बेल्जियममा सुनौलो मार्ग कोर्दै नेपाली व्यवसायी

बेल्जियममा सुनौलो मार्ग कोर्दै नेपाली व्यवसायी


नेपाली डायस्पोरामा रहेका सम्पूर्ण नेपाली व्यवसायिक ‘कर्मी माहुरी’हरूको लक्ष्य निरन्तर पूरा हुँदै जाओस् । त्यसबाट बेल्जियमका मात्र नभइ डायस्पोराका सम्पूर्ण नेपाली व्यवसायीहरूले लाभ लिन सकुन् ।

डिल्ली अम्माई

यही २३ जनवरी २०२३ मा नेपाली व्यवसायी संघ बेल्जियमद्वारा फेरि अर्को इतिहास लेखिँदै छ, अर्थात् उक्त दिन पूर्ववत कर्मको समीक्षा तथा कर्मवीरहरूको नयाँ नाम कोरिँदै छ । अघिल्लो हप्ता संघले आफ्ना हाँगाहरू नभनौँ, त्यसले फेरि शाखाको अर्थ लाग्ला, फैलावट बेनेलक्ससम्म बिस्तार गऱ्यो । संघ अब बिस्तारै युरोपको आकाशभरि उड्ने दिन पनि नजिक छ भनेर बुझौँ । यो ओज बेल्जियमकै व्यवसायीहरूको प्रेरणाबाट सम्भव भएको मान्दा कसैलाई अन्याय होला र ! मलाई चाहिँ त्यस्तै लागेको छ । इतिहासले देखाएको दृश्य के हो भने, अन्यत्र कफीगफमा कर्मको व्याख्या टुङ्ग्याइन्छ तर बेल्जियमका व्यवसायीहरूले गरेर देखाएका धेरै कुरा छन् । समयक्रममा ति सबै संघर्षका सुरुवाती कथा रोचक प्रेरणा बनेर बाहिर आउने नै छन् ।

मुलुकबाट आउँदा मुख र मुठ्ठी मात्र लिएर आएका अर्जुन, गोविन्द, यामु, चिरन, लोक, काशी, पदम, गंगा, चित्रकार, दुर्गा, मदनहरूले बेल्जियमका नेपालीहरूलाई ब्यवसाय गर्नको लागि ज्ञान, सिप र हिम्मतको मुठ्ठी खोलिदिएका छन् बेल्जियममा । उनीहरूले डुबेकाहरूलाई उकास्न प्रेरणामात्र दिएका छैनन्, प्रशिक्षण र कानुनी ज्ञानसमेत दिने गरेका छन् । त्यो उनीहरूले एक्लै गरेको पुरुषार्थ हैन, न त कसैप्रतिको करुणाभावले गरेका हुन् । त्यो उनीहरूले आफैलाई परेका असहजतामाथि विजय पाउन गरिएको सँगठित प्रयास थियो । त्यो आज सबै व्यवसायीहरूको नितान्त प्यारो र भरपर्दो सँगठित परिवार बनेको छ । त्यसमा राजनीतिको कतै स्वार्थ छ भने त्यो व्यवसायिक उन्नतिको स्वार्थमात्र हो । अरु खोज्नुहोस्… भेट्टाउनु भएछ भने पछि लेखौँला ।

यसका कर्महरूलाई सिलसिलेवाररूपमा अध्ययन नगरी संघबारे त्यति भेउ पाइन्न । संघबारे विविध सूचनाको भारी बोकेर एकछिन बगौँ है त ! त्यसपछि सिंहावलोकनको जिम्मेवारी युरोपका नेपाली पाठकहरूको ।

