यसकारण पौडेल : काङ्ग्रेसले गर्ला त न्याय ?

यसकारण पौडेल : काङ्ग्रेसले गर्ला त न्याय ?


पटक-पटक सत्तामा पुग्नुभएका पौडेल सदाचारको परीक्षमा अब्बल प्रमाणित भइसक्नु भएको छ । विभिन्न कोणबाट उहाँको आलोचना र प्रशंसा गर्नेहरू भेटिन्छन् तर कसैले पनि पौडेललाई आर्थिक सदाचारमा औंला उठाउने आँट गरेका छैनन् । कसैले गरेछन् भने पनि त्यो उनीहरूको व्यक्तिगत रोदन, कुण्ठा, आक्रोश र हतोत्साहनको लक्षण भनेर आमनेपालीले बुझ्ने छन् ।

त्रिभुवनचन्द्र वाग्ले

नेपाली काङ्ग्रेसकै कारण गठबन्धन धमिलिएको हो, टुटेको हो । नयाँ समीकरण बन्यो जो स्वाभाविक थियो । पूर्वगठबन्धनको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र्र र नेकपा एकीकृत समाजवादीले विशेष अवस्थामा विशेष प्रतिरोध गरेर तत्कालीन प्रतीपक्षी काङ्ग्रेसलाई प्रधानमन्त्री दिएका थिए । आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढल्ने र काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने हर्षमा लड्डु बाँडिएकै थियो । यत्रो विद्रोह गरेको शक्तिको स्वाभाविक आकाङ्क्षा, महत्वकाङ्क्षा र पार्टी बचाउनुपर्ने बाध्यता नबुझेर काङ्ग्रेसको एक वृत्तले माओवादी अध्यक्ष प्रचण्डलाई पहिलो खेपको प्रधानमन्त्री बनाउन चाहेन । अवस्था स्पष्ट थियो, तत्कालीन गठबन्धनले नबनाए वैकल्पिक गठबन्धनले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै थियो । यो सामान्य अवस्थालाई पनि काङ्ग्रेसको निर्णायक वृत्तले आँकलन गर्न सकेन । परिणामस्वरूप आएका सारा अवसर गुमाएको छ काङ्ग्रेसले । सातमध्ये पाँच वा ६ प्रदेशको नेतृत्व काङ्ग्रेसले पाउने अवस्था थियो । प्रदेश प्रमुखदेखि सङ्घीय संसदका सबै पदमा गठबन्धन र काङ्ग्रेसको वर्चश्व रहने थियो ।

प्रचण्डले गठबन्धन छाड्नु भएको होइन । छोड्न बाध्य पारिएको हो, त्यो पनि काङ्ग्रेसको घरेलु वृत्तद्वारा । वर्तमान अवस्था आउनुमा प्रचण्ड, माधवकुमार नेपाल, पूर्वगठबन्धनका सबै शीर्षस्थ नेताको कुनै दोष देखिँदैन । जे हुन्थ्यो राजनीतिमा त्यही भएको छ । प्रचण्ड र नेपालद्वारा काङ्ग्रेससँग आत्मसमर्पण गरिने थिएन । गर्नेभए उहाँहरू आफ्नै पार्टीमा आत्मसमर्पण गरेर बस्नुहुने थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग विद्रोह गर्नेले काङ्ग्रेसका नेतालाई धुप लिएर परिक्रमा गर्ने छैनन् भन्ने भने नबुझन्लाई काङ्ग्रेसभित्रका केही पात्रको ‘सत्ता-बेहोस’ भन्नुपर्छ ।

अब समय धेरै अघिबढेको छ । प्रचण्ड, नेपाल र पूर्वप्रधानमन्त्री तथा वर्तमान डिजाइन मेकर केपी शर्मा ओली पनि काङ्ग्रेसप्रति उदार हुनुपर्छ । काङ्ग्रेस कसैप्रति अनुदार छैन, हुन सक्दैन । काङ्ग्रेसका केही व्यक्ति नै संस्थागत काङ्ग्रेस होइन भनेर उहाँहरू स्पष्ट हुनुपर्छ । यसर्थ नेपाली काङ्ग्रेसलाई अति भित्ता लगाउन काम कसैले पनि गर्नुहुँदैन । सत्ताशून्य काङ्ग्रेसको निष्कृय भूमिकामा सङ्घीय र गणतान्त्रिक देश नचोसेको हिसाबले प्रताडित हुनसक्छ ।

