हिमवत्खण्ड नेपाल : सभ्यता र संस्कृतिको उद्गम देवभूमि

हिमवत्खण्ड नेपाल : सभ्यता र संस्कृतिको उद्गम देवभूमि


– दीर्घराज प्रसाई

गोर्खाका राजा पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वमा हिमवत्खण्डका हिन्दुराज्यहरूलाई एकीकरण गरेर त्योबेलादेखि टिष्टादेखि-काँगडासम्मको विशाल नेपाल संसारको एकमात्र हिन्दु अधिराज्य हुन पुगेको हो । नेपाल एकीकरणको बेलादेखि नै एकतात्मक राज्यको बनोटको कारणले यसक्षेत्रका अनेकौँ जातजातिहरूको संयुक्तरूपमा स्फूर्त सहभागिताबाट बलियो सार्वभौम राष्ट्र बनेको हो । हिमवत्खण्ड नेपाल विदेशी आक्रमणबाट कहिल्यै पनि बिटुलो भएन ।

हिमवत्खण्ड नेपालको विषयलाई लिएर वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा उल्लेख गरेकाछन्- ‘भारतखण्डे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि ।’ कालीदासले पनि कुमार सम्भवको पहिलो श्लोकमा ‘हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्म नै यो आर्यभूमि हो’ भनेका छन् । हिमवत्खण्ड नेपालमा वेद, उपनिषद्, पुराणहरू तथा अनेकौँ नीतिशास्त्रको जन्म भएको र यसक्षेत्रलाई यहाँका हिमाल र नदीहरूले जसरी सिञ्चित भएको छ त्यसरी नै अनेकौँ तेजस्वी श्रृषिमुनिहरूका तपबाट ज्ञानका अजस्रधारा बग्न पुगेका छन् ।

सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), गोर्खामा वेदव्यास, तत्वज्ञानी दार्शनिक राजा जनकको राज्य जनकपुरमा याज्ञवल्क्य, गार्गी मैत्रेयी, गण्डकमा बाल्मिकि ऋषि, बाग्मती किनारमा ‘ने’मुनि नामका ऋषि र ऋग्वेदमा किरातीहरूका ऋषि आकुनीले ख्याती कमाएको उल्लेख छ । वेद, श्रुति, स्मृति तथा योगको ज्ञानले यसक्षेत्रलाई सिञ्चित गर्न सकेकाले विश्वमा हिमवत्खण्ड नेपाललाई मानव सभ्यताको उद्गम र विश्वसभ्यताको जेष्ठभूमि मानिएको छ । यही भूमिमा गौतमबुद्धको जन्म भएर विश्वभर बुद्धको प्रकाश छरिएको छ । भनिएको छ- ‘वोधिसत्य महासत्यः, स्वयम्भू चैत्य नमाम्यहं ।’

पहिले नेपाल अहिलेको भन्दा ठूलो थियो । हिमवत्खण्ड नेपाल विभिन्न टुक्रामा विभाजित हुँदैआएको अवस्थामा चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा- ‘कामरुप (आसाम) र कर्कपुर (कुमाऊँ र गडवाल क्षेत्र सबै)को बीचको देशलाई ‘नेपाल’ भनी लेखिएको छ । यसक्षेत्रको संरक्षणको प्रेरणास्रोत पृथ्वीनारायण शाह हुन पुगे । हिमवत्खण्डकोे यो विशाल यज्ञभूमि, तपोभूमिमा कैयौँ ऋषि-महर्षिहरूले ज्ञानको मुहान खोलेका थिए । वेद रचेर, उपनिषद् बनाएर, धर्मशास्त्र, नीतिशास्त्र, राज्यशासनका विधिविधानहरू बनाएर युगयुगसम्म सङ्गठित गराउन प्रयत्न गरेका थिए ।

समय-परिस्थितिले हिमवत्खण्डका स-साना राज्यहरूमा विखण्डित भएर आ-आफ्नो अस्तित्वको सुरक्षा गर्न नसक्ने अवस्थामा यहाँका राज्यहरू पुगेका थिए । यस्तो स्थितिमा स-साना टुक्रामा विभाजित हिमवत्खण्डका राज्यहरूलाई एकताको सुत्रमा आवद्ध गराउनु, यी राज्यहरूको संरक्षण गर्न सूर्य र चन्द्रमाको झण्डा लिएर हिमवत्खण्डका स-साना राज्यहरूको एकीकरणको लागि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट जुन प्रयत्न भयो त्यस समयको त्यो महान् सफलता थियो । तर पछि फिरंगीहरूको औपनिवेशिक षडयन्त्रका कारणहरूले पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्मको विशाल भूभागको संरक्षण गर्न नसकिएकाले र यस भु-खण्डभित्रैका कुचक्रीहरूको कारणले मेची र महाकालीको बीचमा सहेर नै बस्नुपर्ने स्थिति छ ।

हिमाल, पहाडको तुलनामा नेपाल अधिराज्यभरमा तराई सुविधायुक्त, सुगम तथा उर्बराभूमि हो । राज्यले र, पछि श्री ५ महेन्द्रको नेतृत्वमा ती भुभागका आवश्यकताअनुसार बाटोघाटो, स्वास्थ्य, सिँचाइ, शिक्षाको राम्रो व्यवस्था गरेको छ । तराईका जनतालाई कहिल्यै पनि राज्यले पक्षपात गरेन÷गरेको छैन ।

