हामीहरू जो बाँचिरहेका छौँ…

हामीहरू जो बाँचिरहेका छौँ…


  • राममान ‘तृषित’

सपूतहरू त शहीद भएर गइहाले
हामीहरू जो बाँचिरहेका छौँ
शहीदहरूकै सपना भाँचिरहेका छौँ
हरेक दिन
फटाहाहरूबाट अर्ती सुनेर
ठगहरूबाट उपदेश सुनेर
हाम्रो विवशता र बाध्यताको कुरै नगरौँ
इतिहासका पानाहरूसँगै मक्किसकेका
पुर्खाका बहादुरीका कथाहरू मात्र छन् हामीसित
आफ्ना सन्तानहरूलाई सुनाउन ।
भक्तलाई भगवान्बाट टाढा राख्नेहरूलाई नै
ठूलो पुजारी मानिरहेका छौँ
आमाको लुगा च्यातेर-
झण्डा बनाइ हिँड्नेहरूलाई नै
क्रान्तिकारी ठानिरहेका छौँ
रावणहरू जस्ताका हातमा
देशको भाग्य सुम्पेर
यो देश पनि सुनको लङ्का बन्ने
सपना देखिरहेका छौँ ।
हामीले चढाएको फूल मूर्तिसम्म त के
मन्दिरभित्र पनि पुग्न दिएनन् यी पहरेदारहरूले
हामीले रोपेका बोटबिरूवाहरूलाई हुर्कनै दिएनन्
बगैँचा बनाउने ठेक्का पाएका ठेकेदारहरूले
नत्र आजसम्म पनि
देशको अनुहार रोगीको जस्तो हुने थिएन
यो देशको बानी-ब्यहोरा पनि
मागिखाने जोगीको जस्तो हुने थिएन ।

  • (स्वर्गीय तृषितको कविता संग्रह ‘राममान तृषितका कविता’बाट)