मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न धादिङ जिल्ला प्रशासनको निर्देशन

मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न धादिङ जिल्ला प्रशासनको निर्देशन


जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभित्र अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानून र मापदण्डविपरीत अनुमति नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन्, प्रशोधनकार्यमा संलग्न रहेका क्रसर उद्योग र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चलानमै रहेका उद्योग तत्काल बन्द गर्न व्यवसायीलाई जानकारी गराउँछौँ ।’

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी सूचनामा आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योग–निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायसमेतलाई यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ ।

साथै, प्रचलित कानुन बमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगले योसँग सम्बन्धित कागजात प्रशासनमा पेश गरी नियमानुसार सञ्चालन हुनसक्ने व्यहोरा उल्लेख गर्दै अटेर गरे कानुनबमोजिम कडा सजाय हुने हुँदा सबैलाई लागि प्रशासनले अनुरोध गरेको छ ।