नेपाली व्यवसायिक संघ बेल्जियमले एकातिर स्थानीय चेम्बर अफ कमर्स, अन्य कमर्सियल विभागहरूसँग निरन्तर अन्तरक्रियात्मक सम्बन्धहरू बनाउँदै आयात-निर्यातका ब्यवधानहरू छिचोल्न कम्मर कसेर लागेका छन् । थिम्स रिजोलुसनको लागि एफएनसीसीआई, नेपाली दूतावासलगायत विभिन्न अभिभावाकीय संघ–सँस्थासँग मिलेर काम गर्दै छन् । लगानीका अवसरको खोजी गर्दै रोजगारी सृजित क्षेत्रमा कामदारहरूमाथि हुने शोषण तथा अन्य विकृतिहरूलाई समेत सहजीकरण गर्ने उनीहरूको भावी लक्ष्य रहेको कुरा बेल्जियमको व्यवसायिक फोरम वा संघमा निवर्तमान हुनै लागेका बेनेलक्सका संयोजक यामु निरौला बताउँछन् ।

अध्यक्ष निरौलाले व्यवसायीहरूको लगानी मात्र महत्वपुर्ण कुरा नहुनेतर्फ बारम्बार संकेत गर्नुमा धेरै कारण रहेको देखिन्छ । पङ्क्तिकारसँगको भेटमा उनले व्यवसायिक सफलताको लागि सम्बन्धित क्षेत्रको बारेमा आधारभूत ज्ञान आवश्यक रहेको स्पष्ट पार्दै समय-समयमा सूचना, तालिम तथा अन्तरक्रियाको आयोजनाले व्यवसायीहरूलाई दीर्घकालिक लाभ पुग्ने बताए । उनले सङ्केत गरेका कारणमध्ये यी महत्वपूर्ण नै होलान् ।

उनले भनेअनुसार, व्यवसायिक ज्ञानको विकास र योजनाको सीपले ब्यवसायमा लगानी गर्न तम्सिएको मानिसलाई उसको सुन्दर व्यवसायिक भविष्यतर्फको यात्रा सहज बनाइदिन्छ ।

बेनेलक्सका लागि नेपाली राजदूत लोकबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अघिल्लो अधिवेशन (२०१८) मा वर्तमान अध्यक्षले व्यवसायिक प्रशिक्षण, संगठन बिस्तारबाहेक पनि केही महत्वपूर्ण बाचाहरू गरेका थिए । नेपाली ब्यवसायी संघ बेल्जियमको तथ्याङ्क संकलन, सदस्यता नवीकरण तथा बिस्तारको कार्य त संगठनका आन्तरिक जीवन पद्दतिका कुरा भए । त्यसबाहेक नेपालका सामानलाई युरोपको मार्केटमा ल्याउने कुरा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक संजालसँगका अन्तरक्रिया, नेपालमा उत्पादित सामानहरूबारे युरोपियनहरूलाई चिनाउने प्रदर्शनीहरू, विश्व व्यापारिक मेलाहरूमा नेपाली उत्पादनहरूको विज्ञापन, खास गरेर नेपाली होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई नेपाली सामान प्रयोग गर्न प्रोत्साहन र प्रेरणा, नेपाली खानाको महोत्सव जस्ता गतिविधिलाई उपलब्धिमुलक बनाउँदै लगिएको छ । खास गरेर ती पहलहरू नेपाली व्यवसायी संघको नेतृत्वमा हुँदै आएको छ । त्यसमध्ये केही काम पूरा भए, केही क्रममा छन् र केही दीर्घकालिक योजनाको सूचीमा जोडिँदै छन् । समयको अन्तरालमा परिणाम देखिनेछ ।

कतिपय योजना र कार्यक्रमहरू दीर्घकालिक चरित्रका हुन्छन् भने कतिपय अल्पकालिक चरित्रका । नेपाली उत्पादनलाई विश्वबजारसम्म पुऱ्याउने योजनालगायत केहीको गुणात्मक परिणाम तत्काल नदेखिए पनि दीर्घकालिक रूपमा यसले नेपाली उत्पादनलाई विश्वबजारमा पुऱ्याउन महत्वपूर्ण योगदान पुऱ्याउने जिकिर गर्दछन् संघका अध्यक्ष निरौला ।

