ब्राजिलले नयाँ राष्ट्रपतिलाई स्वागत पेलेलाई बिदाइ गर्दै !

ब्राजिलले नयाँ राष्ट्रपतिलाई स्वागत पेलेलाई बिदाइ गर्दै !


  • डिल्ली अम्माई

संयोग भनौँ या दुर्भाग्य, ल्याटिन अमेरिकाको युरोपजत्तिकै विशाल देश ब्राजिलमा एकैदिन अर्थात् २०२३ जनवरी १ तारिखका दिन लुइज इनासियो लुला दा सिल्भाले भब्य समारोहको बीच राष्ट्रपतिको सपथ लिनेछन् भने त्यसको भोलिपल्ट मलामीको ठुलो संख्याबीच महान् फुटबल पेलेको अन्त्येष्टि हुँदैछ।

ब्राजिलका अत्यन्त लोकप्रिय बामपन्थी नेता लुलालाई सम्मान गर्दै ‘ओले.. ओले.. लुला… !’ भन्दै ब्रासिलियामा समर्थकहरुको भिड जम्मा हुन थालेको छ।

जनवरी २ तारिख सोमबार सान्तोसको भिला बेलमिरो स्टेडियम बाहिर पेलेलाई अन्त्यष्टिको लागि राखिनेछ र अन्तिम श्रद्धान्जलीपश्चात उनको अन्त्यष्टि गरिने छ।

ब्राजिलले नयाँ वर्षमा नयाँ राष्ट्रपतिको आगमनलाई उत्सवको रुपमा मनाउन आफ्नो इतिहासमा सबैभन्दा ठूलो तयारी गरिरहेको छ। दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले झन्डै एकदिनको फरकमा नयाँ राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई स्वागत गर्न र आफ्ना सबैभन्दा प्रसिद्ध छोरा ‘पेले’लाई बिदाइ गर्न गइ रहेकोले भिड विशाल हुने अपेक्षा गरिएको छ ।

एक वर्षभन्दा बढी समयदेखि एडसन एरेन्टेस डो नासिमेन्टोुपेलेु कोलोन क्यान्सरबाट पीडित थिए । उक्त क्यान्सर शरीरभरि फैलिएर उनको मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको हो । ८२ वर्षीय पेले एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा थिए।

‘शहर शोकमा छ’, एक ८७ वर्षीय पत्रकार वाल्टर डियासले भनेका छन् । पत्रकार वाल्टरले सन् १९६० को दशकमा पेलेका फुटबल खेलका उत्कर्षका दिनहरुको समाचार संकलन र प्रशारण गरेका थिए । त्यसपछि पेले र उनको परिवार पत्रकारका निकटसम्बन्धी जस्तै बने।

खेल पत्रकार वाल्टरले भनेका छन्- ‘हामी सबै दु:खी छौँ किनभने हामी अत्यन्त नजिकका मित्र थियौँ । उहाँले हामीलाई छोडेर जानुभएको छ । अहिले हामीले परिवारको एक सदस्य गुमाएको जस्तो छ।’

जीवनकालमा पेलेले तीन पटक विवाह गरेका थिए र उनका सात छोराछोरी र धेरै नातिनातिना छन् । उनका सन्तानमध्ये कोही संयुक्त राज्य अमेरिकामा बस्छन् र बाँकी आफ्नो पेशाअनुशार ब्राजिलमा छरिएर बसेका छन् ।

निवर्तमान राष्ट्रपति, जैर बोल्सोनारो पेलेको उक्त अन्त्येष्टिमा उपस्थित हुने छैनन् । शुक्रबारका रिपोर्टहरूले भनेका छन् कि आफ्नो वामपन्थी उत्तराधिकारीलाई कार्यालयको कार्यभार हस्तान्तरण गर्नबाट जोगिनको लागि अति दक्षिणपन्थी निवर्तमान राष्ट्रपति बोल्सोनारो स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ बजे फ्लोरिडाको लागि उडिसकेका छन् । उनले आफ्नो अन्तिम सम्बोधनमा भनेका छन्, ‘मैले लडाई हारेँ तर युद्ध होइन।’

यसले लुलाको सत्तारोहणलाई आतंकित बनाएको छ । यसर्थ सपथ समारोहको वरपर बन्दुकलाई आंशिक निषेध गरिएको छ । बोल्सोनारोले सट्टा हस्तान्तरण गर्न अस्विकार गरेको अस्वाभाविक परिघटना हेर्दा, कतै बोल्सोनारोले निवर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले झैँ कुनै आक्रोशपूर्ण घटना त गराउने त हैनन् ? धेरै प्रकारका आशंकाहरु जन्माएको छ।

  • (तस्बिर क्रमश: बोल्सोनारोको फ्लोरिडा जानेबेलाको अन्तिम सम्बोधन, राष्ट्रपति लुला र पेले)