मेरो मन्दिर र देवता

मेरो मन्दिर र देवता


डिल्ली अम्माई

भकुण्डेबाट हेर्दा दुरबिन नचाहिने
गाजाबाट हेर्दा नानीभित्र
हिरा झैँ टल्कने
आकास–पातालमा गुञ्जने
वेदका ऋचाबाट उत्पन्न
ऋषिहरूको होमस्थल
महादेवीको वेदिका
त्यो भगवानको आशीर्वाद
माता सरस्वतीको आश्रय स्थल
मेरो अक्षरको प्रस्थान बिन्दु
सुन्तालाचौरको मेरो मन्दिर
अनि देवता जस्तै गुरुजन ।

अहिले सम्झदा कहाली लाग्छ
आकाश नखुल्दै हुर्केको
आकाश भन्नाले आँखा
मेरो रक्तकण नबन्दै
महाज्योतिले उज्यालिँदै
वायुमा श्रवणकुमार
वेदब्यास र भृगु ऋषिका
महामन्त्र जगाउने मेरो मन्दिर
त्यो सुन्तालाचौर विद्यापिठ !

आगो एक ठाउँमा बस्दैन भन्छन्
हावा र ज्ञान कैदीझैँ गुम्सिएर
कहिल्यै निरास ढुसीले पग्लिँदैन भन्छन्
म यहाँ छु एक झिल्का
समुन्द्रपारि अनेकौँ झिल्का
देशका हरेक सन्नाटाभित्र
चट्याङबाट निस्केका उज्याला
वेदीबाट निस्किएका मन्त्रहरू जस्तै
विश्वभरि छरिदिएको छ आज,
गुरुहरूका आवाजका तरङ्गलाई
हिमाली हावाले फैलाउँदै
पवित्र आकास भरिदिएको छ आज ।
पाखा-पखेरा यो धर्तीका
पौरख र पसिनाको तेलमा
ज्ञानकणलाई प्रकाशित गरिदिएको छ आज ।

यो मेरो गुरुकुल सुन्तालाचौर
जहाँ गुरु परमानन्दको कर बाहुलीबाट
परमात्माका भक्तहरूको पवित्र ध्वनिबाट ज्ञान–यज्ञ
गुरुहरूको सत्यम् शिवम् सुन्दरम्
ज्ञान महातीर्थका तीर्थालुहरूको
विशाल योग्यताको तिर्खा
‘अयं बंधुरयं नेति गणना लघुचेतसाम्
उदारचरितानां तु वसुधैव कुटुंवकम् !’

मेरो ओमकार
मेरो सरस्वती मन्त्र
‘शारदा शारदाम्भोजवदना वदनाम्बुजे,
सर्वदा सर्वदास्माकं सन्निधिं सन्निधिं क्रियात् ।।
सरस्वतीं च तां नौमि वागधिष्ठातृदेवताम्,
देवत्वं प्रतिपद्यन्ते यदनुग्रहतो जनाः ।।
मेरो सुन्तालाचौर
माताको बास रहेको
मेरो विद्यापिठप्रति आभार तथा
‘विद्यारूपे पिध्यापिठ नमोऽस्तुते ।।’