आराका डडेल्धुराद्वारा ६ महिना अवधिमा २१ करोड बढी राजश्व संकलन

आराका डडेल्धुराद्वारा ६ महिना अवधिमा २१ करोड बढी राजश्व संकलन


  • डम्बर निदाल, डडेल्धुरा

आन्तरिक राजस्व कार्यालय डडेल्धुराले चालु आर्थिक वर्षको ६ महिना अवधिमा २१ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

डडेल्धुरासहित सुदुरपश्चिम प्रदेश अन्तरगतका बैतडी, बझाङ्ग र दार्चुलाका जिल्ला पनि कार्य क्षेत्र रहेको आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २१ करोड बढी राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको छ महिनामा २१ करोड ८७ लाख रुपैंया संकलन भएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ ।

तथापि, लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको आन्तरिक राजस्व कार्यालय डडेलधुराले जनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कमा लक्षित कर संकलन नभएको बताइएको छ ।

डडेल्धुरा, बैतडी, बझाङ्ग र दार्चुलाका लागि सेवा क्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लक्ष्य राखिएको १४ करोड ७ लाखमा २१ करोड ३५ लाख राजस्व संकलन भए पनि चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लक्ष्य राखिएको ३० करोड ५६ लाख मध्ये २१ करोड ८७ लाख मात्र राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख करअधिकृत तीर्थराज बरालले जानकारी दिए ।

कार्यालयमा व्यवसाय आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, घरबहाल कर तथा पूँजिगत खर्चमा साँवाबाहेकको ब्याजकर लगायतका शिर्षकमा राजस्व संकलन हुने गरेको छ ।

आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा आयकरतर्फ ४३ हजार ४०४, मूल्य अभिबृद्धि कर तर्फ ३५३५ र अन्तःशुल्क तर्फ ३६३९ सहित सरकारी निकाय श्रोतमा करकट्टी अग्रिम आयकर १४०३ र व्यक्तिगत स्थायी लेखा नम्बर बाहक करदाता गरि जम्मा ४९ हजार ८९४ करदाता रहेका छन् ।

विनियोजित अनुसारको सरकारी बजेट रकम अथवा पूँजिगत खर्च नहुँदा छ महिनामा राजस्व घटेको तर आर्थिक वर्षको अन्तिममा पूँजिगत खर्च प्रगति बढने भएकोले अषाढ मसान्तमा लक्ष्य हासिल हुन सक्ने अनुमान पनि गरिएको छ । कार्यालयको गत आ.व. मा वार्षिक लक्ष्य ५८ करोड रहेको थियो भने चाल आ.व. मा ६८ करोड २० लाख वार्षिक लक्ष्य निर्धारण गरिएको छ ।

डडेल्धुरामा आन्तरिक राजस्व कार्यालय खुले पछि सुदूरपश्चिम प्रदेशको ७ वटै पहाडी जिल्लाका करदातालाई कैलाली र कञ्चनपुर पुग्नु पर्ने बाध्यता हटेको मात्र छैन सबै सेवाहरु इन्टरनेट सर्भरबाट दिन थालेपछि छिटोछरितो र चाप नहुने भएकोले समयमै काम हुनेहुँदा सेवाग्रही खुशी पनि भएका छन् । कर कार्यालयमा आउने सेवाग्राहीका लागि कार्यालय अगाडी खुलेका आधा दर्जन बढि अनलाइन सर्भिस फर्महरुले सेवाग्राहीलाई सहजीकरण र आवश्यक सेवासुविधा पनि प्रदान गरेका छन् ।