एनआरएन बेल्जियमद्वारा सदस्यता वितरण प्रक्रिया शुरु

एनआरएन बेल्जियमद्वारा सदस्यता वितरण प्रक्रिया शुरु


  • सनत आचार्य, काठमाडौं

गैरआवासीय नेपाली संघ बेल्जियमले आर्थिक वर्ष ०२३–०२५ का लागि नयाँ सदस्यता वितरण र पुराना सदस्यहरूको नवीकरण प्रक्रिया खुल्ला गरेको छ ।

संघले जारी गरेको सूचनामा संघको सदस्यता लिन र नवीकरण गर्न इच्छुक व्यक्तिले यही जनवरी १५ देखि जुन १५ राति १२ बजेसम्मको अवधिमा अनलाइनमार्फत सदस्यताको फाराम भरेर सदस्य बन्न सक्ने जनाइएको छ ।

सोको लागि गुगल प्ले वा एप स्टोरबार स्मार्ट एनआरएनए डाउनलोड गरी एपले भनेअनुसारको विवरण प्रदान गरी सदस्यता लिन सकिने सूचनामा जनाइएको छ ।

संघका महासचिव एवम् सदस्यता वितरण तथा नवीकरण समितिका संयोजक रमेश कँडेलका अनुसार विगतमा सदस्यताकै कारणले बेल्जियममा अप्रिय घटनाहरू समेत घटेको हुँदा यसपटक संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा सदस्यता वितरण गर्ने र सोको लागि अत्यन्त पारदर्शी एवम् निष्पक्ष रुपले संघको सदस्य बन्न इच्छुक गैरआवासीय नेपालीहरूले स्वस्फूर्त रुपमा सदस्यता लिन र दिन यो विधि अपनाइएको हो ।

महासचिव कँडेलले यो पटक इमेल, फोन र म्यासेन्जरमार्फत आएको सदस्यता फारामहरूलाई मान्यता नलिने संघको नीति रहेको सदस्यता लिन इच्छुक जो कोहिले स्मार्ट एनआरएन एपमार्फत नै जानुपर्ने जानकारी दिनुभयो ।

त्यस्तै, गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले विगतको अनुभव र सिकाइका आधारमा संघका सदस्यहरूको सल्लाह सुझावअनुसार आफूहरूले सदस्यता वितरण प्रक्रियालाई प्रविधिमार्फत अघि बढाएको बताउनुभयो ।

अध्यक्ष केसीले विगतमा फाइदाका लागि आवश्यकता भन्दा बढी सदस्य बनाउने प्रचलन भएको र यसले संघमा सदस्य संख्यामात्र बढाउने काम भएको हुँदा यो पटक आफूहरूले संख्या भन्दा पनि क्वालिटी सदस्य बनाउन प्रेरित भएको बताउनुभयो ।

त्यस्तै संघले जारी गरेको सूचनामा सदस्यताको स्वीकृति संयोजकलाई मात्र हुने र आवश्यकता अनुसार केन्द्रको स्वीकृति अनुसार थप केही सदस्यहरूलाई पहुँच दिन सकिने, सदस्यता लिन चाहानेले नै अनलाइन फारम भर्नुपर्ने, सोको लागि मुहारबाट प्रमाणित गर्ने, एक परिवार वा समुहले एकै पटक १० जनासम्मको सदस्यता भर्न सकिने, यसका लागि १०० युरो भन्दा बढी बैंक दाखिला गर्न नपाइने, नगद पैसामार्फत सदस्यता लिन नमिल्ने जनाइएको छ ।

स्मरण रहोस्, आर्थिक वर्ष ०२१–०२३ मा सम्पन्न हुने निर्वाचनलाई मध्यनजर गरी संघको निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिहरूले सदस्यता वितरण प्रकृयाको दुरुपयोग गरी सदस्यहरूको गलत विवरण भरी सदस्यता वितरण गरिएकोमा नेपालस्थित परराष्ट्र मन्त्रालयमा समेत उजुरी परेको थियो । उक्त उजुरीको आधारमा मन्त्रालयले सदस्यता वितरणसम्बन्धी विषयमा जाँचबुझ समेत गरेको थियो ।

क्षेत्री समाजका सचिव विनेश थापाले यो पटक गैरआवासीय नेपाली संघले सदस्यता वितरणसम्बन्धी अपनाएको प्रविधिले विगतमा भए–गरेजस्तो अनियमितता नहुने बताउनुभयो ।

संयुक्त किरात समाजका सचिव दौलतकुमार साम्बाले यसपटक एनआरएनए बेल्जियमले अपनाएको सदस्यता वितरण प्रक्रियाको प्रशंसा गर्दै संघमा शुद्धिकरणको आवश्यकता भएकोले सदस्यता वितरण प्रक्रियाले शुद्धिकरण ल्याउने अपेक्षा व्यक्त गर्नुभयो ।

संघकी सदस्य मैया नेपालले सदस्यता वितरण प्रकृयालाई कडाइका साथ लागु गर्नु राम्रो भएको उल्लेख गर्दै आगामी दिनमा सदस्य संख्या थोरै भएता पनि संघप्रति चासो र चिन्ता व्यक्त गर्नेहरूले मात्र लिनसक्ने बताउनु भयो ।