डडेल्धुरामा खेलमैदान नहुँदा पलायन हुँदै खेलाडी

डडेल्धुरामा खेलमैदान नहुँदा पलायन हुँदै खेलाडी


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा खेलमैदान नहुँदा यहाँका खेलाडीहरू समस्यामा परेका छन् । जिल्ला सदरमुकाममा एउटा पनि व्यवस्थित खेल मैदान छैन, खेलमैदान नहुँदा प्रतिभावान् खेलाडी पलायन भइरहेका छन् ।

आफ्नै दुई रोपनी जमिनमा २०४० सालमा निर्माण शुरु गरिएको टीटी कभर्ड हलको निर्माण कार्य २०४२ सालमा सम्पन्न भएको थियो । पछि उक्त कभर्ड हल जीर्ण अवस्थामा रहेको र २०७५ असार ३० गते वर्षातका कारण भत्केको थियो । कभर्ड हल भत्किएको चार वर्ष बितिसक्दा पनि पुनर्निर्माण नहुँदा इनडोर खेलहरू पनि प्रभावित भएका छन् । मैदान अभावमा खेलकुद गतिविधि प्रायः शुन्य हुने गरेको छ ।

डडेल्धुरामा खेलका महत्वपूर्ण अभ्यास र प्रतिस्पर्धाहरू गराउन उग्रतारा रंगशाला र भजनेउटा क्रिकेट मैदान निर्माण गर्ने ३५ करोडको बहुउद्देश्यीय डिपिआर मात्र अलपत्र परेको नभइ डडेल्धुराको खेल नै मुलुकको राजनीतिक अस्थिरताको सिकार भएको जिल्ला खेलकुद समितिका अध्यक्ष डम्बरबहादुर थापाले बताए । प्रस्तावित उग्रतारा रंगशाला र भजनेउटा क्रिकेट मैदान निर्माण गर्ने क्रममा आवश्यक जग्गा लिने, फिल्ड निर्माण गर्ने र कभर्ड हलको लागि ८ पिल्लरसहित पर्खाल निर्माण र तारजाली लगाउने कामहरू पनि भए तर योजनाको निरन्तरता नहुँदा त्यसको प्रत्यक्ष असर अहिले देखिरहेको अध्यक्ष थापाले बताए ।

जिल्ला खेलकुद विकास समिति डडेल्धुराको कार्यालयसमेत रहेको कभर्ड हल पनि वर्षाले भत्किएपछि एक पटकको पचास लाख बजेट फ्रिज भयो र पुनः सेमी कभर्ड हल बनाउन २ करोड १२ लाखमा टेण्डर खोलिसकेकोले अब कभर्ड हल बन्नेमा हामी विश्वस्त छौँ तैपनि बाहिरी खेल खेलाउन पर्याप्त ठाउँ भएको खेलमैदान हामीसँग छैन अध्यक्ष थापा बताउँछन् ।

अघिल्लो समितिले डिपिआर तयार पारी राष्ट्रिय खेलकुद परिषद् र शिक्षा तथा खेलकुद मन्त्रालयमा समेत पेश गरेको तर सङ्घीय सरकार परिवर्तनको घटना र श्रंङ्खलाले गर्दा उक्त योजनाहरू पेण्डिङ रहेको हुन सक्ने जिल्ला खेलकुद समितिका पूर्वअध्यक्ष राजु थापामगरले बताए ।

डडेल्धुराको खेल जगतमा यहाँको राजनीतिक वृत्तले पटक्कै ध्यान नदिएको स्थानीयको भनाइ छ, स्थानीय भन्छन् खासगरी सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहहरू क्रियाशील भएपछि नेताहरू आफ्नो पालिकातर्फ मात्र केन्द्रीत भए जिल्ला सदरमुकामलाई उपेक्षा र बेवास्ता गरे । जिल्ला सदरमुकाममा आवश्यक पूर्वाधार भए जिल्लाकै इज्जत बढथ्यो होला, यहाँँ राष्ट्रिय प्रादेशिक कार्यक्रमहरू हुन पाए डडेल्धुराकै स्थानीय लाभान्वित हुने थिए तर यस विषयमा स्थानिय तहका नेतृत्वहरूले ध्यान नदिएको स्थानिय समाजसेवी गणेश कठायत गुनासो छ ।

