एक पत्रकार मित्रलाई फिचर पुस्तक लेखनको लागि दिएको सल्लाह !
- डिल्ली अम्माई

२०२२, ३० जुलाईको दिन हुनुपर्छ, पङ्क्तिकारले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई हेटौँडामा भेटेको । त्यसैदिन एक घण्टा जति उहाँकै कार्यालयमा बसेर कुराकानी गऱ्यौँ र सँगै कफी पियौँ । त्यसपछि हामी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको कार्यालयमा पुग्यौँ । बन्दै गरेको भब्य कार्यालय भवनको अनुगमन गरेपछि हामी छुट्टिएका थियौँ । www.ghatanarabichar.com/257582
उहाँसँग भएको गफमा उहाँले आफू युरोप आएर युरोपका नेपालीहरूको संघर्षको कथा लेख्न चाहेको कुरा राख्नुभएको थियो । त्यो बेला उहाँले आफ्नो पुस्तक लेखनमा विषयगत र पूर्वाधार निर्माणको लागि सहयोग गरिदिन विशेष अनुरोध पनि गर्नुभएको थियो ।
म बेल्जियम आएपछि पनि बेला बेलामा नेपाली डायस्पोरा र विशेष गरी युरोपमा नेपाली डायस्पोराको शुरुवाती अवस्था, ब्यवस्थित हुनको लागि गरिएका अनवरत संघर्षहरू र वर्तमान अवस्थाको बारेमा मोटामोटी कुरा हुन्थ्यो । अर्थात् यी बहुआयामिक संघर्षका कथाहरूलाई कसरी सबैको प्रतिनिधित्व हुने गरी लेख्न सकिन्छ ? उहाँको मुख्य चासो त्यसैमा हुन्थ्यो ।
त्यसमा प्रवासीहरूका सङ्घर्षका देखिने र नदेखिने धेरै कथाहरू छन् । त्यसको फिचर लेखन कसरी सम्भव होला ? अझ त्यसमा नयाँ पिँढीसमेत जोडिएको छ, उनीहरूका सांस्कृतिक अन्तरघुलनका समस्याहरूले कतिपय अवस्थामा जटिल मनोवैज्ञानिक विरोधाभाषलाई झेलेका छन् । ती मनोदशालाई कृतिमा ठाउँ दिनु अपरिहार्य हुन्छ । तर त्यसलाई कसरी लेखनको मूल प्रवाहमा मिलाउने ? मेरो मनमा पत्रकार मणिराजजीको विषयगत जिम्मेवारी हस्तान्तरणले खेलाएका कुराहरू हुन् । त्यसबारेमा मैले आफ्नोतर्फबाट सकेजति अध्ययन गरिरहेको छु साथै सुझाव सङ्कलन गर्ने प्रयत्न पनि गरिरहेको छु ।
यही फेब्रवरी ३ तारिक मनिराज गौतम पुस्तक लेख्ने भनेर बेल्जियम आइपुग्नुभएको छ । पङ्क्तिकार बताएअनुसार उहाँको एकमात्र लक्ष्य युरोपस्थित नेपालीहरूको संघर्षको कथाहरू समेटेर वृत्ति-वृत्तान्तको संकलन गर्नु हो । मलाई थाहा छैन, त्यो पुस्तक कहिलेसम्म लेखिन्छ र कहिले पूरा हुने हो । त्यसको जिम्मा उहाँकै हो ।
उहाँ हिजो ३ फेब्रुअरी दिउँसो ३ बजेतिर बेल्जियमको राजधानी ब्रसेल्सको अन्तर्राष्ट्रिय विमान मैदानमा उहाँका दाजु सहदेव गौतम, पङ्क्तिकार र ओम शर्माले संयुक्त रुपमा उहाँको स्वागत ग¥यौँ । हामीले नेपाल पत्रकार महासंघ एक शाखा अध्यक्षको रुपमा स्वागत गरेका हौँ । एउटा सहकर्मीले अग्रिम सूचना दिएर आउँदा हामीले गर्ने पहिलो कुरा स्वागत र दोश्रो सहयोग हो ।

