्दा हाम्रै प्रमुखको हामीबाटै सम्मानित अवस्था छैन । यसले गर्दा हामी बाहिर घुम्न जाँदा हाम्रो स्वाभिमान अभिमान निहुरिन पुगेको छ । ऊ बेला फुकेको नेपाली छाती अहिले सुकेको छ ।

  • कृष्णराज शर्मा

०३३ सालमा आठ कक्षामा पढ्थेँ । यहिबेला राजा वीरेन्द्रको बागलुङमा सवारी हुने रे भन्ने स्कुलमा हल्ला चल्यो । हल्ला चल्दाचल्दैमा कक्षा शिक्षकले हातमा सानो पाना पढेर सूचना सुनाउनुभयो । सूचनाले स्कुलमा आठ कक्षामाथिका विद्यार्थीले राजाको सवारीमा पिटी खेलमा सहभागिता जनाउनैपर्ने अनिवार्यता जनायो । केहिबेरअघिको हल्ला तथ्यसंगत बनेर हामीबीच सार्वजनिक भयो ।

म माथि धौलागिरी वीरेन्द्र मावि रात्माटामा पढ्थें । यसलाई गाउँले स्कुल भनिन्थ्यो भने पन्ध्र मिनेटको दूरीमा रहेको तलको स्कुल बजारिया स्कुल भनिन्थ्यो । तल्लो स्कुलमा बजारिया विद्यार्थी र शिक्षकको बाहुल्यता थियो । माथिल्लोमा यसको ठ्याक्कै उल्टो । यहि स्कुलमा पढिन्थ्यो । त्यो समयमा स्कुल आउँदा कोही नाङ्गै खुट्टा स्कुल आउँथे । कोही चप्पल लगाएर आउँथे । एकाध जुत्तामा हुन्थे । कुरै नगरम न, जुत्ता लगाउने त स्कुलको ‘हिरो’ नि ! म पनि चप्पलमै हुन्थेँ । जुत्ता भएपनि नलगाइ जोगाएर राख्नु पर्थ्यो । मलाई अहिले लाग्छ, त्यो समयमा यो छुच्याइँ अनुचित थिएन । ठिकै थियो ।

राजाको सवारी हुने नै भएपछि पिटीको तयारीका कुरा बढे । पिटीमा सहभागी हुन ड्रेसभित्र जुत्ता पाइन्ट त हुनैपर्‍यो । नीलो पाइण्ट, सेतो कमिज, सेतो जुत्ता–मोजा र नीलो स्वीटर अनिवार्य रुपमा किन्नुपर्ने ऊर्दी थियो । ला.. ! जुत्ता पाइन्ट लाउन पाइने भो भनेर भित्रभित्रै हाम्लाई कम्ति खुशि लागेन ! राजालाई हेर्न पनि पाइने नयाँ जुत्ता कपडा पनि लाइने.. वाह् ! मन खुशिले गदगद् भयो ।

स्थानीय ‘नेशनल ट्रेडिङ लिमिटेड, बागलुङ बजारमा यी सबै चिज पाइन्थे । तत्कालिन श्री ५ को सरकारले बागलुङ जस्तो विकट ठाउँमा नेशनल ट्रेडिङ लिमिटेडको शाखा कार्यालय खोलेर सुलभ र सुपथ मुल्यमा बिक्री भण्डारको स्थापना गरेको थियो । यसका डिलर (अधिकृत बिक्रेता ) पनि बजारमा थिए । उनीहरूले नेट्रेलिबाट खरिद गरेका समानमा मनपरि नाफा कमाउने पटक्कै छुट थिएन । स्थानीय प्रशासनले चौविसै घण्टा निगरानी राख्थ्यो । चाइनिज सामानको बर्चस्व थियो नेशनल ट्रेडिङ लिमिटेडमा । समयक्रममा भारतीय चासो बढ्दै गएपछि यसलाई हटाइयो भनिन्छ ।

बागलुङ जिल्लाभरि आठ कक्षादेखि माथि पढाइ हुने ६ वटा मात्र स्कुल थिए त्यतिबेला । बागलुङ सदरमुकामा दुईवटा– धौलागिरी वीरेन्द्र मावि र विद्यामन्दिर व्यवशायिक मावि थिए भने सदरमुकाम पर बुर्तीबाङमा उत्तरगंगा मावि, गल्कोटमा गल्कोट मावि, सर्कुवामा जनता मावि र बलेवामा त्रिभुवन मावि गरि जम्मा यत्ति ६ वटा मावि स्कुल थिए । राजालाई पिटी खेल देखाउने विद्यार्थी सदरमुकाममा रहेका यिनै दुईवटा स्कुलका विद्यार्थीबाट मात्र सम्भव थियो । राजालाई पिटी प्रदर्शन गर्दै नजिकबाट राजा हेर्ने भाग्यमानी हामी मात्र भयौँ । भाग्यमानी त भयौँ तर भाग्यमानी भएर मात्र भएन तालिममा पनि सफल हुनुपर्थ्यो । बल्ल मौका पाइन्थ्यो ।

