अमेरिकामा हिमपातको विपत्ति : सयौँ उडान रद्द, हजारौँ यात्रु टर्मीनलमै सुत्न बाध्य

अमेरिकामा हिमपातको विपत्ति : सयौँ उडान रद्द, हजारौँ यात्रु टर्मीनलमै सुत्न बाध्य


घातक हिमआँधीसँगै उडान रद्द र ‘डिले’ हुँदा अमेरिकाभरका विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र परेका छन् । झन्डै २८ सय उडान रद्द भएका छन् भने १३ सय उडान ‘डिले’ भएका छन् ।

उडान ट्र्याकिङ गर्ने फ्लाइट अवेरका अनुसार अलपत्र परेका हजारौँ यात्रुहरू टर्मिनलमै सुतिरहेका छन् । बिहीबार उड्ने तालिकामा रहेका २३ सयभन्दा बढी उडान रद्द भएका छन् ।

चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन् ।

रद्दका कारण जानुपर्ने स्थानमा जान नसकेका हरेक व्यक्तिसँग वास्तवमै दु:खित भएको भन्दै साउदवेस्टका सीइओ बब जोर्डनले भिडियोमार्फत क्षमायाचना गरेका छन् ।

कीर्तिमानी कडा चिसोले सबै एयरलाइन्सका लागि चुनौती ल्याएपछि विमान कम्पनीले उडानहरू रद्द गरेका जोर्डनको भनाइ छ ।

यसैबीच, चिसोका कारण कम्तीमा ५० जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका शहरहरु अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा लाखौँ मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् ।