जिल्लामा खेल मैदानसँगै खेल सामग्रीसहित पर्याप्त बजेट नहुँदा खेलाडीको अभ्यास, खेलाडी उत्पादन र प्रोत्साहन गर्ने सबै गतिविधिहरू ठप्पप्रायः रहेको भएपनि खेलमा रुचि भएका विद्यार्थी समुहका खेलाडीले जेनतेन जोहो गर्दै आएको खेलाडी बताउँछन् । गर्मी मौसममा पनि ठूला खेल आयोजनाको सम्भावना रहेको डडेल्धुरामा खेलाडीका लागि एउटा पनि खेल मैदान र आवश्यक पूर्वाधार छैन । यसले खेलाडीहरू नियमित अभ्यासबाट बञ्चित हुनुका साथै उनीहरू पलायन हुने क्रम बढेको अनुभव जिल्ला भलिवल सङ्घका अध्यक्ष राजेन्द्र ठगुन्ना बताउँछन् ।

डडेल्धुराका सात स्थानीय तहमध्ये अजयमेरु, नवदुर्गा गाउँपालिका र पर्शुराम नगरपालिकाले स्तरीय खेल मैदान निर्माण गरेका छन् भने आलिताल गाउँपालिकाले सुनखोलाको बगरमा प्रस्ताव गरिएको खेलमैदान बाढीले बगाइसकेको छ, भागेश्वर गाउँपालिकामा खेल मैदान नै छैन भने गन्यापधुरा गाउँपालिकामा पनि नयाँ निर्माण भएको छैन ।

सदरमुकाममै रहेको अमरगढी नगरपालिकासँग स्थानीय तहको स्वामित्वमा पनि कुनै खेलमैदान नभएपछि अघिल्लो नगर वीरपत्ता जंगलमा निर्माण गर्न खोजिएको क्रिकेट खेल मैदान पनि विवादमा पर्दा यथास्थितिमा नै रहेको छ । जिल्ला सदरमुकामका विभिन्न विधाका खेलप्रेमीहरू खेलकुद कार्यक्रम तथा क्रियाकलापबाट वञ्चित भएका छन्, ब्याटमिन्टन खेल्नेहरू कहिले सरकारी कार्यालय प्राङ्गण तथा परिसरमा त कहिले होटल रिसोर्टमा जान बाध्य भएको जिल्ला ब्याटमिन्टनका अध्यक्ष सिद्धराज पाठक बताउँछन् ।

खेलकुद शैक्षिक गतिविधिको अभिन्न अङ्ग पनि हो, हरेक विद्यालयमा उपलब्ध जग्गाको सदुपयोग गर्दै साधारण खालका खेलकुद मैदानहरू निर्माण गरी नियमित क्रियाकलापहरू गर्ने गरेको भए पनि जिल्लास्तरीय खेल कार्यक्रम गर्न आवश्यक ठाउँको अभाव भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारी बताउँछन् ।

सुदूरपश्चिमका पहाडी कुनै पनि जिल्लामा क्रिकेटका लागि उपयुक्त मैदान छैन । क्रिकेट खेललाई अरुभन्दा महँगो पनि मानिएको छ । क्रिकेट मात्र नभइ अरु खेलका लागि पनि खेल मैदान नहुँदा खेलकुद प्रतियोगिता पनि हुन नसक्दा खेलाडीहरू उत्पादन हुन नसकेको नेपाल क्रिकेट सङ्घ नेसनल छनौट समिति सदस्य वाशुदेव जोशीले बताए । खेलकुदका कारणले पनि आफ्नो देशलाई विश्वसामु चिनाउन सकिन्छ । हामीले पनि राम्रा खेलाडी तयार गर्न सक्छौँ । डडेल्धुराबाट मात्रै अहिलेसम्म ३० जना पुरुष खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन् । पाँच जना खेलाडीले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन् । मैदान अभावमा खेलकुद प्रतियोगिता नहुँदा खेलाडी उत्पादन हुन नसकेको उनले बताए । मैदान भए प्रत्येक वर्ष ४–५ जना खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाउने थिए होलान् । मैदान छैन, जसका कारण समस्या भएको उनको दुःखेसो छ । यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले ध्यान दिनु जरुरी रहेको उनले बताए ।

डडेल्धुरा जिल्ला सदरमुकाममा खेल मैदान निर्माण गर्न सकिए यस क्षेत्रका खेलाडीलाई निकै राहत हुने र विभिन्न समयमा खेलकुदको आयोजना गरी यहाँको ब्यापार ब्यवसायमा समेत टेवा पुग्ने स्थानीय बताउँछन् ।