एनआरएन क्षेत्री मलेसियाका लागि पर्यटन सद्भावना दूत नियुक्त

एनआरएन क्षेत्री मलेसियाका लागि पर्यटन सद्भावना दूत नियुक्त


लामो समयदेखि गैरआवासीय नेपाली सङ्घ एनआरएनएसँग आबद्ध रहँदै नेपालको पर्यटन क्षेत्रका बारेमा सक्रिय नन्दबहादुर क्षेत्रीलाई सरकारले मलेसियाका लागि पर्यटन सद्भावना दूत (टुरिजम गुडविल एम्बेसडर)मा नियुक्त गरेको छ ।

नेपालको पर्यटन क्षेत्र र विधामा सक्रिय रहँदै आएका क्षेत्रीले पर्यटन विधामा खेलेको अहम् भूमिका र निरन्तरताको फलस्वरूप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार वर्षका लागि मलेसियाका लागि पर्यटन सद्भावना दूतका रूपमा नियुक्त गरेको हो ।

मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार लामो समयदेखि पर्यटन क्षेत्रमा लागि पर्दै आएका क्षेत्रीलाई मन्त्रीस्तरीय निर्णयानुसार पर्यटन सद्भावना दूतका रूपमा नियुक्त गरिएको हो ।

नवनियुक्त सद्भावना दूत क्षेत्रीले नेपालको पर्यटन विकासमा आफूले सक्दो काम गर्ने र मलेसियाका पर्यटकलाई नेपाल भ्रमण गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सन् २००५ देखि मलेसियामा रहेका क्षेत्रीले ट्राभल्स, टुर्सलगायतका विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् ।