आविष्कार केन्द्रको सहयोगका लागि जापानमा राजेश पायल

आविष्कार केन्द्रको सहयोगका लागि जापानमा राजेश पायल


राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ जापानमा हुने कार्यक्रममा गायक राजेश पायल राईले आफ्नो प्रस्तुति दिँदैछन् । हाल उनी जापानमै छन् । राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ नेपाल आदिवासी जनजाति महासंघ जापानले आयोजना गरेको नेफिन जापान सांस्कृतिक साँझ २०२३ को लागि गायक राईसहितले प्रस्तुति दिइसकेका र केही कार्यक्रममा अझै प्रस्तुति दिने कार्यक्रम छ ।

गायक राईसहितको टोलीले जापानको फुकुओकामा जनवरी ७ तारिख, नागोयामा जनवरी ८ तारिखमा कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने चिबामा जनवरी १४ तारिख, टोकियोमा जनवरी १५ तारिख र ओकिनावामा जनवरी १८ तारिखमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ ।

नेपाल आदिवासी जनजाति महासंघ जापानको अध्यक्ष सञ्जिव राई, एनआरएन जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउककरे, नेफिन जापानका महासचिव शिशिर लिम्बू, नेफिन जापानको सल्लाहकार हवलचन्द्र लामा, थकाली सेवा समितिको अध्यक्ष बुद्धि गौचन, तमु धी जापानका अध्यक्ष रमेश गुरुङ, किरात याक्थुङ चुम्लुङ जापानको अध्यक्ष सुदिप पालुङवा लिम्बू, शेपा संघ जापानका महासचिव पासाङ शेर्पा, नेपाल मगर संघ, जापानको सहकोषाध्यक्ष सविनबाबु मगरलगायत विभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरू, सामाजिक अभियान्ताहरू नारिता अन्तराष्ट्रिय विमान स्थलमा गायक राईसहित द भ्वाइस सिजन ४ को फस्टरनर गायिका सविना योङहाङ लिम्बू र द भ्वाइस किड्स टप फाइनलिस्ट गायिका समृद्धि परियारलाई स्वागत गर्न पुगेका थिए ।

सांगीतिक कार्यक्रमबाट हुने मुनाफा रकम महावीर पुनले नेपालमा स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई सहयोग गरिने आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जापान अध्यक्ष सञ्जिव राईले जानकारी दिए ।