२८ मे २०२२ (शनिबार) का दिन नेपाली खाना महोत्सवमा संगीत र मनोरञ्जनका साथ नेपाली खानाको स्वाद लिन बेल्जियमका लागि जापानी राजदूत यासुसी माकसी, भारतीय राजदूत सन्तोष झा, हङ्गेरियन राजदूत तामास इभान कोभाक्स, भुटानी राजदूत तित्सरिङ ग्याल्सेन पेन्जोर, बङ्गलादेशी राजदूत महबुवा हुसेन सालेह, ट्युनिसियन राजदूत नविल अमार र बुलगारियन राजदूत पालमेन बन्चेव र बेल्जियमका परराष्ट्रसचिव जेरोन कोरेमानको आगमनले नेपाली उत्पादनबारे विस्तृत चासो देखाएको कुरा पङ्क्तिकारलाई जानकारी छ । नेपाली व्यवसायी संघ बेल्जियमले गरेका व्यवसायिक पहलहरूमध्ये यो सर्वथा दीर्घकालिक महत्वको कार्यक्रम थियो ।

उनले ब्यवसायीहरूको अहिलेको टिम सुपर रहेको बताउँदै सबै सहकर्मी मित्रहरूले संघको गरिमालाई उचाइमा पुऱ्याएको बताउँछन् । ‘टिम एकढिक्का छ, नेपालको राजनैतिक बाछिटाले नहिर्काएको संगठन केही अपवाद बाहेक नेबाब (Nepalese Businessmen’s Association in Belgium) मात्रै होला !’ भन्दै निरौलाले गर्व गरेका छन् र, त्यसको लागि संघका अग्रजदेखि सम्पूर्ण टिमलाई धन्यवाद दिन बिर्संदैनन् उनी । तर उनले यसो कसैलाई होच्याउन नभनेको भन्दै पूर्ववत टिम र त्यसका अग्रजहरू पनि आफ्नो प्रेरणाको श्रोत रहेको बताउन बिर्सेनन् ।

अब एक्लाएक्लै भन्दा मिलेर, एक मतले भन्दा अनुभवीहरूको सल्लाहमा र मिलेर अघि बढ्न संघले पहल थालेको छ । सबै व्यवसायीहरू नेबाबमा जोड्नको लागि बेल्जियममा त उनीहरूले ब्यापक अभियान नै चलाएका छन् ।

पारस्परिक ब्यवसायिक ज्ञान-सिप, अनुभवको आदानप्रदान र लाभको लागि आधारभूत कुराहरूको वितरण प्रभावले पनि हुन सक्छ, धेरै साथीहरूलाई जागिरेबाट व्यवसायिक बनाउँदै लगेको निरौलाको तर्क छ । ‘हेर्नुस् सर, गफले केहि हुँदैन, आधारभूत ज्ञान, ब्यवसायको सम्भावनाबारे बिस्तृत सर्वे र जोखिम मोल्न सक्ने हिम्मतको भएको ब्यक्ति नै लगानीको लागि तयार हुन्छ । जोखिम मोल्न नसक्ने मान्छेले ठुलो लगानी गरेर बिजनेस गर्दैन ।’ गम्भीर मुद्रामा उनी भन्छन्, ‘यी सबै भएर पनि भाषागत समस्या, कानुनी झमेला र आवश्यक सामाग्रीहरूको प्रबन्धबारे ज्ञान र अनुभवको अभावले बिजनेस फेल हुन सक्छ । त्यसको लागि अनुभवी साथीहरूको परामर्शले धेरै सहयोग गर्छ, थप जानकारीले व्यवसायीलाई आफ्नो लक्ष्यसम्बन्धी प्रेरणा र उत्साह दिन्छ । हामी सबै अनुभव र क्षमता भएका साथीहरू संघमा छौँ । युरोपमा परामर्श, प्रशिक्षण र सहयोगको पनि लागत तोकिएको हुन्छ, तर हामीले हाम्रा उत्साही व्यवसायी साथीहरूलाई यो सबै निःशुल्क उपलब्ध गराएका छौँ ।’ यति भन्दै निरौलाले पंङ्क्तिकारलाई नै प्रश्न गरे, ‘कि गलत भनेँ र सर ?’

