यात्रावर्णन भन्दा बढी उपयोगी ‘समय साक्षी’

यात्रावर्णन भन्दा बढी उपयोगी ‘समय साक्षी’


पुस्तक समीक्षा

प्रा.डा. वसन्तप्रसाद रिजाल

साहित्य विधामा यात्रा साहित्यको आफ्नै पहिचान हुुन्छ । एकथरि पाठक यस्ता साहित्यमा अभिरुचि राख्दछन्, आफू पनि सोही यात्रामा सामेल भएको अनुभव गर्दछन् र अभिलाषा पनि राख्दछन् । यात्रा साहित्य यस्तो विधा हो, जसबाट पाठक स्वयम्ले नदेखे पनि नघुमे पनि त्यस्ता स्थानको ज्ञान र मनोरञ्जन दुवै लिन सक्दछन् ।

‘समय साक्षी’ यात्रा साहित्यको एउटा यस्तै पाटो हो । यसमा यात्राको सोझो वर्णन मात्रै भन्दा पनि यात्रामा घटित घटना, बुझेका प्रेरक प्रसङ्ग र अनुभव गरिएको मनोरञ्जनात्मक पक्षहरू र अन्य विषयहरू समेटिएका छन् ।

लेखक बबिता बस्नेतले आफ्नो यो नियात्रा लेखनमा धेरै पाटो छुनुभएको छ । लेखकले आफूले ज्ञान आर्जनको लागि पाएको यात्रा मौका र यात्राको सिलसिलामा पाएका ज्ञान आर्जन दुवैलाई यहाँ समेट्नुभएको छ । यसै प्रसङ्गमा वहाँले ‘इण्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन (Indian Institute of Mass Communication) मा प्राप्त गर्नुभएको पत्रकारितासम्बन्धी तालिमको पनि उल्लेख छ । अमृता प्रितमसँग भेटप्रतिको आकाङ्क्षाले बबिताको साहित्यप्रतिको अनुराग झल्किन्छ । त्यस्तै, रेडियो नेपालले सञ्चालन गर्ने गरेको घटना र विचारका लागि गरिएको कामले लेखकको पत्रकारिता अरु खारिएको बुझिन्छ ।

लेखकको यो पुस्तकले चीनको विषयमा मनग्य स्थान ओगटेको (पृष्ठ ३२–४४) छ । सार्सको कारणले चीन भ्रमणको मौका, चीनका मुख्य-मुख्य शहरमा रहेको महिला देह-व्यापारको कथा र भृकुटीको तिब्बतका राजासँग भएको विवाहपश्चात तिब्बत गएपछिको इतिहाससँगै पोखिएको त्यहाँको एकान्तता आदि यसका मुख्य पाटा हुन् ।

लेखकको यो पुस्तकमा राम्रो स्थान पाएको अर्को क्षेत्र अमेरिका र त्यहाँका विविध अनुभव (पृष्ठ ४५-६१) हो । यसै परिप्रेक्षमा लेखकले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्य कार्यालयमा पाएको डेढ महिना लामो तालिम निजको जीवनमा अविष्मरणीय क्षण भएको कुरा बुझ्न गारो छैन । पछि लेखकले न्यूयोर्क भ्रमण पटक-पटक गर्नुभएको देखिन्छ । ‘अमेरिका भन्नेवित्तिकै सम्पन्न हो’ जस्तो सोच्नेलाई जोन एफ केनेडी विमानस्थलमा निभेको बत्ति र रेलयात्रामा पाएको सास्तीले केही सचेत गराएको छ । सधँं हतपत मात्रै गर्नुपर्ने पेशाकी बबितालाई घडीको पछि दगुर्न नपरेको एकपटकको न्यूयोर्क बसाइ पाठक आफैंलाई पनि फुर्सदिलो भएको अनुभूति गराउँछ । यसै प्रसङ्गमा ‘हामीकहाँ भए गुडनाइट अन्टि भन्थे’ भनेर अमेरिकीको शिष्टता र हाम्रोमा महिलालाई ‘अन्टि’ भनिनु कत्तिको पीडादायक हुन्छ भन्ने कुरा एकै पटक उजागर गर्नुभएको छ ।