पिटी तालिम शुरु भयो । लामै समय तालिम लिइयो । हिउँदको समय भएकाले धानखेती थन्काएपछिका खेत खलान खाली हुने नै भए । अहिलेको क्याम्पसको जग्गा बनेको थिएन । तिनै खेतमा लगेर विद्यार्थीलाई तालिम दिइन्थ्यो । हामी तालिममा खेल्दा उफ्रँदा धुलैधुलै भएर घर फर्कन्थ्यौँ । जाडोको समय, पानीको अभाव हातखुट्टा र मुखको चूच्चो मात्र धोएर घर पस्थ्यौँ । अहिले जस्तो तातो चिसो पानी कहाँ पाउनु ! त्यो पानी अभावको समय सम्झँदा अहिलेका केटाकेटीलाई त जन्मंदै स्वर्ग छ ।

तालिममा सफल नहुने राजाको अगाडी पिटी प्रदर्शनमा जान बन्देज लाग्थ्यो । त्यसैले राजालाई पिटी देखाउन भन्दापनि बेमौसममा गार्जियनबाट किनिदिने जुत्ता लुगा हातपार्न पनि पिटीमा सफल हुनैपर्थ्यो । ओहो, कम्ता टेण्सन हुन्थ्यो र पिटी सिक्दा ! ढ्याङ ढ्याङको आवाज एकातिर चाल अर्कोतिर हुने ! गोडा फाट् भन्दा सतर्क हुने सतर्क भन्दा गोडाफाट् हुने । हात माथि भन्दा हात तल हुने हात तल भन्दा माथि जाने । चौघेरामा बसेर गुरुहरूले चेक गर्ने । अलिकति बिरायो कि गुरु दौडिँदै आएर टाउकामा सिप्को लौरीले ट्वाङ्ङ हान्नुहुन्थ्यो । जेहोस यनकेन सिकिएछ । पास भइएछ । सहभागी हुने र राजालाई हेर्ने अवसर पाइयो ।

अब कपडा किन्न हतार भयो । कहिले नेशनल ट्रेडिङका कपडा आफ्नो आङमा छिराउने हो भन्ने चिन्ताले सताइरहन्थ्यो । दशैंमा मात्र किन्ने अनि जाडोमा मात्र लाउने राम्रा जुत्ता, यसपालि पुषैमा अर्को दशैँ थपिएजसरी जुत्ता पनि थपिनेवाला थियो । उसैगरि अन्य कपडा पनि थपिँदै थिए । मानौँ, यसपाली सालैमा तीनवटा दशैँ भएका थिए । अन्तत: सपना पूरा हुँदै आए । सबै समयमै जुत्तालगायत सबै नयाँ नाना आए । अब सिलाउने कसरी ?

सिलाउनको लागि अहिले जस्तो सर्वसुलभ टेलरिङको अवस्था थिएन । टेलरहरू आ–आफ्नो घरमा हुन्थे । नाप्नु न साप्नु अन्दाजमा सिलाइदिन्थे । हाम्रा टेलरहरू माथि डाँडामा बस्थे । त्यो डाँडाको नाम भीरलाङ्खुरी हो । टेलरले ड्रेस बनाए कि बनाएनन् सोध्न बजारबाट घरिघरि गइन्थ्यो । अघिपछि दुई घण्टा लाग्ने बाटो नयाँ कपडा लाउने हतारोमा आधै घण्टामा पुगिन्थ्यो । स्याँ–स्याँ, फ्याँ–फ्याँ गर्दै पुग्यो र सोध्यो– जेठा’बा सिलाइदिनुभयो ? उताबाट जवाफ आउँथ्यो– काँ बाबु, पर्सी आउनु । अनि फर्किन्थ्यो । पर्सी गयो फेरि उस्तै । सवारी हुनुभन्दा तीन दिन पहिलाजतिमा बल्ल ति कपडाले मेरो नाममा नामसारी भए । अब भने आठ कक्षा पढ्ने ठिटो ठँट्टियो । राजा हेर्नलायक भयो !

राजाको सवारी भयो । विहानदेखि पिटी देखाउने हामीहरू सवारीस्थलमा खडा भयौँ । पेट भरी थियो कि भोको थियो बिर्सें; राजा देख्न पाए पुग्थ्यो । हामी माथि हेलिकप्टर घुम्न थाले । एकैचोटी तीनवटा हेलिकप्टर उडेको देखेकै थिइनँ । (एउटा पंखा भएको हेलिकप्टर एकदुई चोटी स्थानीय आवा अफिसको चऊरमा बसेको देखेको थिएँ ।) यति धेरै त आजै देखेँ । ऊ त्यसमा राजारानी छन् भन्थे हामीभन्दा ठुलाले । हेलिकप्टर हेर्दै राजादेखे जस्तै भयो । अब पिटी खेल्दै राजा हेर्नुछ । हेलिकप्टरको आवाज बन्द भयो । राजारानीको जयजयकारले फेरि गगन भेद्न थाल्यो । मान्छेको दौडादौडको भेल । कोही राजाको पाऊको धूलो खोज्दै दौडने । कोही बिन्तीपत्र बुझाउन सरकार ! सरकार !! भन्दै दौडने । धुलैधुलोको वायुमण्डल बन्यो । ओहो, के हो यस्तो अचम्म ! राजारानी ओर्लेपछिको माहौल हेर्दाहेर्दै मैले पिटी बिर्सेंजस्तो लाग्न थाल्यो । राजारानीको मञ्चमा सवारी भयो । होहल्ला मत्थर भयो ।

