लोकतन्त्रको ‘राजकीय बेइज्जत’पछिका सम्भावना

लोकतन्त्रको ‘राजकीय बेइज्जत’पछिका सम्भावना


भारतको साथ नहुँदा दक्षिण एशियाको सबैभन्दा समुन्नत देश श्रीलङ्का टाट उल्टियो । नेपाल श्रीलङ्का भन्दा पहिला टाट उल्टने सम्भावना बोकेको मुलुक हो । तर, भारतसँगको रोटिबेटी अर्थात् दर्वानदेखि सिपाहीसम्मको रोजगारीले नै हामीलाई टाट उल्टन नदिएको हो भन्ने तथ्य भुल्न, लुकाउन या थाहा नभएको जस्तो गर्न आवश्यक छैन ।

दामोदर पौडेल

कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान हामी सबैले सुनेकै हो । तैपनि हाँडीगाउँको जात्राको पछाडि तर्क छ र, वर्तमान सरकारले राष्ट्रिय सरकारको रूप लिन सक्नुको पनि कारण छ । विश्वब्यापी मान्यताअनुसार औपचारिक प्रतिपक्ष हुनको लागि २५ प्रतिसत सिट भएको वा प्रतिपक्ष रहेको राजनैतिक दल आवश्यक हुन्छ । अहिले त सरकारको समर्थन सबैले गरेकोले प्रतिपक्षमा चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा र नारायणमान विजुक्छेको नेमकिपा नामक एकसिटे दलमात्र देखिएका छन् । अझै पनि हाँडीगाउँ नेपालमा नै पर्ने भएकोले सरकारमा समावेश नभएपछि स्वतः प्रतिपक्ष हुने भयो र प्रतिपक्ष त लोकतन्त्रलाई बलियो बनाउन अनिवार्य हो भन्ने तर्क दिँदै कट्टु पनि खोलेर दुनियाँ हसाउने सम्भावना छ । हरेक नराम्रा कार्यलाई लोकतन्त्रको धोतीले छेक्ने कार्यले तपाईंको लाज त छोपिएला तर लोकतन्त्रको भने आन्तरिक रूपमा ‘राजकीय बेइज्जत’ हुन्छ ।

प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एकैचोटि चाहिने ‘देउवा’हरूको चाहनाले गर्दा काङ्ग्रेसको सबै कुरा गुम्न पुगेको हो । देउवाहरूको विश्वास नहुने सम्भावना देखेकोले प्रचण्डले विकल्पलाई बलियो बनाएका रहेछन् र, त्यसै हुनाले उनलाई यो अवस्था (प्रधानमन्त्रीको कुर्ची)मा आउन सजिलो भयो । जनतामा धेरै मत भएर पनि एमाले संसदमा दोश्रो ठुलो दल बन्यो र संसदमा सबैभन्दा ठुलो दल भएर पनि देउवाहरू संसदीय गणितमा पछाडि परे । यहाँनेर भन्नैपर्छ कि चुनावमा तालमेल लोकतन्त्रको मर्म होइन र, तालमेल भएपछि तालमेल हुने दलहरूबीच एकका मतदाताले अर्कोलाई मत दिएकोले उनीहरूले मिलेर नै सरकार बनाउनु लोकतन्त्रको पक्षधरता हुने हो । प्रचण्ड पनि देउवाबाट पदीय किसिमले हेपिनुभन्दा ब्यवहारिक रूपमा केपी ओलीबाट नै हेपिन तयार भए । यसको दोष ज्यादा देउवाहरूमा नै जान्छ ।

हिंसात्मक गतिविधि ताका प्रचण्डहरूले छातीमा टेकेर टाउकोमा हान्ने भन्ने गरेको सुनिएको हो, चुनावी राजनीतिमा पनि देउवाहरूलाई उनीहरूकै कारणले छातीमा टेक्ने र टाउकोमा हान्ने काम भयो । नेकपा माओवादीको हैसियत ६ महिना पहिलादेखि सक्रिय जस्तो देखिएको स्वतन्त्र दलको भन्दा फरक नभएकोमा माओवादीको हैसियत खुम्चँदै गएकोमा कुनै विमति राख्नुपर्ने अवस्था छैन । अर्को पटकको चुनावमा माओवादी अझै खुम्चने हो भने पनि अन्यथा लिने अवस्था छैन । देउवाहरूले पाँच वर्षपछिको चुनावको लागि नेतृत्व प्रचण्डलाई सुम्पेर अहिले नै नगदी सरकार चाहेका थिए । सायद देउवाहरूमा राजनैतिक इमान्दारी भएमा प्रचण्डको दलको लागि श्रेयकर हुने थियो, आफैले राजनैतिक इमानदारी देखाउन नसकेको आरोप लागेका प्रचण्डले देउवाको इमानदारीको पनि विश्वास नभएको परख गरेकै होलान् ।