काङ्ग्रेसले पात्र केन्द्रित सौदाबाजी गर्दा यो अवस्था आएको हो । यो नभए त्यो, यो पदमा नभए त्यो पदमा भनेर राजनीतिक ‘गिभ एण्ड टेक’को कौशल देखाएको भए काङ्ग्रेस इतिहासमै यति साह्रो भित्ता गाल्ने थिएन । बितेको समय, बहेको पानी अब यसमा समीक्षा हुन सक्छ । राजनीति यहीँ अड्किने छैन । अझै पनि आगामी राजनीति र सहकार्यको सम्भावना छन् । काङ्ग्रेसले विगतको गल्ती सुधार गर्न सक्छ । राष्ट्रपतिदेखि सङ्घीय/प्रदेश संसद्का विभिन्न पद बाँडफाँड हुँदैगर्दा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको चर्चामा छ । नयाँ गठबन्धको अङ्क गणितले यो सम्भाव्य देखिँदैन तर यसकारण पौडेल नै हालका उपयुक्त पात्र हुनुहुन्छ ।

समन्वयकारी पौडेल

पौडेलले गठबन्धनलाई उच्च महत्व दिएर दीर्घकालीन बनाउन ठूलो भूमिका निर्वाह गर्नुभयो गठबन्धन गरेर शान्ति प्रक्रियाका थाती बाम सम्पन्न गर्नुपर्छ भन्नुभयो । यति मात्र होइन उहाँले द्वन्द्वरत माओवादी र तत्कालीन सरकारबीचको शान्ति प्रक्रियालाई निष्कर्षमा पुऱ्याउन गर्नुभएको भूमिकाकै कारण शान्ति प्रक्रियाका अर्को पक्ष प्रचण्डले भन्नुभयो- ‘तपाईंलाई राष्ट्रपति बनाएर म प्रधानमन्त्री बन्नु मेरा लागि गर्व नै हुनेछ ।’ प्रचण्डलाई यसकारण आजसम्मको मितिमा दोष लगाउने ठाउँ छैन । पौडेलले कुनै निर्दिष्ट भूमिकाको लागि मात्र नभएर वृहत् शान्ति, सम्पन्नता, रूपान्तरण निमुखालाई न्याय दिने साधन गठबन्धनलाई बनाउनुपर्छ भन्ने मान्यता राख्दै आउनुभयो । शान्तिप्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाइँदा देश उल्झनमा परेको, शान्तिप्रक्रिया टुङ्ग्याउन नसिकएको, आर्थिक सम्पन्नताको यात्रा धीमा भएको अनुभवले पौडेलले गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकता देख्नुभएको थियो । माओवादीको मूलप्रवाहीकरणमा विशेष योगदान दिनुभएका पौडेलले सबै शक्तिलाई समन्वय गर्न सक्नुहुनेछ । वर्तमान राजनीतिमा निर्णायक देखिएको एमालेलाई पनि पौडेलजत्तिको नेता राष्ट्रपति हुँदा कुनै क्षति हुनेछैन । उहाँको समन्वयकारी भूमिकाले आगामी दिन देश र सबै दलको हित हुनेछ ।

वचनवद्ध पौडेल

पौडेल सिद्धान्ततः, व्यवहारतः नैतिक तथा राजनीतिक रूपमा अति सपाट, स्पष्ट र खुला व्यक्ति हो । उहाँको खुलापनले कतिपय अवस्थामा उहाँ स्वयम्लाई बेफाइदा पनि गरेको छ तर प्रजातन्त्र, गणतन्त्र, उदारवाद बहुलवादमा पौडेलले कहीँकतै सम्झौता गर्नुहुने छैन । संविधानमा ‘बहुदल’ मात्र कि ‘बहुलवाद’ पनि भन्ने विवादमा पौडेलको धारण समावेशी नेपालको जग थियो । बोलेको कुरालाई निष्कर्षमा पुऱ्याउने कठोर प्रतिबद्धता पौडेलको पहिचान नै हो ।

योगदानी पौडेल

समकालीन नेताहरूमा प्रजातन्त्रका लागि सबैभन्दा धेरै योगदान दिनुभएका पौडेल उमेरका दृष्टिले पनि ज्येष्ठ हुनुहुन्छ । जेलजीवन, कष्टकर दैनिकी, असुरक्षित भविष्य, सहाराविहीन परिवारको केही पर्वाह नगरी एकलव्य यात्राका सारथी पौडेललाई आस्था र योगदानका दृष्टिले पनि सबै राजनीतिक शक्तिले सम्मान गर्नुपर्छ । योगदानको सम्मान गर्ने संस्कृति बसाल्न पनि पौडेल उपयुक्त पात्र र उदाहरण हुनुहुन्छ ।

