आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने

आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने


शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका हुन् ।

“आत्मदाह गर्नुभएका प्रेमजीले गम्भीर विषय उठाउनुभएको थियो, उहाँले आफू अन्यायमा परेको विषय पनि उठाउनुभएको थियो, ती विषयमा गृह मन्त्रालयले नै तदारुकताका साथ छानबिन गर्ने र सत्यतथ्य बाहिर आइसकेपछि आवश्यक कदम चाल्ने निर्णय भएको छ”, गृहमन्त्री लामिछानेको भनाइ छ ।

गृहमन्त्रालयले यस विषयमा काम अघि बढाउने जानकारी दिँदै उनले छानबिनका लागि समिति गठनको आवश्यकता अहिले नदेखिएको, तर आवश्यक परेको खण्डमा समिति गठन गरिने बताए ।

इलामका व्यवसायी आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वर सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई उद्धार गरी र्कीतिपुरस्थित बर्न अस्पतालमा लगिएको र उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको थियो ।

उनले आफ्नो शरीरमा आगो लगाउनु अघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर आफूले भोगेका घटना उल्लेख गरेका थिए । अब उनले उठाएका विषयबारे गृहमन्त्रालयले छानबिन गर्ने अपेक्षा गरिएको छ ।