मधेश प्रदेशमा महिलाहिंसाको विभत्सरूप कायमै

मधेश प्रदेशमा महिलाहिंसाको विभत्सरूप कायमै


  • रामभरत साह, जनकपुरधाम

नेपालमा दिन-प्रतिदिन महिलाहरू कहीँ न कहीँ हिंसाको शिकार भएका घटना सार्वजानिक हुँदै आएका छन् । महिलाहिंसाको भयावह स्थिति तीनै तहको सरकार, प्रहरी र प्रशासनका निमित्त फलामेच्यूरा सावित भएको छ । यसमा घरेलु हिंसादेखि बोक्सीको नाउँमा आफ्नै सन्तानबाट समेत वृद्ध आमामाथि अमानविय व्यवहार, कुटपिट गर्ने, मलमुत्र खुवाउने र घर निकाला गर्ने जस्ता घटना समान्य बन्दै गएको छ । पर्व, तिहार, हाटबजार, मेला जस्ता अवसरमा सामुहिक बलात्कारका घटना पनि समान्य बन्दै गएका छन् । प्रहरी, प्रशासन, राजनीतिकर्मी र समाजका अगुवा भनाउँदाहरू तथा सत्ताको दम्भमा समेत यस्ता घटना घटित भएको ढाकछोप र मिलापत्र जस्ता घटना पनि नयाँ नरहनु अपराधी र बलात्कारीलाई संरक्षण प्राप्त हुनुका कारण नै दिनानुदिन महिलाहिंसामा बढोत्तरी आउनुको मुख्य कारण रहेको देखिन्छ ।

नेपालका सातवटै प्रदेशको महिला हिंसासम्बन्धी तुलनात्मक तथ्याङ्क हेर्दा मधेश प्रदेश अग्रणी स्थानमा रहेको छ । आ.ब. ०७६/७७ देखि आ.ब. ०७७/०७८ सम्ममा महिला हिंसासम्बन्धी चार हजारभन्दा धेरै उजुरी प्रहरीमा दर्ता भएको छ, जसमा बोक्सी आरोपमा १२८, छुवाछुतसम्बन्धी ९१, बलात्कारका प्रयासमा २ हजार २ सय, बहुविवाह सम्बन्धमा २ हजार ४ सय ३७, बालविवाहसम्बन्धी २ सय ९, गैरकानूनी गर्भपतनमा ७४ मुद्दा दर्ता भएको छ भने घरेलु हिंसामा ३८ हजार ७ सय ३७ वटा उजुरी दर्ता भएको छ । यसमा बलात्कार र बालयौन दुराचारसम्बन्धी तथ्याङ्क सामेल गरिएको छैन ।

पुरुषबाट महिला पीडित हुनु सामान्य रहेको छ भने वर्ष २०७९ मा महिलाबाट पुरुष पीडित भएको घटना जनकपुरधाम उपमहानगरपालिका ८ बजरंग चोकको रामआधार चौधरी प्रत्यक्ष उदाहरणको रूपमा रहेका छन् । छोराको मृत्युपश्चात एकल महिला बनेकी बुहारी र नातिनीले वर्षाैंदेखि यातना दिँदै आएको तर सार्वजनिक नभएको भएता पनि हालसालै बुहारी र नातिनी मिलेर घरबाहिर ल्याइ जुत्ता-चप्पलले हिर्काउँदै घर निकाला गरेको दृश्य स्थानीयले भिडियो बनाइ सामाजिक सञ्जालमा राख्दा पुरुष पनि महिलाद्वारा घरेलुहिंसाको शिकार तथा पीडित रहेको घटना यतिबेला चर्चाको विषय रहेको छ । बुहारीले ‘सबै सम्पति मेरो नाउँमा गरी तँ घरबाट बाहिर जा’ भनी यातना दिँदैआएको खुलासा गर्दै ९० वर्षिय वृद्ध रामआधार आफ्नो वेदन सुनाउँछन् । त्यस्तै, विधि महोत्तरीका दुई घटना– कुमारी आमा आफ्नो सन्तानका बुवाको पहिचानको लागि वर्षाैंदेखि सङ्र्घषरत रहेकै अवस्थामा सोही जिल्ला रामगोपालपुर नगरपालिकानिवासी एक चिकित्सकले आफ्नो श्रीमतीसँग थप दाइजो माग गरी घरनिकाला गरेको चर्चित प्रसङ्ग सर्वविदित नै छ ।

घरेलु हिंसा, बलात्कार जस्ता घटनाका कारण आत्महत्यामा वृद्धि भएको पनि देखिएको छ । बलात्कारको घटनामा २० वर्ष मुनिका यूवतीका संख्या बढी रहेको तथ्याँकले देखाएको छ । तथ्याँक अनुसार मुलुकभरका घरेलु हिंसा जन्य अपराध मध्ये ९५ प्रतिशत भन्दा बढी पुरुष पीडककारुपमा संलग्न रहेको देखिएको छ ।

यस्ता प्रवृत्तिलाई अन्त्य गर्न स्थानीय, प्रदेश वा संघीय सरकारको ध्यान पुगेको देखिँदैन बरु बढावा दिएको, संरक्षण र पार्टीहितका कारण पीडक अझै उद्दण्ड बन्दै गएको देखिन्छ भने यस्ता घटनाले निरन्तरता पाएको छ । प्रहरीको तथ्याङ्कअनुसार दैनिक सात जना महिला बलात्कारको शिकार भइरहेका छन् । अशिक्षा, गरिबी र पछ्यौटेपनका कारण हुर्केको सामाजिक अपराधिक मनोवृत्तिले गर्दा पनि पीडकको मनोबल बढाएको मनोविश्लेषकहरूको तर्क छ । आर्थिक लेनदेनमा स्थानीय स्तरमै घटनालाई ढाकछोप गर्नु, मिलापत्र गर्नु जस्ता गैरकानूनी तवरबाट मिलापत्र गर्नुले पनि घरेलु हिंसालाई मलजल गरिरहेको छ ।

यसरी, हिंसाजन्य कुसंस्कार मधेश प्रदेशमा डरलाग्दो अवस्थामा छ । यस प्रदेशमा विगतका तीन आ.ब.मा बलात्कार, बाल यौन, हिंसा र महिला तथा बालबालिकासम्बन्धी ५० हजार ५ सय ५१ अपराधिक घटना घटेको प्रहरी तथ्याङ्कले देखाएको छ । प्रतिशतको हिसाबले हेर्दा २६.१३ प्रतिशत रहेको छ मधेश प्रदेशमा घरेलु हिंसा, दाइजोसम्बन्धी कुप्रथा, बहुविवाह, बालविवाह, अनमेल विवाह, छुवाछुत र बोक्सीलगायतका १३ हजार २ सय १५ घटना घटेको छ । महिला हिंसाविरुद्ध जनचेतना कक्षा १ देखि नै दाइजो प्रथा, बालयौन हिंसाविरुद्ध, महिला हिंसा तथा यौनजन्य शिक्षा पठनपाठनमै सामेल गर्नुपर्ने देखिन्छ । महिलाहरूका निमित्त महिला सशक्तिकरण अभियान, स्वावलम्बन आत्मनिर्भर र आर्थिकरूपमा सम्पन्नतासम्बन्धी अभियान तीनै स्तरको सरकारबाट चलाउनुपर्ने देखिन्छ ।