पूर्वप्रमुख पादरी बेनेडिक्टको निधन

पूर्वप्रमुख पादरी बेनेडिक्टको निधन


संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको पञ्चानब्बे वर्षको उमेरमा शनिबार निधन भएको छ । शनिबार बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उनको निधन भएको भ्याटिकनका प्रवक्ताले बताएका हुन् ।

सन् २०१३ मा उनले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा गरेका थिए । ६ सय वर्षपछि पदबाट त्यसरी राजीनामा गर्ने उनी पहिलो प्रमुख पादरी थिए ।

त्यसबेला उहाँले एक अर्ब २० करोड क्याथोलिकका गिर्जाघर सम्हाल्ने शक्ति आफूमा नरहेको घोषणा गर्दै पदबाट बाहिरिएका थिए ।

जर्मनीका लजालु जर्मन धर्मशास्त्री उनले धर्मनिरपेक्ष युरोपमा इसाई धर्मलाई पुनजागृतको प्रयास गरेका थिए । आगामी बिहीबार पोप फ्रान्सिसको अगुवाईमा सेन्ट पिटर स्क्वायरमा उनको अन्त्येष्टि हुनेछ । सोमबारदेखि उनको शव सेन्ट पिटरको बासिलिकामा श्रद्धाञ्जलीका निम्ति राखिने भ्याटिकनले जनाएको छ ।