एनआईसी एशिया : मुलुकमा सर्वाधिक बैंकिङ सञ्जाल बिस्तार गरेको बैंक

एनआईसी एशिया : मुलुकमा सर्वाधिक बैंकिङ सञ्जाल बिस्तार गरेको बैंक


एनआईसी एशिया बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको छ ।

गत पुष २९ गते गते काठमाडौंको तिलगंगास्थित होटल आनन्दमा सम्पन्न साधारणसभाले गत कात्तिक २ गते सम्पन्न सञ्चालक समितिको ५७१औँ बैठकको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा वसौटी-६, कैलाली स्थायी ठेगाना भइ हाल शान्तिनगर–३१, काठमाडौं निवासी केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदनसमेत गरेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल बिस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल बिस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको जनाइएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुऱ्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू. ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाइ समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको सो बैंकको दाबी छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको नायब प्रमुख कार्यकारी अधिकृत तथा बैंकका प्रमुख सूचना अधिकारी सुधीर नाथ पाण्डेङारा जारी विज्ञप्तिमा जनाइएको छ ।