कुइरोको काग बनिरहेछ काङ्ग्रेस !?

कुइरोको काग बनिरहेछ काङ्ग्रेस !?


एकतिर सभापति असफल भए भन्दै शेरबहादुर देउवाविरुद्ध गुटभेला गरिँदै छ भने उनै देउवाको पदचाप पछ्याउँदै काङ्ग्रेसका ‘आशलाग्दा युवा’हरू प्रचण्डकै प्रतापबाट काङ्ग्रेसले राष्ट्रपति पाउने आशमा ऱ्याल चुहाउँदै छन् । पोल्टाबाट भएभरको गुम्न लाग्दा जोगाउन रत्तिभर उपाय सोच्न नसक्नेहरू अब आएर ‘आलङ्कारिक’ राष्ट्रपति प्राप्तिको खेलमा खुबी खर्चिंदैछन् ।

आफ्नो हातमा भएको सर्वसत्ता आफ्नै नालायकीले गुमाएपछि नेपाली काङ्ग्रेसमा अन्तरविरोध बढेको छ । पुनः गुट भेला आयोजना हुन थालेका छन् भने संस्थापन पक्ष भनिने देउवा समूहजस्तै संस्थापनइतर समूह पनि दिग्भ्रमित देखिएको छ । यस समूहका नेताहरूको बोली र व्यवहारबीचको भिन्नता, फितलो अडान र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले सिङ्गो काङ्ग्रेस पार्टीको भविष्य नै धरापमा परेको अनुभूति हुन थालेको छ ।

तत्कालिक प्रधानमन्त्री केपी ओलीलाई ‘प्रतिगमनको प्रतीक’ भन्दै ओली-सरकारविरुद्ध गर्जन गरेको र परमादेशी सरकार गठनसम्मको प्रक्रिया अपनाउँदै ‘प्रतिगमन’विरुद्ध गठबन्धन बनाएर निर्वाचनमा गएको काङ्ग्रेसले मङ्सिर ४ को निर्वाचनपछि उनै केपी ओलीको नायकत्वमा बनेको सरकारलाई विश्वासको मत प्रदान गरेर अनौठो इतिहास रचिदियो ! गठबन्धन कम्तीमा बीस-पच्चीस वर्ष नटुट्ने बाचा गरेका प्रचण्डले जति सजिलै आफ्नै वचनविपरीत काङ्ग्रेससँगको गठबन्धन तोडेर एमालेसँग जोडिन पुगे, त्यसरी नै अपेक्षाविपरीत काङ्ग्रेसले प्रचण्डलाई विश्वासको मत प्रदान गरिदियो । संसद्मा प्रमुख प्रतिपक्षीको सम्मानित र दमदार स्थानमा रही भूमिका निर्वाह गर्ने र खस्किएको आफ्नो हैसियत उकास्ने सोच काङ्ग्रेस नेतृत्वमा पलाएन, जबकि आम अपेक्षा र अनुमान त्यही थियो, स्वभाविक पनि त्यही हुन्थ्यो अनि इज्जत पनि धानिन्थ्यो । यसरी अविश्वसनीय र हास्यास्पद निचोडमा काङ्ग्रेस नेतृत्व पुग्नुको अर्थ थियो- सभामुख र राष्ट्रपति पद हात लगाउनु ! प्रचण्डको कमिजको फेर समातेर उक्त स्थान हत्याउने काङ्ग्रेसको ‘बचकाना’ अभीष्टमा निकै हदसम्म धक्का लागिसकेको छ । अर्थात्, सभामुख पदमा एमालेले शानदारसँग आफ्नो उम्मेदवारलाई विराजमान गराइसकेको छ । यति हुँदा पनि काङ्ग्रेस नेताहरूको चेत फिरेको छैन, बरु अबको राष्ट्रपतिचाहिँ आफूहरूले चाहेकै व्यक्ति चुनिने उद्घोष गर्दैछन् उनीहरू । संस्थापन पक्षभन्न्दा एक कदम अघि बढेर इतरपक्षीय नेताहरू राष्ट्रपतिको स्थान हात पार्न हौसिएका छन् । यसैबाट स्पष्ट हुन्छ- सिङ्गो काङ्ग्रेस कसरी ‘पङ्गु’ समूहमा रूपान्तरित हुँदैछ !

