साह परिवारद्वारा विद्यालयलाई जग्गा प्रदान

साह परिवारद्वारा विद्यालयलाई जग्गा प्रदान


धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ११ इनर्वानिवासी राम एकवाल साह, प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार रामभरत साह र विजय शंकर साहले आफ्ना स्वर्गीय पिता रामसागर साहको नाउँमा सगोलमा रहेको पाँच कट्ठा जग्गा स्थानीय विद्यालयलाई प्रदान गरेका छन् । सोही परिवारका रामदेव साहले १ कट्ठा १८ धुर र श्याम किशोर साहले ५ कट्ठा जग्गा सोही श्री जनता राष्ट्रिय प्राथमिक विद्यालयलाई स्तरोन्नतिका निम्ति दान दिएका छन् । उक्त विद्यालयको नाउँ परिवर्तन गरी केश्वर साह–गेनियाँ देवी राष्ट्रिय प्राथमिक विद्यालय गरिने सर्वसम्मत निर्णय भएको छ ।

प्रदान गरिएको जग्गामध्येमा साह परिवारको लगभग एक बिगाह रहेको पोखरीसमेत विद्यालयलाई दान गरिएको छ । केश्वर साह र गेनियाँ देवीका तीन पुत्र रामरतन साह, रामसागर साह र रामसोभित साहको सगोलमा रहेको सो पोखरीको सौन्दर्यीकरण गरी उत्तर डील केश्वर साह गेनियाँ देवी, पूर्वी डिल राम रतन साह रमिया देवी, पश्चिमी डिल राम सागर साह र शारदा देवी र दक्षिणी डिल राम सोभित साह र सुगनी देवी घाट नामाकरण गर्ने र उत्तरी डिलमा रहेको मनकामना सिद्ध हनुमान मन्दिर र सोही डिलमा रहेको शिवलिङ्ग मन्दिरको पुनःनिर्माण र अब उप्रान्त पूजाआजाको सबै जिम्मा विद्यालयले गर्नेसमेत सर्व सम्मत निर्णय गरिएको छ ।

जनता राष्ट्रिय प्राथमिक विद्यालय इनर्वामा भएको सर्वपक्षीय भेलामा सबैला न.पा.का मेयर कारीराम यादव, उपमेयर श्रीमती रहिमा खातुन, सोही न.पा.का.वडा नं. ९ का वडाध्यक्ष मनिष राय, नेपाल बार एसोसिएशन धनुषाका पूर्वअध्यक्ष अधिवक्ता रामनेक साह, वडा नं. ११ का पूर्व वडाध्यक्ष विशेश्वर यादव, उत्तिम यादव, दुलारचन्द यादव, भोला यादव, समसुल शेषलगायत सयौँको संख्यामा गाउँका भद्रभलादमी, शिक्षक, कर्मचारी, व्यापारी, किसान, मजदुर युवा तथा महिलाहरु लगायतको सो अवसरमा गाउँवासीहरुको उपस्थिति रहेको थियो । एजुकेशनल हबको रुपमा निर्माण गर्ने सोच लिएका सबैला न.पा. वडा नं. ११ का वडा अध्यक्ष ई. सरोज यादवले वर्तमानमा सो कार्यका लागि वडाले आफनो बजेटबाट रु. ४४ लाख र न.पा.ले रु.६० लाख गरि कूल रु. १ करोड ४ चाख छुट्याएको वडा अध्यक्ष यादवले जानकारी गराए । उक्त कार्यक्रम वडा अध्यक्ष ई. सरोज यादवको अध्यक्षता र मेयर कारीराम यादवको प्रमुख आतिथ्य तथा उपमेयर रहिमा खातुनको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।