राजारानीलाई स्वागतगानद्वारा स्वागत गरिएपछि हामी स्कुले विद्यार्थीलाई पिटी प्रदर्शन गराएर छुट्टी दिइने रहेछ । हाम्रो पालो आयो । अहिले जस्तो स्कुलपिच्छे ढोल हुँदैनथ्यो । स्थानीय सैनिक व्यारेकबाट ल्याएको ढोल बज्न थाल्यो । ढ्याङ् ढ्याङ् ढ्याङ् ढ्याङ् चारचोटी बजेपछि हामीलाई सिकाएअनुसार गर्दै गयौँ । फर्मुलाअनुसार गरेकै थियौँ । एक पटक दुईचोटी ढ्याङ् ढ्याङ् गर्दा नै हात उठेछन् । सबै सिकाएको जति राजारानीतिर हेरेर बिर्सिएछ । डरले रातो पिरो भएँ । मेरो झण्डै सातो गएको ? तर मैले जस्तो पिटी बिगार्ने अरु पनि थुप्रै रहेछन् । ढुक्क भएँ । पिटी देखाइसकेपछि बन्धनमुक्त भइयो । अब स्वतन्त्र रुपमा राजालाई हेर्न थालेँ ।

राजा सैनिक पोशाकमा थिए । टाउकोमा हरियो खैरो क्याप । आँखामा कालो चश्मा । च्यूँडोमुनिसम्म गालामा भएर आएको क्यापको पाता फिता । सैनिक कम्ब्याट् पोशाक । अग्लो सर्लक्कको ज्यूडाल । काला जुँगायुक्त मधुर मुस्कान । ओहो, राजा भनेका राजै हुन् है ! मनैमन भनेँ । साडीमा सजिएकी रानी ऐश्वर्य सँगसँगै रहेकी । उस्तै राम्री रानी । आहा, कति राम्रा हुन् राजारानी ! अघिपछि सुनिन्थ्यो आज आफै देखियो । दुई महिनाअघि मंसीरदेखिको राजा हेर्ने धोको माघमा सकियो । साथसाथै मेरा चाइनीज सेता जुत्ता र सेतै मोजा लाउने धोको पनि मेटियो । त्यो धूलोमा मेरा मनप्यारा नयाँ नानाबानाको गति पनि पछि घरमा आएर हेरियो । सबै धुलाम्य थिए । हरेक पुषको चौधले यस्तैयस्तै राजासँग जोडिएका कुराको सम्झना गराउँछ । सम्झन मन गर्छ र सम्झिएँ ।

र अन्तमा, तत्कालिन स्कुले समयको सम्झनामा त्यतिबेला स्कुलमा कक्षागत राष्ट्रिय गीत कक्षा १ देखि दशै कक्षासम्मका किताबका बाहिर छापिएका हुन्थे । तर एउटा गीत भने सामुहिक गीत थियो । आठकक्षा माथिका विद्यार्थीले यो गीत बढी गाउँथे । हामी सबैले गाउँथ्यौँ । –

हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ ।
कहिल्यै नझुक्ने शीर उठेको स्वाभिमानी नेपाली हुन्छ ।
विश्वको कुनाकाप्चामा खोज,
नेपालीको मुटुमा खोज,
त्याहाँ सिंगो नेपाल हुन्छ ।
त्यहाँ राजारानी हुन्छ ।

ऊ बेला राजाको उच्च सम्मान हुन्थ्यो । राष्ट्रप्रमुख राजा थिए । जुन घरका मूलीलाई वरिपरि समाजले सम्मान दिन्छ त्यो घरका हरेक सदस्यले पनि सम्मान पाउँछ । जता जाँदा पनि फलानोको छोरा हो भनेर हेप्न सक्दैन । पहिला र अहिले धेरै भिन्नता छ । हामी विदेशको यात्रा गर्दा हाम्रै प्रमुखको हामीबाटै सम्मानित अवस्था छैन । यसले गर्दा हामी बाहिर घुम्न जाँदा हाम्रो स्वाभिमान अभिमान निहुरिन पुगेको छ । ऊ बेला फुकेको नेपाली छाती अहिले सुकेको छ । त्यस्तो धुमधामको सम्मान देशभित्र मात्र नभै विदेशमा समेत सम्मान पाउने राजा वीरेन्द्र आज हामीबाट अस्ताएको २१ वर्ष पुगेछ । हाम्रा प्यारा राजा वीरेन्द्रको आज पौष १४ गते ७८औँ जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ! सबैको जय होस् !