एकतिर सभापति असफल भए भन्दै शेरबहादुर देउवाविरुद्ध गुटभेला गरिँदै छ भने उनै देउवाको पदचाप पछ्याउँदै काङ्ग्रेसका ‘आशलाग्दा युवा’हरू प्रचण्डकै प्रतापबाट काङ्ग्रेसले राष्ट्रपति पाउने आशमा ऱ्याल चुहाउँदै छन् । पोल्टाबाट भएभरको गुम्न लाग्दा जोगाउन रत्तिभर उपाय सोच्न नसक्नेहरू अब आएर ‘आलङ्कारिक’ राष्ट्रपति प्राप्तिको खेलमा खुबी खर्चिंदैछन् । राजनीतिको माध्यमबाट जनताले खोजेका कुरा ‘डेलिभर’ गर्ने र त्यसका लागि आफूहरू योग्य रहेको हुङ्कार गर्नेहरू यसरी पिन्चे राजनीतिमा अड्किएलान् भनी यिनका प्रशंसक वा पछुवाहरूको त कुरै नगरौँ, विरोधि वा आलोचकले समेत अनुमान गरेका थिएनन् ।

यतिबेला काङ्ग्रेसको संस्थापनइतर समूह भन्दैछ- ‘प्रचण्डलाई विश्वासको मत दिनु गलत थियो !’ यसरी गलत भन्नेहरूले नै विश्वासको मत दिएर प्रचण्ड इतिहासकै सर्वाधिक समर्थन वा विश्वास प्राप्त गर्ने प्रधानमन्त्री बनेका छन् । आँखा चिम्लिएर समर्थनमा भोट दिइसकेपछि लगत्तै विरोध जनाउनुजत्तिको विरोधाभास र हास्यास्पद कुरा के होला ? प्रमुख प्रतिपक्षीय पहिचान नै गुम्ने गरी कदम बढाउँदा यिनका विवेकमा कुन रसायनको बिर्को लागेको थियो होला ? धन्य हो, संसद् सचिवालयले उसलाई ‘प्रमुख प्रतिपक्षी दल’को बर्को ओढाएर लाज ढाकिदिएको छ । उल्लिखित प्रश्न यसकारण सान्दर्भिक तथा महत्वपूर्ण बन्न पुगेको छ कि यस्तै रवैया प्रदर्शन गर्दै काङ्ग्रेसका यी नेताहरू आफू कहाँ पुग्लान् र समस्त काङ्ग्रेसजनलाई कहाँ पु¥याउलान् ! जसले आफ्नै दशा र दिशा खुट्याउन सकिरहेका छैनन्, तिनका पछि लाग्ने कार्यकर्ताले मुलुकका लागि के योगदान दिन सक्लान् ?!

यसरी कुइरोको काग बनेको समूहको भेलाले काङ्ग्रेसको पन्ध्रौँ महाधिवेशनको लागि अहिले नै शेखर कोइरालालाई सभापतिको उम्मेदवार घोषणा गर्न प्रस्ताव गरेको सार्वजनिक भएको छ । गजब छ ! वर्तमान समस्या निराकरणको छेउटुप्पो भेउ नपाउनेहरूले भविष्यका लागि कोइरालालाई प्रस्ताव गरुन् वा थापालाई, कुनै गुरूङलाई गरुन् या खड्कालाई, कुनै तुक रहन्न । र, आफ्नै दलभित्रको दलदलमा धसिँदै गएकाहरूले सिङ्गै नेपाल र नेपालीको उद्दार गर्लान् भन्नेमा अब विश्वास गरिरहनु आवश्यक छैन, गर्न पनि सकिन्न । खासगरी आफूलाई प्रजातन्त्रको पहरेदार दल नेपाली काङ्ग्रेसको कार्यकर्ता भनी गर्व गर्न रुचाउने काङ्ग्रेसजनले यो महसूस गरुन् । अन्यथा वामपन्थीकरणमा रुपान्तरित काङ्ग्रेसले अन्ततः अस्तित्व गुमाएको हेर्ने मानसिकता विकास गर्नुको विकल्प नरहला ।