अवश्य कुरा सत्य हो, संघसँग जोडिँदा व्यवसायिक ज्ञानको लागि महत्त्वपूर्ण फाइदाहरू छन् । मानौँ कसैले आफ्नो बिजनेश बेच्दै छ । उसले पूर्ववत कुनै बिल, भौचर, व्यवसायिक कानुनी प्रक्रिया छलेर कालो लिष्टमा परेको ब्यवसाय अर्को नेपालीलाई बेच्दैछ वा कसैले किन्दैछ र संघले थाहा पायो भने सम्बन्धित ब्यक्तिलाई उचित परामर्श दिन सक्छ । पहिला पनि कतिपय साथीहरू आवश्यक जानकारीको अभावमा ठुला लफडामा परेका छन् । संघ यस्तो बेलामा संजीवनी बनेर उभिन्छ भन्नाले कसैलाई ठग्न र ठगिनबाट समेत बचाउँछ ।

समान संकल्प र लक्ष्य भएका मानिसहरू भेट्टाउन प्रायः गाह्रो हुन्छ । संघले अहिले त्यस्तै सक्रिय र क्षमातावान टिम पाएको कुरा उनीहरूका गतिबिधिहरूबाटै पुष्टि हुन्छ । जस्तो कि सम्भावित व्यवसायीलाई ब्यवसाय सुरु गर्न प्रेरित गर्ने सवालमा होस् वा आर्जित अनुभव आदानप्रदान गर्ने सवालमा होस्, उनीहरू अब्बल देखिन्छन् । उनीहरूका व्यवसायिक कार्यनीति र रणनीतिहरू लागु गर्न संघलाई भरपर्दो प्लेटफर्म बनाएका छन् । त्यसभित्र व्यापारका तात्कालिक अवसरहरूको खोजीको लागि, तेस्रो पक्षहरूसँग खरिद सम्झौता गर्न वा बार्गेनिङ पावर बढाउनको लागि र समृद्ध राष्ट्रको रुपमा नेपालको छवि उकास्ने सवालमा योगदान दिनको लागि टिमको दृढ विश्वास रहेको कुरामा स्वयम् अध्यक्ष निरौला विश्वस्त रहेको देखियो ।

नेपाली व्यवसायी संघ बेल्जियम (NEBAB) द्वारा १४ जनवरी २०१८ का दिन एन्टवर्पको होटल नेशनलमा आयोजित जिम्मेवारी हस्तान्तरण समारोहमा सार्वजनिक रूपमा आफ्नो कार्य योजना जुन जोस र विश्वासका साथ घोषणा गरेको थियो, त्यहि स्प्रिट र दृढताकासाथ घोषित कार्यक्रमहरू कार्यान्वयन गरेर पनि देखायो । यसबारेमा कुरा गर्दा अध्यक्ष निरौलाले यो सम्पूर्ण सफलता टिम स्प्रिटले गर्दा सम्भव भएको बताए ।

