एनआईसी एशियाका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट

एनआईसी एशियाका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट


‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकहरूलाई भक्तपुरस्थित ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने समझदारी भएको छ । सोसम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रा.डा. अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा 3D CRT, IMRT, VMAT, Palliative Care र TBI (Total Body Radiation) उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यो बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू. ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाइ समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।