तमु समाज बेल्जियमले मनायो ल्होसार पर्व

तमु समाज बेल्जियमले मनायो ल्होसार पर्व


  • सनत आचार्य, बेल्जियम

तमु (गुरुङ) समुदायको विशेष पर्व ल्होसार तमु समाज बेल्जियमले लुभेनमा भब्यताका साथ मनाएको छ ।

ल्होसार कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्वर्ग) का लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले नेपाल विभिन्न जात जातिको कला, संस्कृति, भाषा, भेषभुषाले समृद्ध बनेको बताउँदै ल्होसार तमुहरुको ठुलो चाड भएकोले विदेशमा पनि यो पर्व मनाएकोमा आयोजकप्रति आभार प्रकट गर्नुभयो । राजदूत राजभण्डारीले हरेक समुदायले आफ्नो संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने कामलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिनुभयो भने प्रवासमा मनाइने यस प्रकारका पर्वले समाजलाई ऐक्यबद्ध गरेर लग्ने तर्क गर्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसी, गैरआवासीय नेपाली संघ फाउण्डेशन बेज्जियमका अध्यक्ष पदम गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्तिमगरले ल्होसारका उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

ल्होसार के हो र यस्को शुरुवात कसरी भयो भन्ने सन्दर्भमा समाजका सल्लाहकार होम गुरुङले जानकारी दिनुभएको थियो भने कार्यक्रमका संयोजक नन्दु घलेले कार्यक्रममा आर्थिक सहयोग प्रदान गर्नु हुनेको नामावली सुनाउँदै सहयोग गर्नेहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा ल्होसार पर्व मनाउन सबैभन्दा ठुलो धनराशि प्रदान गर्नु हुने समाजसेवी क्याप्टेन जोगमान गुरुङलाई सम्मान गरिएको थियो । सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि स्थानीय बालबालिकाहरूले नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

चर्चित कलाकारहरुको दमदार प्रस्तुति

ल्होसार पर्वलाई अझ रोचक तथा प्रवावकारी बनाएर सहभागीहरुलाई थप मनोरञ्जन प्रदान गर्न नेपालका ख्यातिप्राप्त कलाकार सुनिता दुलाल र डेभिड शंकरलाई समेत आमन्त्रण गरिएको थियो । उनीहरुको प्रस्तुतिले कार्यक्रममा थप मनोरञ्जन प्रदान गर्नुका साथै उर्जासमेत पैदा गरेको थियो ।

कार्यक्रमको शुरुमा गायक डेभिड शंकरले तुल्सी आँगनमा रोपौँला गीतबाट आफ्नो प्रस्तुति शुरु गरेका थिए भने उनको फनफनी घुम्याको कम्मरमा भन्ने गीतले दर्शकलाई जगाएको थियो ।

त्यसैगरी अर्की चर्चित कलाकार सुनिता दुलालले स्थानीय गायक नारायण धितालसंग डाँडाघरे साइँली गीतबाट प्रस्तुति शुरु गरेकी थिइन् । त्यसलगत्तै दुवैले गलबन्दी च्यातियो गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्तमा गायिका सुनिता दुलालले मायाको मुखैमा चिनी, चिनी भन्दा गुलियो गफ दिने, झम्के फुली नाकैमा बुलाकी, कस्सीयो मायाको डोरी जस्ता चर्चित गीत प्रस्तुत गरेर दर्शकदीर्घामा रहेका दर्शकहरुलाई छमछमी नचाइन् ।

तमु समाजका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न सांगीतिक कार्यक्रमको उद्घोषण ऋचा गुरुङले गरेकी थिइन् भने उद्घाटन सत्रको संचालन समाजका महासचिव सूर्यबहादुर गुरुङ र स्वागत भाषण राम घलेले गरेका थिए ।

कार्यक्रमको पूर्वाद्धमा कार्यक्रमको सहयोगार्थ बेल्जियमबासी विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेको र यो रकम करिब ३० हजार युरो रहेको कार्यक्रम संयोजक नन्दु घलेले जानकारी दिएका थिए ।

विभिन्न दाताबाट उठेको यो रकम ल्होसारका लागि सीमित मात्रामा खर्च गरी बाँकी रकम सामाजिक तथा मानवीय सहयोगमा खर्च गरिने कार्यक्रम संयोजक नन्दु घलेले बताए ।

कार्यक्रममा बेल्जियमका विभिन्न सामाजिक संघसंस्थालगायत लब्ध प्रतिष्ठित व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।