लोकतन्त्रको पक्षधरता र तानाशाहीको विरोध गर्ने दल हो भन्ने हुङ्कार पनि काङ्ग्रेसमा रहेन । लगातार दलको सभापति बन्न दल फोर्ने, प्रधानमन्त्री बन्न राजालाई लोकतन्त्र नै बुझाउने, सुरासुन्दरी र प्राडो-पजेरो काण्डबाट भ्रष्टाचारलाई संस्थागत गर्ने, दलमा अरुलाई नेता र प्रधानमन्त्री बन्न अवसर नै नदिने, आफ्ना इमान्दार साथीहरूलाई भन्दा अरु दलका नेताहरूलाई सहयोग गर्ने र, यसपटक त प्रधामन्त्री नै बन्न सहयोग गर्ने नेताको हालिमुहाली रहेको नेपाली काङ्ग्रेसले लोकतन्त्रको पक्षधरता र समाजवादको उपादयताको प्रतिनिधित्व गर्न सक्छ कि सक्दैन भन्ने नै भ्रमको खेती जस्तो हुन पुगेको छ ।

देउवाहरूले चुनावमा तालमेल गरेर र अहिले सरकारमा हैसियत बनाउन नसकेर काङ्ग्रेसको दलिय हैसियत धुलोपिठो बनाएको देखिएको हो । तर प्रचण्डले कुनै दुःख नगरी एमालेको सहयोगप्रति साह्रै ज्यादा आभारी हुनुपर्ने अवस्था कमजोर भएको पाए । एमालेको मत अहिले पनि अपेक्षाकृत स्थिर छ । यो बुझेर पनि एमालेलाई केही कमजोर बनाउन सकिन्छ कि भनेर देउवाहरूले प्रचण्डलाई समर्थन गरे । दौरा-सुरुवाल र ढाकाटोपीमा सजिन थालेका प्रचण्ड अब काङ्ग्रेसको सहयोगपछि कालो टोपीमा देखिन थाले, क्रमशः पुनः कोट-पाइन्टमा देखिने छन् । कुनै पनि हालतमा आफ्नो राजनैतिक हैसियत नाफामा नजाने र त्यसको फाइदा प्रचण्डलाई मात्र हुने देखिँदादेखिँदै पनि मुख्य प्रतिस्पर्धीलाई कमजोर बनाउन सकिन्छ कि भनेर देउवा-पकडको काङ्ग्रेसले प्रचण्डलाई विश्वासको मत दियो । साढे दुइ वर्षपछि पनि देउवाहरूले प्रधानमन्त्रीको ओहदा प्रचण्डलाई नै दिएर सरकारमा बलियो मन्त्रालय लिँदै चुनावमा समेत त्यही सरकार राख्ने हारेको दाउमा देउवाहरू छन् । यसले गर्दा देउवाहरूले सरकार पाउन् वा नपाउन्, प्रचण्डको बार्गेनिङ हैसियत ओलीसँग पनि बढ्ने निश्चित छ र, त्यो देखिन थालिसकेको छ । यो हैसियत पुनः दलको एकीकरणको लागि सजिलो बनेमा देउवाहरू उत्तानो पर्नु र काङ्ग्रेसलाई पाखालगाउनु नै हुनेछ । देउवाहरू त अहिले गठबन्धनमा मत नदिनेहरूलाई कार्वाही गरेकोमा तिनका भूतसँग पनि डराइरहेका होलान्, प्रचण्डलाई कार्वाही गर्न मिलेन बरु ‘धोका’वापत ‘विश्वासको मत’ रूपी पुरस्कार दिनुपरेको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि विश्वासको मत दिएर सकेसम्म आरजु राणालाई र नभए रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने च्याँखे दाउको आश पनि देउवाहरूमा हुनु स्वभाविक हो । ओलीको सहयोगले देउवालाई उत्तानो पारेका प्रचण्डलाई युद्धस्थलमा नै अनुनयविनय गरेर बिन्तीपत्र हालेको प्रमाणित नै भयो, अब खुट्टा त माथि लग्न देउ, यसो भएमा हारे पनि खुट्टा माथि नै छन् भन्न पाउँछु भनेर कानेखुसी गरेको जस्तो देखिन्छ । देउवाहरूको इज्जत प्रचण्डले कति जोगाइदिने हुन् र, ओलीले कुन रूपमा लिने हुन् हेर्न पाइने छ ।

