भीम-दुर्योधन संवाद

भीम-दुर्योधन संवाद


  • बलराम उपाध्याय सिलवाल

अन्धोको छोरो अन्धो छ मति, नातागोता नै मान्दैन ।
शकुनीको झेल तेरो खेल, पाँच पाण्डवलाई गन्दैन ।।

भाते भतुवा ओछ्यान मुतुवा, बकबक किन गर्दोछस् ?
पाँच पोइले माता हावा तेरो बाऊ, के ख्यास्छस् ख्यास् ?

ऋतुमति ब्वारीको सभामा गुहार, अरण्यरोदन भो ।
छाती फोरी घटघटी पिउँछु रगत, प्रतिज्ञा छ मेरो यो ।।

विराटेको भान्से पुट्ठो तेरो थुन्से, बायाँ हातको भावी तँ ।
नमारी सन्तोक हुन्न मलाई, कसैगरी छोड्दिनँ तँलाई त ।।

भाँच्छु जङ्घा कुच्याउँछु टाउको, तँलाई स्यालले घिसार्ला ।
तँ जस्ता धेरै मास छर्न गए, मरण तेरो कस्तो पो होला ?

घन्टाउके मुर्दार चोरको सर्दार, बुद्दि तेरो रत्ति छैन नि ।
अगस्ति घिचुवा तोर्मे पछुवा, कालले तँलाई लान्न नि ।।

दुर्मुखा घामट जुम्र्या मोरो, भगवान् कृष्णको शरण पर ।
अर्ति मेरो मान्दैनस् कवै भने, पर्छस् रौरव नरकमा अभर ।।

तेरो कृष्णे केको भगवान्, गोपिनीहरूको नकच्चरो भाले ।
रैंतालो मच्चायो पाण्डव कौरवमा, कहीं नभाको धुर्त काले ।।

भगवान् कृष्णको नाम लिनु छ बढिया, दुर्बुद्दि तेरो सपार ।
सात जुनी नतर्ने मति तेरो घटिया, रालपीपमा डल्लो पर ।।

कालेको नाम लिनु साटो, कंश सम्झनु निको मान्छु म ता ।
पाँच पोईको साझा जोई द्रौपदी, अनैतिक पापिनी त्यो ता ।।

  • भण्डारा, चितवन