तराईका बासिन्दाहरू- झा, यादव, कुर्मी, राजवंशी, थारु, धिमाल, कुमाल, ताजपुरिया, मुसलमान, मैथिली अवधीहरूले आफूलाई मधेसी भन्दैनन् । मैथिला प्रदेश, विराटप्रदेशका, आदिवासी, सेनवंशी, अवधी आदिवासी जनता यी कुनै मधेसी होइनन् । चार जात छत्तिस वर्णको यो फूलबारीमा फक्रने तथा फूल्ने अवसर दिलाउने कुरामा राज्यले नीति निर्माण गर्नु पर्दछ ।

हिमवत्खण्डको यो क्षेत्र विदेशी आक्रमणबाट कहिल्यै पनि बिटुलो भएन । नेपालको एकीकरणको बेलादेखि नै एकतात्मक राज्यको बनोटको कारणले, यसक्षेत्रका अनेकौँ जातजातिहरूको संयुक्तरूपमा स्फूर्त सहभागिताबाट एक बलियो सार्वभौम राष्ट्र बनेको छ । एकात्मक राज्य नेपालको मौलिकता हो ।

विक्रम संवत् २०७२ असोज ३ गते विदेशीहरूको दबाबमा धर्मनिरपेक्ष, गणतन्त्र, सङ्घीयतालाई स्थापित गर्नको लागि संविधान घोषणा भएता पनि घोषित संविधानको समर्थन पनि गर्न सकिँदैन र लागु पनि हुन सक्तैन ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक भत्काउने, संस्कृत विश्वविद्यालय जलाउने, गाई काटेर खाने, नेपालको अस्मिता, पहिचान र राष्ट्रिय एकताका आधारस्तम्भ भत्काउनेहरूले योजनावद्धरूपमा विश्वको एकमात्र हिन्दु अधिराज्य, नेपालको सार्वभौमसत्ताको मेरूदण्डको रूपमा स्थापित राजसंस्था विस्थापित गरेर जबर्जस्त धर्मनिरपेक्ष, गणतन्त्र र सङ्घीयतालाई संविधानमा घोषणा गरे । अहिले त नेपालकै पार्टीहरू र पार्टीका नेताहरूलाई आफ्नो प्रभावमा लिएर नेपाललाई तनाव सिर्जना गराइएको छ ।

देशलाई यसरी यो विकराल अवस्थामा ल्याउनमा लेण्डुपकै रूपमा काम गर्ने काङ्ग्रेसका गिरिजाप्रसाद कोइराला थिए । गिरिजा र माधव नेपाल भारतीय गुप्तचरको पञ्जामा फसेपछि कृष्ण सिटौला, बाबुराम भट्टराई यी दुवै ‘रअ’का बफादार सेवक भएकाले यिनीहरूले जे-जे भन्छन् त्यही-त्यही लागु भयो । यिनीहरू सँगसँगै मिलेर सक्रिय भए । यी दुई एक भएपछि सुबास नेम्वाड पनि राष्ट्रघातमा सम्मिलित भए । यिनीहरू धर्मनिरपेक्ष, गणतन्त्र कायम गर्न २०६३ सालपछि नै लागेका थिए ।

हिमवत्खण्ड-नेपाल सभ्यताको केन्द्रस्थल र पवित्रभूमि भएकाले यसलाई समाप्त गरेर मात्र यो क्षेत्रमा इसाईहरूको बाटो खुल्ने भएकाले यहाँका पदलोपलुप, देशबेचुवा दलालहरूलाई नै प्रयोग गरेर नेपालको अस्मिता समाप्त गर्न सफलता प्राप्त हुने भएकाले विदेशीहरूले पैसा खुवाएर उचालिरहेका छन् । माओवादी, काङ्ग्रेस, एमालेका नेतृत्व तहमा रहेका मूख्य-मूख्य नेताहरू विदेशीको पैसा नखाने कमै होलान् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक भत्काउने, संस्कृत विश्वविद्यालय जलाउने, गाई काटेर खाने, नेपालको अस्मिता, पहिचान र राष्ट्रिय एकताका आधार स्तम्भ भत्काउनेहरूले योजनावद्धरूपमा विश्वको एकमात्र हिन्दु अधिराज्य, नेपालको सार्वभौमसत्ताको मेरूदण्डको रूपमा स्थापित राजसंस्था विस्थापित गरेर जबर्जस्त धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई संविधानमा घोषणा गरे । अब यी २०६३ सालपछिका देशद्रोहीहरूलाई जेलमा राखेर कारवाही गरी यिनीहरूले लुटेको स्रोत-सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ ।

अतः अब नेपाललाई बचाउनका लागि अपरिहार्य आवश्यकता भनेको नेपालको प्रजातान्त्रिक व्यवस्था र राजसंस्थासहितको हिन्दु अधिराज्यको सुदृढीकरण गर्दै अगाडि बढ्नु हो । यसको लागि राष्ट्र टुक्र्याउन खोज्नेहरूका विरुद्ध सबै पार्टीभित्र र बाहिरका देशभक्तहरू, राष्ट्रिय सेना, राज्यका प्रमुख अङ्गहरूको संयुक्त प्रयासमा सशक्त भएर यो सभ्यता र संस्कृतिको उद्गम देवभूमि बचाऔँ ।