यस्तै, पेन्टागनको भ्रमणले त्यहाँको कडा सुरक्षा व्यवस्थाको बारेमा हामीलाई जानकारी दिन्छ । अमेरिकी रक्षासँग सम्बन्धित भएको हुनाले त्यहाँ अन्य कार्यालयको तुलनामा सुरक्षा संवेदनशीलता बढी भएको बुझ्न सकिन्छ । अमेरिकीहरू सरकारले कतै युद्ध घोषणा गरे आफूलाई मन नपरे पनि पूर्ण रूपमा सहयोग गर्दछन् । राष्ट्रिय सुरक्षामा सम्झौता गर्नु हँुदैन भन्ने उनीहरूको मान्यता छ ।

दक्षिण कोरियाले गरेको आर्थिक प्रगतिको प्रसङ्ग पनि यो पुस्तकमा प्रेरक छ । त्यस्तै, अन्तर्राष्ट्रिय मञ्चहरूमा अङ्ग्रेजी भन्दा आफ्नै भाषामा बोल्न दिइएको सुझाव मननयोग्य छ । श्रीलंकामा नेपालीको गर्विलो उपस्थितिले मन आनन्दित बनाउँछ ।

बबिताजीको यो पुस्तकमा अफ्रिकी अनुभवको सिलसिलामा त्यो सिङ्गो महादेशमा रहेको व्यापक बेथिति र अन्य यस्तै यस्तै कुराहरूको सँगालोे छ । अफ्रिका भ्रमणका समयमा सुटकेश हराउनु, विमानस्थलमा सुटकेशहरू समयमा हात नपर्नु आदि सामान्य समस्या जस्तो लाग्ने देखिन्छ । यो पुस्तकमा उल्लेखित केन्यामा हुँदै आएको महिलामाथिको हिंसा कहालीलाग्दो देखिन्छ । महिलाको यौन चाहना मार्न गरिने भङ्गाकुरको शल्यक्रिया, पुरुषले बहुविवाह गर्न पाउने अधिकार, यौनहिंसामा दण्डहीनता आदिले अफ्रिकी महादेशकै प्रतिनिधित्व गर्दछ ।

नेपालीहरू पर्यटकका रूपमा विदेश जाँदा भारतपछि पहिलो गन्तव्य थाइल्याण्ड नै हुने गर्दछ । थाइल्याण्डमा हुन सक्ने चोरी-चकारीको वर्णनले कसैलाई पनि त्यहाँ होसियार रहन सन्देश दिन्छ ।

बेलायत भ्रमणको सिलसिलामा लेखकले केही कुरा उल्लेख गर्नुभएको छ, जसले हाम्रो अभिमानलाई उँचो राख्दछ । जङ्गबहादुरको बेलायत यात्रामा उनले पाएको मर्यादा, नेपाली सेनाले विदेशी भूमिमा बगाएको रगत र त्यसबाट आर्जेको इज्जत र मर्यादा मननयोग्य छ । त्यस्तै विदेशीभूमिमा विदेशीले नै नेपालमा गरिएको भूकम्प व्यवस्थापनको प्रशंसा, अनि भूकम्पका समयमा पीडित बीचमै देखिएको सौहाद्र्धता र भाइचारा मुक्तकण्ठले प्रशंसा गरिएको प्रसङ्ग पनि लेखकले उद्धृत गर्नुभएको छ ।

नेपालमा माओवादी पीडाले विदेशमै दयनीय जीवन रोज्ने युवाको ब्यथा, महिलाहिंसामा महिलाको सट्टा पुरुषलाई नै सुधारगृहमा राख्ने कतिपय युरोपेलीय देशको प्रचलन, एकदिन झल्लमल्ल घाम लाग्दा आल्हादित हुने युरोपियन स्थिति, थकाइ लागेर बाटोमा बस्दा माग्ने ठानेर दिइएको पैसाको मार्मिक प्रसङ्ग पनि पुस्तकमा छ ।