सदाचारी पौडेल

समकालीन राजनीतिमा पौडेल सदाचार नेताका उदाहरण नै हुनुहुन्छ । कतिपय अन्य सदाचारी नेता पनि हुनुहुन्छ । उहाँहरू कतिपयको परीक्षण भएको छैन । पटक-पटक सत्तामा पुग्नुभएका पौडेल सदाचारको परीक्षमा अब्बल प्रमाणित भइसक्नु भएको छ । उहाँको जीवनशैली, कमाइ, खर्च तथा विचार सबै खुला छन् । विभिन्न कोणबाट उहाँको आलोचना र प्रशंसा गर्नेहरू भेटिन्छन् तर कसैले पनि पौडेललाई आर्थिक सदाचारमा औंला उठाउने आँट गरेका छैनन् । कसैले गरेछन् भने पनि त्यो उनीहरूको व्यक्तिगत रोदन, कुण्ठा, आक्रोश र हतोत्साहनको लक्षण भनेर आमनेपालीले बुझ्ने छन् ।

गतिशील पौडेल

राष्ट्रियता, प्रजातन्त्र, राजाको वैधानिक नेतृत्व र समाजवादजस्ता सिद्धान्तमा आकृष्ट भइ राजनीतिमा प्रवेश गर्र्नुभएका पौडेलको राजनीतिक गतिशीलताको उच्च मूल्याङ्कन हुन बाँकी छ । राजाहरू (महेन्द्र, वीरेन्द्र र पछि ज्ञानेद्र) संवैधानिक/वैधानिक परिवेशभित्र रहँदासम्म पौडेल पार्टी नीतिमा अडिग रहनुभयो, जब राजाहरू वैधानिक सीमामा बसेनन् काङ्ग्रेसको अनौपचारिक/औपचारिक फोरममा गणतन्त्रको प्रसङ्ग उठाउने नेता पौडेल नै हो । समाजवाद मात्र होइन पौडेल उदारीकरण, निजीकरण र सरकारीकरणसहितको मिश्रित अर्थतन्त्रमा समाजवादको निर्णायक भूमिका हुनुपर्छ भन्नेमा विश्वास गर्नुहुन्छ । अर्थतन्त्रमा पनि उहाँ गतिशील विचार राख्नुहुन्छ ।

विश्राम लिँदै पौडेल

पौडेल राजनीतिक जीवनको उत्तरार्धमा हुनुहन्छ । उहाँको सदाचारी र समन्वयकारी भूमिका कार्यकारी प्रमुखका लागि उदाहरणीय हुने थियो । काङ्ग्रेसकै कारण यो अवसर हाललाई गुमको छ । तत्कालीन गठबन्धनका वैकल्पिक शक्ति प्रचण्ड र माधवकुमार नेपालले पौडेलजस्ता नेता काङ्ग्रेसबाट दोस्रो खेपका प्रधानमन्त्री बन्ने भए आफ्नो पूर्ण सहयोग रहने बताउनुभएकै थियो । तत्कालका लागि यो अवस्था क्षीण देखिएकाले पौडेलको योगदानको सम्मान राष्ट्रपति पदबाट गर्न सकिन्छ । यसका लागि नेपाली काङ्ग्रेसलगायत नेता प्रचण्ड र नेपाल चुक्नुहुँदैन । सम्मानको संस्कृतिले उहाँहरूलाई हानी गर्ने छैन । लाभ नै गर्ने छ ।

विकल्पमा पौडेल

आगामी दिन हुने राजनीतिक तानातानमा मुलुकको नेतृत्व फेरि काङ्ग्रेसले लिनुपर्ने अवस्था आउनेमा शङ्का गर्नुपर्दैन । काङ्ग्रेसको त्यतिखेरको भूमिका विचार गरेर पौडेललाई राष्ट्रपति बनाउनु काङ्ग्रेस नेतृत्व तथा अन्य दलका लागि पनि श्रेयष्कर हुनेछ । काङ्ग्रेसको मध्यमपथ र पौडेलको समन्वयकारी भूमिका सबैका लागि उपयोगी हुनेछ ।

काङ्ग्रेसले न्याय गर्नुपर्ने

काङ्ग्रेसले पौडेललाई न्याय गर्नुपर्छ । विभाजित काङ्ग्रेसलाई एकीकरण गर्नेदेखि लिएर विभिन्न सङ्कटमा काङ्ग्रेसलाई बचाउन योगदान दिएका पौडेललाई राष्ट्रपति बनाउन काङ्ग्रेस नेतृत्वले सबै दललाई विश्वासमा लिनुपर्छ । अथवा अबका प्रधानमन्त्री पौडेल भनेर सार्वजनिक घोषणा गर्नुपर्छ । उहाँलाई नेतृत्व दिन वर्तमानमा यताउता लागेका सबै शक्ति एक ठाउँमा आउने दिन धेरै टाढा छैनन् ।