लगानी डुबाउने सहकारीविरुद्ध विरोधर्‍याली

लगानी डुबाउने सहकारीविरुद्ध विरोधर्‍याली


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत रकम फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । बचत अपचलनका कारण संकटमा फसेको सहकारीका बचतकर्ताले डुबेको लगानी फिर्ताको माग गर्दै आइतबार दिक्तेलबजारमा विरोधर्‍याली निकालेका गरेका हुन् ।

सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता प्रदर्शनमा उत्रिएका हुन् । डुबेको साँवा र ब्याज फिर्ता गर्नका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेका हुन् ।

विरोधर्‍यालीका क्रममा सहकारीपीडित बचतकर्ताले केहीबेर लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय घेराउ गरेका छन् । बचतकर्ताले र्‍यालीपछि जिल्ला प्रशासन कार्यालय र नगरपालिका पुगेर न्याय माग गरेका छन् । १२ प्रतिशतका दरले व्याज दिने भनेर राखेको चार लाख पटक–पटक फिर्ता गर्न माग गर्दा नपाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी कल्पान बस्नेतले बताइन् ।

वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ १० मंसिर २०७२ देखि कारोबार सुरु गरेको सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजना लगानीकर्ताले ४५ लाखसम्म बचत गरेका छन् । तर, सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते निधन भएपछि मात्र खुलेको हो ।

जोशीको निधनपछि सहकारीको आर्थिक कारोबार ठप्प छ । सहकारीका ऋणीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । बचतकर्तालाई साँवाव्याजसहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाब छ । ऋण असुल गर्दै बचतकर्तालाई बचत फिर्ता दिने पहल भइरहेको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताए ।