‘भारत-नेपाल स्टार्टअप कनेक्ट’को आयोजना

‘भारत-नेपाल स्टार्टअप कनेक्ट’को आयोजना


भारत र नेपालका ‘स्टार्टअप’हरूलाई एक ठाँउमा ल्याउन काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा मंगलबार (१० माघ) ‘भारत-नेपाल स्टार्टअप कनेक्ट’को आयोजना गऱ्यो ।

भारत र नेपालका स्टार्टअपहरु बीच सम्पर्क बिस्तार गर्ने उद्देश्यले भारतीय स्वतन्त्रताको ७५ वर्ष र भारत-नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुख्य अतिथि रहनुभएको थियोे ।

कार्यक्रमको उद्घाटन सत्रमा मन्तव्य दिँदै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी-२० को अध्यक्षता र जी-२० फाइनान्स ट्रयाकमा नेपालको सहभागिताबारे चर्चा गर्नुभयो । वहाँले वित्तीय समावेशीकरण र स्टार्टअपमा JAM trinity (Jan Dhan Yojana, Aadhaar and Mobile Number) जस्ता डिजिटल सामाग्रीको महत्वबारे पनि चर्चा गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर एवम् कार्यक्रमका मुख्य अतिथि महाप्रसाद अधिकारीले डिजिटल नेपालको विषयमा विस्तृतमा जानकारी दिनुका साथै नेपालले आर्थिक वर्ष २०७९/०८० (सन् २०२३) लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षको रुपमा मनाउने तयारी गरेको बारे जानकारी दिनुभयो । वहाँले अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रुपमा पहिचान गर्दै भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले ‘नेपालमा स्टार्टअप अवसरहरू’ विषयमा प्रस्तुति दिनुभयो भने स्टार्टअप इन्डियाका अनुभव कुमार दासले ‘स्टार्टअप इन्डिया स्किम’ विषयमा प्रस्तुति दिनुभयो ।

सन् २०१६ जनवरी १६ मा सुरु गरिएको स्टार्टअप इन्डिया स्किमले भारतमा ४२०० भन्दा बढी स्टार्टअपलाई आफ्नो फन्ड र सीड फन्डमार्फत सहयोग पुऱ्याएको बताइएको छ । सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारे Paynearby का प्रमुख कार्यकारी अधिकृत आनन्द बजाजले जानकारी दिनुभयो ।

पहिलो चरणको छलफल भारत र नेपालबीच ई-कमर्श र फिनटेक क्षेत्रमा अवसरहरुबारे केन्द्रित थियो । Sastodeal प्रमुख कार्यकारी अधिकृत अमुन थापाले ‘फ्लिपकार्ट’सँगको सहकार्यबारे बताउनुभयो । F1 Soft का अध्यक्ष विश्वास ढकालले FonePay र eSewa भुक्तानी सेवाहरुबारे जानकारी दिनुभयो । त्यस्तै T00tle का प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले ई–कमर्श, लजिस्टिक तथा डिजिटल भुक्तानीले कसरी एकसाथ काम गर्छ भन्ने बारे प्रस्तुति दिनुभयो भने भारतीय फिनटेक कम्पनी LeverageEdu का अक्षय चतुर्वेदीले नेपाली बजारमा आफ्नो कम्पनीले गरेको विस्तार बारे जानकारी दिनुभयो ।

दोस्रो चरणको छलफल नेपाली स्टार्टअपका लागि फन्डिङ्ग अवसरहरुबारे केन्द्रित थियो । Team ventures का प्रमुख कार्यकारी अधिकृत तेन्जिङ्ग गोन्सारले नेपाली फन्डिङ्ग इकोसिस्टमबारे जानकारी दिनुभयो । भारतका Projects & Startups, Internet and Mobile Association का अध्यक्ष सन्दीप झिंग्रानले प्रारम्भिक चरणमा रहेको आफ्नो प्रोग्राम Mobile 10X बारे विस्तृत जानकारी दिनुभयो । भर्चुअलि कार्यक्रममा सहभागिता जनाउनुभएका Hyderabad Angles का प्रमुख कार्यकारी अधिकृत रत्नाकर सामवेदमले THub को विशेष PPP मोडलबारे बताउनुभयो । वहाँले तेलाङ्गना र नेपालका स्टार्टअप इकोसिस्टमबीचको समानता बारे पनि बताउनुभयो । स्टार्टअप व्यवसायमा आबद्ध हुन चाहनेहरुका लागि स्टार्टअप इन्डिया स्किमबाट सिकेका पाठहरु र सीड फन्ड मोडल बारे पनि जानकारी दिइयो ।

भारत-नेपाल स्टार्टअप कनेक्टलाई प्रवर्धन गर्न हेतु भारतीय दूतावासले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने दूतावासले जनाएको छ । यस सम्बन्धका थप जिज्ञासा भए दूतावासको वाणिज्य प्रभागको इमेल [email protected] मार्फत जानकारी लिन सकिने जनाइएको छ ।