धनकुटाका अनिस जापानमा ‘ओफुरो’मा डुबेर मृत अवस्थामा फेला परे !

धनकुटाका अनिस जापानमा ‘ओफुरो’मा डुबेर मृत अवस्थामा फेला परे !


symbolic image

  • विशेष प्रतिनिधि, टोकियो (जापान)

अंग्रेजी नयाँ वर्ष आरम्भको दिन जापानमा एक नेपाली विद्यार्थीको असामयिक निधनको दु:खद घटना घटेको छ । धनकुटा जिल्ला घर भएका अनिस कटवालको निधन भएको हो ।

सन् २०२२ को जुलाईमा विद्यार्थी भिषामा जापान आएका कटवालको आफू बस्दै आएको कोठामा नै निधन भएको हो । मृतक कटवालका निकटजनहरुका अनुसार अनिस कोठामा रहेको ओफुरो (पानी जम्मा गरेर नुहाउने जापानी शैलीको भाँडो)मा जनवरी १ तारिख बिहान मृत भेटिएका हुन् ।

हामी बिहान ५ बजे नयाँ वर्षको इभ मनाएर कोठामा पुगेका थियौँ, भित्र हेर्दा ओफुरोमा नुहाउन लागेको जस्तो देख्यौँ । तर, हलचल नगरेको देखेर हेर्दा अचेत पायौँ र प्रहरी र एम्बुलेन्सलाई बोलायौँ । प्रहरी र एम्बुलेन्सका कर्मचारीहरुले ओफुरोमा नै कटवालको निधन भइसकेको बताए । बिहान ६ बजे पोष्टमार्टम लगायतको लागि शव लगेको छ । हामी अहिले प्रहरीचौकीमा नै रहेका छौँ ।ु मृतक कटवालका एक साथीले बिहान ७ बजे भएको कुराकानीमा बताए ।

नेपालस्थित परिवारलाई घटना बारेमा जानकारी गराइसकिएको बुझिएको छ । २७ वर्षीय मृतक अनिस कटवाल टोकियो इकेबुकुरोमा बस्दै आएका थिए भने ताकाराजुका भाषा विद्यालयमा अध्ययनरत थिए ।

आत्महत्या वा अन्य कारण जस्तो नदेखिए पनि तत्काल कटवालको निधनको कारण थाहा हुन नसकेको र पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण थाहा हुनसक्ने प्रहरीले बताएको छ ।