विशेष भर्चुअल शिखर सम्मेलन गर्दै छिमेकी भारत

विशेष भर्चुअल शिखर सम्मेलन गर्दै छिमेकी भारत


नवीन एवम् विशिष्ट पहलका साथ मित्रराष्ट्र भारतले यही पौष २८ र २९ गते एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गरेको छ । ‘युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज’ शीर्षकमा हुन लागेको ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ले ग्लोबल साउथका राष्ट्रहरूलाई साझा मञ्च प्रदान गरी उनीहरूका विचार तथा प्राथमिकता एकअर्कासँग आदानप्रदान गर्न उनीहरूलाई एकै ठाउँमा ल्याउने परिकल्पना गरेको भारतको विदेश मन्त्रालयलाई उद्धृत गर्दै नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । यस शिखर सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी राष्ट्रलाई आमन्त्रित गरिएको बताइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा अघिसारिएको ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ परिकल्पनाबाट यो कार्यक्रम प्रेरित र ‘वसुधैव कुटुम्बकम’ दर्शनमा आधारित रहेको दूतावासको भनाइ छ ।

बताइएअनुसार भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरूबाट आएका अमूल्य सुझावहरूलाई विश्वव्यापी रूपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले काम गर्नेछ ।

यसबाहेक जी-२० को अध्यक्षता सम्हालेको भारतले जी-२० प्रक्रियामा आवद्ध नभएका राष्ट्रहरूलाई जी-२० मार्फत उनीहरूका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गर्नेछ । यो जी-२० का सदस्यहरूसँग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रका आवाजलाई पनि उत्तिकै महत्व दिँदै भारतको जी-२० अध्यक्षतालाई पूर्णता दिने प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइअनुरुप रहेको बताइएको छ ।