अहिले नै पनि देउवाको ‘सरकार समर्थन प्रकरण’बाट माओवादीले एमालेसँग प्रदेश सकरार गठनमा त्वम् शरणम् गर्न नपर्ने मनोवैज्ञानिक खुराक प्राप्त भएको छ । प्रचण्डको दल पनि जनताबाटै चुनाव जितेर जाने हो । एमालेको मत प्रचण्डले लिन सक्ने सम्भावना छैन र रवि लामिछानेको हैसियत पनि राम्रै देखिएको छ । आफ्नो हैसियत राम्रो बनाउन र कार्यकर्ताहरू चोर्न पनि प्रचण्डलाई काङ्ग्रेससँग नै सजिलो हुने देखिन्छ । केन्द्रदेखि स्थानीय निकायसम्म धेरै पदहरू छन् । ती पदमा पार्टीको पक्षमा रहनेलाई नियुक्ति दिने कार्य भएमा काङ्ग्रेसहरूका मत र कार्यकर्ताहरू माओवादीतिर लहसिने सम्भावना रहन्छ । किनकि, लोकतन्त्रको पक्षधरता र तानाशाहीको विरोध गर्ने दल हो भन्ने हुङ्कार पनि काङ्ग्रेसमा रहेन । लगातार दलको सभापति बन्न दल फोर्ने, प्रधानमन्त्री बन्न राजालाई लोकतन्त्र नै बुझाउने, सुरासुन्दरी र प्राडो-पजेरो काण्डबाट भ्रष्टाचारलाई संस्थागत गर्ने, दलमा अरुलाई नेता र प्रधानमन्त्री बन्न अवसर नै नदिने, आफ्ना इमान्दार साथीहरूलाई भन्दा अरु दलका नेताहरूलाई सहयोग गर्ने र, यसपटक त प्रधामन्त्री नै बन्न सहयोग गर्ने नेताको हालिमुहाली रहेको नेपाली काङ्ग्रेसले लोकतन्त्रको पक्षधरता र समाजवादको उपादयताको प्रतिनिधित्व गर्न सक्छ कि सक्दैन भन्ने नै भ्रमको खेती जस्तो हुन पुगेको छ । विश्वमा अजय विचार नै लोकतन्त्र र समाजवाद हो तर यस्तो विचार बोकेको काङ्ग्रेस दिनहुँ कमजोर बन्नु देउवाहरूको गलत कार्यबाहेक अरु के हुन्छ ? काङ्ग्रेसको ‘देउवा-युग’मा दलभित्र गणेश र हनुमानबाहेकका नेता-कार्यकर्ताहरूमा अन्याय र बाहिर लोकतन्त्र र समाजवादको धज्जी उडाउने कार्यबाहेक केही भएन ।

सेनापति प्रकरण र काठमाडौं घेरेर सत्ता कब्जा गर्ने लक्ष्य लिने तर सरकारमा रहँदा केही नगर्ने प्रचण्डले प्रधानमन्त्री हुँदा देश र जनतलाई केही दिन सकेका छैनन् । त्यसो त काङ्ग्रेस र एमालेका नेताहरूले पनि केही दिन सकेको भन्ने पनि होइन । प्रचण्डले सत्ताको लक्ष्य ‘कब्जा गर्नु’ होइन बरु जनतालाई डेलिवरी दिएर जनहृदयमा बस्नु हो भन्ने सन्देश दिन सक्लान् ? उनले चाहेर पनि वर्तमान परिवेशमा उनी आफूले ब्यक्तिगत जीवनमा सादगी र अरुलाई पनि इमान्दार बनाउने प्रयास मात्र गर्ने हो ।

देउवाहरूले सरकार पाउन् वा नपाउन्, प्रचण्डको बार्गेनिङ हैसियत ओलीसँग बढ्ने निश्चित छ र, त्यो देखिन थालिसकेको छ । यो हैसियत पुनः दलको एकीकरणको लागि सजिलो बनेमा देउवाहरू उत्तानो पर्नु र काङ्ग्रेसलाई पाखालगाउनु नै हुनेछ ।

