प्रतापपुरमा सार्वजनिक सुनुवाइ

प्रतापपुरमा सार्वजनिक सुनुवाइ


– आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनवाइ कार्यक्रममा गाउँपालिकाले दिइरहेको सेवा-सुविधालाई अझ बढी पारदर्शी र विश्वसनीय ढङ्गबाट नागरिकसमक्ष पुऱ्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिएका छन् ।

करिब ५५ हजार जनसंख्या रहेको प्रतापपुर गाउँपालिकामा १ देखि ९ वडा रहेका छन् भने झुपडीदेखि महलसम्म सबैको पहुँच हुनुपर्ने स्वास्थ्य, शिक्षा, खानेपानी, सडक जस्तो प्रत्यक्ष सरोकारका विषयमा नागरिक अधिकारलाई सहज ढंगबाट पुऱ्याइनुपर्ने कुरामाथि सुनवाइ कार्यक्रममा जोड दिइएको थियो ।

‘हामी सबैको सार्थक प्रयास प्रतापपुर गाउँपालिकाको समग्र विकास’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सार्वजनिक सुनवाइ कार्यक्रममा शैक्षिक अवस्थामा सुधार, स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको प्रयोग, कृषिको क्षेत्रमा ग्रामीण विद्युतिकरण प्रभावकारी हुनुपर्ने, रासायनिक मलको आपूर्ति बढाइनुपर्ने लगायत सरोकारका विषयबारे सुनवाइ कार्यक्रममा ध्यानाकर्षण गराइएको थियो ।

सुनवाइ कार्यक्रममा पालिकाअध्यक्ष यादव, उपाध्यक्ष मानकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे र सम्बन्धित वडाअध्यक्षले उठेका जिज्ञासामाथि पालिका र वडाहरूको दृष्टिकोण प्रष्ट्याएका थिए ।

आर्थिक वर्ष ०७८/०७९ अन्तर्गत भएका विकास निर्माण र नागरिककेन्द्रित कार्य समाधान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पालिकाका विभिन्न शाखा प्रमुखहरूले शाखाअन्तर्गतको उठेको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा पालिकाअन्तर्गतका वडाहरूमा हुने कार्यक्रमबारे स्थानीय सञ्चारकर्मीहरुलाई सहभागिता नगराइएको बारे केही सञ्चारकर्मीले सुनवाइ कार्यक्रमबीच ध्यानाकर्षण गराएका थिए ।