लमहीमा कृषि पर्यटन तथा व्यापार महोत्सव शुरु

लमहीमा कृषि पर्यटन तथा व्यापार महोत्सव शुरु


आर्थिक मन्दीका कारण घटे दर्शक

  • सनत आचार्य, दाङ

‘कृषि पर्यटन, उद्योग र व्यापार, देश समृद्धिको मुल आधार’ भन्ने नाराका साथ दाङको लमहीमा छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव २०७९ आयोजना भएको छ ।

माघ १२ गतेबाट सञ्चालन भएको मेलामा विगत वर्षको तुलनामा यस वर्ष दर्शकको संख्या न्युन भएको मेला आयोजक देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए ।

अध्यक्ष खनालले हिउँदमा मेला लगाउने चलन पहिलेदेखि भएको उल्लेख गर्दै उनले ग्रामीण कृषिको प्रवर्धन, स्थानीय व्यापार–व्यवसायको प्रचार तथा पूंजी र बजारलाई चलायमान बनाउन आफूहरूले मेला आयोजना गरेको बताए ।

उनले मेलाको मुख्य आकर्षण भनेको गाउँमा भएको पुरानो प्रविधि, सीप र बस्तुहरू नयाँ पुस्तालाई जानकारी गराउनु रहे पनि आर्थिक मन्दीका कारण दर्शक र क्रयशक्ति कम भएको उनको भनाइ छ । खनालले भने- ‘बजारमा त आर्थिक मन्दी थियो नै, दर्शकहरूको न्यून उपस्थिति र मेलामा किनबेचको औषतले मन्दी सबै ठाउँमा प्रवेश गरिसकेछ ।’

अध्यक्ष खनालले मेला ग्रामीण उत्पादन र बजारको मिलनबिन्दु भएकोले आफुहरूले लोप हुँदै गएको पुराना भाँडाकुँडा, माटोका भाँडाकुँडा, खुकुरी, बाबियोबाट बनेको ढकिया जस्ता बस्तुहरूको समेत प्रचारप्रसार गरी ग्रामीण उत्पादनलाई बजारमा ल्याउन मेलाले मद्दत गरेको बताए ।

मेलाले थारु, अएर, मगर लगायतको कला-संस्कृतिको जगेर्ना गर्न भूमिका निर्वाह गरेकोमा खनालले सन्तोष व्यक्त गरे ।

अध्यक्ष खनालले गाउँमा उत्पादित कृषिबस्तुहरू मेलामा राख्नु र त्यसको प्रचारप्रसार गर्नु भएता पनि स्थानीय निकाय र कृषि सहकारी संघसंस्थाहरुको असहयोगका कारण मेलामा कृषिसम्बन्धी स्टलहरु कम रहेको बताए ।

उनले नगरपालिका, गाउँपालिका र कृषि सहकारीले लगानी र स्थानीय निकायले दिएको अनुदानले कृषि उत्पादन कति र कस्तो भयो भन्ने देखाउने अवसर भएता पनि ती निकायहरुले यो अवसर गुमाएको जानकारी दिए ।
अध्यक्ष खनालले मेलामा कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यले बीसवटा स्टल निःशुल्क दिएता पनि सम्बन्धित निकायको लापरवाहीका कारण ती स्टलहरू खाली रहन गएकोमा रोष प्रकट गरे ।

अध्यक्ष खनालले मेलामा आएर गाउँघरमा उत्पादित बस्तुहरू अवलोकन र खरिद तथा साँस्कृतिक कार्यक्रमबाट भरपुर मनोरञ्जन लिन सबैमा आग्रह गरेको छन् ।

आइतबार भएको कार्यक्रममा गायक प्रताप दास, थारु गायिका वसन्ती चौधरी र दोषहरण चौधरी, मोडल तथा डान्सर सृजना गुरुङ र अनुस्का चौधरी, गायक अनुप बुढामगरले प्रतिभा प्रस्तुत गरेका थिए भने डिएमएस डान्स ग्रुप नारायणपुर र जिके डान्स ग्रुपका बालबालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए ।

मेलामा स्थानीय महिलाबाट निर्मित विभिन्न प्रकारका अचार, अल्लोबाट बनाइएका कोट, पर्स तथा अन्य सामग्री, बाबियो र गुनबाट बनाइएका ढकिया, पन्छोपनी लगायतका सामग्री, खुकुरी, हँसिया, बन्चरो, चिम्टा लगायतका सामग्री राखिएको छ ।