राजश्वले साधारण खर्च मात्र होइन कर्मचारीको तलबभत्ता र खर्चसमेत दिन नसक्ने र अरु सम्पुर्ण खर्चको लागि विदेशीको मुख, ऋण र सहायता ताक्नुपर्ने वर्तमान अवस्था हो । यस्तो अवस्थामा न स्वाभिमान रहन्छ न हामीहरूको हैसियत भिखारीको हैन भन्न सकिने परिस्थिति बन्छ । केवल अन्तरनिर्भरताबाट परनिर्भरतामा गएको भए पनि प्लेकार्ड र भाषण तथा अन्तर्वार्तामा मात्र स्वाभिमान देखाउने अवस्था अहिले पनि सुरु भएकोमा त्यो जटिलता वा कठिन अवस्था अझै आउँछ । जति विरोध गरे पनि भारतको साथ नहुँदा दक्षिण एशियाको सबैभन्दा समुन्नत देश श्रीलङ्का टाट उल्टियो । नेपाल श्रीलङ्का भन्दा पहिला टाट उल्टने सम्भावना बोकेको मुलुक हो । तर, भारतसँगको रोटिबेटी अर्थात् दर्वानदेखि सिपाहीसम्मको रोजगारीले नै हामीलाई टाट उल्टन नदिएको हो भन्ने तथ्य भुल्न, लुकाउन या थाहा नभएको जस्तो गर्न आवश्यक छैन । भारतको अवस्था श्रीलङ्काको जस्तो नभएसम्म नेपाल सुरक्षित छ । यस्तो अवस्थामा भारतसँग पौँठेजोरी खोजेर हाम्रै सिङ फुकाल्ने होइन बरु सौहार्द्धतापूर्ण अडान र स्वाभिमानको आवश्यकता छ । भारतसँग विद्यूत्-राजमार्ग बनाएर भारत हामीसँग उर्जाको लागि केही हदसम्म निर्भर बन्ने परिवेश निर्माण गर्न सके भारतसँगको हाम्रो हैसियत स्वभिमानमा आधारित हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा ‘पुष्पकमल दाहाल’ बनेर लोकतन्त्र अनि समाजवादको पक्षमा रहँदै जनताको मन जित्न सक्नुपर्छ । देउवाहरूले जस्तो लोकतन्त्र र समाजवाद भनिदिएपछि जनतालाई जे गरे पनि हुन्छ भन्ने सोच राख्ने होइन, बरु वृहत एकताबाट लोकतान्त्रिक समाजवादी एकता तथा लोकतन्त्रबाट नै सबै प्रकारका समाजवाद ल्याउन सकिन्छ भन्ने सन्देश दिन आवश्यक छ । आजका मितिमा पनि एमालेले लोकतन्त्र र समाजवाद नै आफ्नो लक्ष्य हो भन्ने विश्वास दिलाएमा काङ्ग्रेस भताभुङ्ग हुन सक्छ । प्रचण्डले पनि लोकतन्त्र र समाजवादको पक्षमा काम गर्ने र क्रान्तिकारी सुधारको लागि रोजगारी सिर्जना, सरकारी खर्चको कटौती तथा सरकारी खर्च सकेसम्म धेरै जनतामा राम्रो र उत्पादनमूलक कार्यका लागि लगाउन सकेमा उनी देशको लोकतान्त्रिक समाजवादी पक्षधर राजनेता बन्न सक्छन् ।

लुला डिसिल्भा, पुटिन जस्ता भुतपूर्व कम्युनिष्टहरूले विश्वमा तहल्का मच्चाएका छन् । राम्रो विचारमा रुपान्तरित हुनु र सुधार हुनु संसोधानवाद होइन, बरु यो विकासवाद हो । राजश्वको अनावश्यक खर्च कटाएर विकास र उत्पादनमूलक कार्यमा लगाउने र धेरै रोजागारीको श्रृजना गर्ने प्रशस्त सम्भावना छ । हामी सम्भावना खोजिरहेका छैनौँ । त्यसो भएमा प्रचण्ड देउवाको मात्र राजनेता नभइ समस्त नेपालीकै राजनेता बन्नेछन् । अझै पनि नेपालीका पीडा न्युन गर्दै अन्त्य गर्न सकिन्छ र त्यसको लागि कुनै बाहिरी विषेश बजेट र कला चाहिँदैन बरु सामान्य परख भए पुग्छ । वर्तमानमा काङ्ग्रेसको भविष्यको आशा भने अझै पछि धकेलिएको छ । तर सत्य यो हो कि लोकतन्त्र तानाशाहीको विरुद्धमा कवच हो र लोकतन्त्रमा नै राम्रो सम्भावनाको बिज अरु ब्यवस्थामा भन्दा सजिलोसँग खोज्न सकिन्छ र, जनताको हितबाट लोकतन्त्रलाई प्यारो बनाउन पनि सकिन्छ ।