मन्द मुस्कानसहित उनले थपे, ‘हामीले सोचेजति अझै गर्न सकिएन, नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पहल गर्ने लक्ष्यबारे समेत हामीले दूतावास र नेपाली समुदायलाई आश्वस्त पारेका थियौँ, त्यहीबेला महामारीको प्रकोप आयो । समृद्ध नेपालको लक्ष्यलाई पर्यटन र नेपाली समान निर्यात प्रवद्र्धनमार्फत हामीले देशैभरका नेपाली उद्यमहरूलाई फ्लायर, स्टिकर र श्रव्यदृश्य प्रवर्द्धनात्मक सामग्री वितरण गर्ने निर्णय गरेका थियौँ । हामीले नेपालको पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न हरेक ठूला व्यापार मेला र एक्स्पोमा सहभागी भएर प्रचार गर्ने निर्णय गरेका थियौँ । त्यो सब निरन्तर कार्यान्वयनको चरणमा छ, कतिपय कार्यान्वयन भैरहेको पनि देख्नुभएको छ । हामी हाम्रो वेबसाइटलाई पनि पुनः डिजाइन र परिमार्जन गर्दै अगाडि बढिरहेका छौँ । नेपाली उद्यमीहरूका लागि विशेषाधिकार प्राप्त स्मार्टफोन एपहरूलाई भरपर्दो बनाउन इन्फो-डेस्कलाई सुधार गर्दैछौँ । त्यस्तै, कमिसनमा कटौती र takeaway.com सँग सम्झौताका कुराहरू पनि छन् । सटीक र GDPR नियमसँग सम्बन्धित कुराहरू पनि छन्, बीमा, लेखा, घरजग्गा, सप्लायरको हकमा छुट प्रदान गर्ने कुराहरू पनि छन् । त्यसको लागि हामीले हेल्प डेक्स राखेर वा च्यारिटी डिनर र कार्यशालाहरू आयोजना गरेर बेलाबेलामा बुझ्ने र जानकारी वितरण गर्ने काम भैरहेकै पनि छन् ।’

नवाबको वेबसाइडमा गएर हेऱ्यो भनेपनि उनीहरूले गर्दै आएका व्यवसायिक कार्यक्रम, सूचना पारदर्शिता, व्यवसायिक लगानी प्रोत्साहनका पहल, विभिन्न स्तरका व्यवसायिक तालिम र प्रदर्शनीबारे प्रसस्तै जानकारी पाइन्छ ।

बेल्जियमका यी उम्दा ब्यापारी र व्यवसायिक साथीहरूको लक्ष्य धेरै ठुलो छ र यी सब एकाध वर्षमा पूरा गर्न सकिने कुरा पनि हैनन् । यसको लागि निरौलाले भनेजस्तै कार्यक्रमिक निरन्तरता जरुरी हुन्छ । बेल्जियमका व्यवसायी टिमका केही पौरखीहरू विश्लेशणात्मक छन् । हरेक कोणबाट बुझेर मात्र ब्यवसायमा लगानी गर्न सुझाउँछन् । सबै कुरा छामेर जाँच्छन् । सबैतिर घुमेर छुन्छन् । म त भन्छु उनीहरू व्यवसायिक स्रष्टा भइसकेका छन्, पहिले द्रष्टा मात्र थिए, सेलेब्रिटी थिएनन् । रियल थिए, हाइपररियल थिएनन् । त्यसैले त अहिले ब्यवसायिक उन्नतिको शिखरमा नपुगेपनि आकाशतर्फ हेरेर माथि उक्लिँदैछन् बेनेलक्समा नेपाली व्यवसायीहरू ।

सबैले कामना गर्नैपर्छ, बेल्जियमका मात्र नभएर नेपाली डायस्पोरामा रहेका सम्पूर्ण नेपाली व्यवसायिक ‘कर्मी माहुरी’हरूको लक्ष्य निरन्तर पूरा हुँदै जाओस् । त्यसबाट बेल्जियमका मात्र नभइ डायस्पोराका सम्पूर्ण नेपाली व्यवसायीहरूले लाभ लिन सकुन् । व्यवसायीहरूको बेनेलक्स समितिको संयोजक यामु निरौलालगायत टिमलाई बधाई ! बेल्जियमको आगामी अधिवेशनबाट नयाँ डाइनामिक टिम निर्माण गर्दै डायस्पोराका नेपालीहरूको व्यवसायिक उन्नति र प्रगतिको लागि नेपाली व्यवसायी संघ विश्वविद्यालय जस्तै पवित्र रही व्यवसायिक लक्ष्य चुम्न सकोस्, यही नयाँ वर्ष २०२३ को शुभकामना !