आमाको सन्तानमाथिको माया र सन्तानले आमाबाबुलाई गर्ने माया दुवै पठनीय छन् । विदेशी भूमिमा रक्सी खाएर ढलेको छोराको व्यवस्थापन गर्ने अवस्थामा पुगेकी निरीह आमा र आफ्नो मातापितालाई कृतज्ञताको भावले आधुनिक तिर्थाटन स्वरुप बैंकक घुमाउन लैजाने यसै पुस्तककी लेखिकाको कार्य सराहनीय छ ।

पुस्तकमा केही प्रसङ्ग पाठकलाई नयाँ सोच दिने खालका छन् । हिलारी क्लिन्टनसँग एउटै विभागमा काम गर्ने टैक्सी ड्राइभर, नर्वेका राजाले आफ्नो घरमा आफै रङरोगन गरेको, र राजाको छोराले एक बच्चा भएकी कुमारी आमालाई विवाह गरेर भित्र्याएको कुरालाई जनताले सामान्य रूपमा लिएको आदि प्रसङ्ग पनि यसमा समाहित छन् ।

यथार्थमा यो पुस्तक यात्रा वर्णनभन्दा पनि दैनिक टिपोट भन्न मिल्ने खालको छ । तर पनि जानकारी राख्ने हिसाबले यो दैनिक वर्णन यात्रावर्णन भन्दा बढी उपयोगी छ । यो दैनिकी भएको कारणले यस्लाई विस्तृत वर्णन गर्ने हो भने यसैलाई आधार बनाएर अझ दुई, तीन पुस्तक तयार गर्न सकिन्छ । यसो गर्ने हो भने महादेशहरूको छुट्टाछुट्टै वर्णन गर्दा हुने देखिन्छ ।

‘खोटाङको ग्रामीण भेगमा जन्मेर यो प्रकारको उन्नति सबै समयको खेल हो’ भन्ने कुरा लेखकले जानी–नजानी बताइसक्नु भएको छ । लेखकले रातो पासपोर्ट बनाउने सिलसिलामा वहाँको बुवाको सिफारिस मागिँदा ‘खोटाङको गाउँमा खेती–किसानी गरेर बसेको मेरो बुवाको सिफारिसले यहाँ के अर्थ राख्दछ’ भन्ने जवाफबाट यो कुरा झल्कन्छ । रातो पासपोर्टपछि हरियो पासपोर्टबाटै लेखकले समयको बहावसँगै यो गोलाद्र्धको पटक-पटक फन्को मारिसक्नुभयो । यो कुराको साक्षी समय आफै छ । यस अर्थमा पुस्तकको नामाकरण चित्तबुझ्दो छ ।

पुस्तकमा लेखकको कमजोरी खोज्न पाठक पनि सँगै घुमेको हुनुपर्ने हो, जुन हुने कुरो भएन । एकाध ठाउँमा भने लेखकले पाठकका जिज्ञासा रहँदारहँदै बिट मारिदिनुभएको छ । तर पनि तिब्बतका केही कुरामा सामान्य जानकारी राख्नुपर्ने (पृष्ठ४०) देखिन्छ । जस्तै स्रङ्गचङ गाम्पोले बनाएको पोताला पछि भग्नावशेष हुन पुग्यो जसलाई पाँचौं दलाई लामाले पुनः निर्माण गराएका हुन् । दुई रङ्गमा छुट्याइको पोताला दरबार रातो भाग दलाई लामाको निवास हुनुको साथै धार्मिक कृत्यका लागि हुन् भने सेतो भाग प्रशासनिक हो ।

लेखनशैली प्रष्ट छ । पुस्तकको भाषा सरल, सहज र बोधगम्य पनि छ । ‘बुकहिल’लाई राम्रो प्रकाशन गृह मानिने हुनाले यतैबाट प्रकाशित यो पुस्तकको स्तर मापन गर्दा स्तरीय भएको कुरा स्वतःसिद्ध छ । समग्रमा भन्नुपर्दा पुस्तक पठनीय र संग्रहणीय बन्न सकेको छ ।

पुस्तक : समय साक्षी
लेखक : बबिता बस्नेत
विधा : नियात्रा
प्रकाशन : बुकहिल प्रकाशन
वर्ष : भाद्र, २०७९