पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत

पोखरा विमान दुर्घटना : शोकमा डुब्यो पर्वत


photo: rss

आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ ।

दुर्घटनामा परी कुश्मा नगरपालिका-१४ आर्थर डाँढाखर्कनिवासी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा-९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा-१ पाङकी रचना काफ्ले र उनका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो ।

त्यसैगरी मोदी गाउँपालिका-१ भुकताङ्लेका विजय गुरुङ, विहादी-५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्मा रहेका छन् । शर्मा परिवारमा आमा, छोरा, नाती र नातिनी एउटै विमान दुर्घनामा परेर अकल्पनीय निधन भएको हो । उनीहरु यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न पुगेका थिए ।

दुर्घटनामा ज्यान गुमाउने कुश्मा-९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ की प्रसिद्धी पौडेल विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाट गर्नका लागि गएका बुझिएको छ । काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने प्रसिद्धी जन्मघर पर्वत पुग्ने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिएका छन् ।