सहदेवजीको गाडीमार्फत बेल्जियम शाखाअध्यक्ष ओम शर्माको कोठामा पुगियो । सम्पर्क गर्नुपर्ने र आवश्यक मित्रहरूलाई उहाँले सूचना नपठाउने कुरै भएन । पत्रकार मित्र केजिन राई, लेखक तथा स्तम्भकार दिल निसानी मगर, ब्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवास, बेनेलक्सका सचिव मदन दवाडी, एनआरएनएका संस्थापक उपाध्यक्ष रामप्रताप थापा लगायतसँग मणिजी आफैंले कुरा गर्नुभयो । सूचना सम्वाद सकिएपछि हामी उहाँको लक्ष्यसँग जोडिएको विषयवस्तुमा प्रवेश ग¥यौँ । अर्थात्, सामान्य गफपछि हामीले फिचर लेखनबारे एक खालको छलफल गऱ्यौँ। त्यसका आधारभूत कुराको लागि मणिजीलाई वातावरण बनाउने काममा लाग्ने कुरा भयो । डायस्पोराको फिचर लेख्नु चानचुने कुरा हैन । त्यसको लागि पत्रकार मणि सरलाई सबैको सहयोग चाहिन्छ । उहाँको अपेक्षा पनि सोहीअनुरुप छ ।
२०२२ जुलाई ३० मा झैँ वा अझ मिहीन रुपले उहाँले पङ्क्तिकारसँग र नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मासँग फिचर कथा लेखनको लागि सहयोग माग्नुभएको छ । उहाँले युरोपका सबै अग्रजहरूसँग लेखनसँग सम्बन्धित कुरामा सहयोगको ठुलो अपेक्षा पनि गर्नुभएको छ । औकात र क्षमता अनुशारको सहयोग हामि सबैले गर्छौं नै । खुलेरै भन्नुपर्दा, ममा फिचर कथाको किताब नै लेख्ने औकात र सामर्थ्य दुवै छैन । औकात नभएको विषयमा जाँगर पनि पलेँटी मारेर बसिदिन्छ । तर, त्यो भनेर पनि भएन अब, फरक ठाउँ र परिवेशमा साथीलाई सघाउने जाँगर पलाउन दिनुपर्छ । त्यसैले साथीलाई जानेजति लेखनको प्रारम्भिक तयारीलाई सहज बनाउने कोशिसचाहिँ गरेको छु । उहाँ पनि लेखन कलामा विज्ञ भएकोले यो लेखलाई साथीले सदासयताका रुपमा ग्रहण गरिदिनुहुने आशा राखेको छु ।
उहाँ अहिले नाम र सम्पर्क नम्बर संकलन गर्दै हुनुहुन्छ । उहाँको फिचर राइटिङ र वार्तालापपूर्ण बहुआयामिक वृत्तलेखनले सिङ्गो युरोपको प्रतिनिधित्व गरोस् भन्ने ध्येयले आफ्नो औकातअनुसार पङ्क्तिकारले केही टिप्स दिनको लागि मात्र यो लेख लेखेको हो । मलाई आशा छ, यसले केहि न केही रुपमा वृत्त कथा बनाउने चाहना भएका अन्य पत्रकार वा लेखकहरूलाई पनि थोरबहुत मद्दत अवश्य पु¥याउने छ ।
फिचर कथा पुस्तक लेखनका आधारभूत कुराहरू :
अब खासमा योजना बनाउने र पुस्तकको स्वादलाई लक्ष्य प्रदान गर्ने समय लगभग सकिएको छ । मनको आकारले पुस्तक धेरै पृष्ठको हुनुभन्दा पनि यो पुस्तकले नेपालीको मन-मस्तिष्कलाई छुन्छ कि छुन्न ? यसले नेपाली डायस्पोराको प्रतीक्षित वृत्तकथामा नसोचिएका कुराहरूबाट अरुका लागि प्रेरणा दिन्छ कि दिन्न ? वा पुस्तकले नयाँ पुस्तालाई आफ्ना अग्रजहरूको संघर्षको सम्मानमा अविस्मरणीय छाप छोड्न सक्छ कि सक्दैन ? यो विषयमा केही प्रतिनिधि पात्रहरूको चयन गर्नु जरुरी हुन्छ । त्यो पात्र जसले युरोपमा आफू स्थापित हुने संघर्षमार्फत धेरैलाई जोडेको होस् । को-को होलान् ती पात्रहरू ? यो प्रश्नको उत्तर प्राप्त गर्न तिनै संघर्षका शुरुवाती चरणहरूलाई पात्रविशेषसँग साक्षात्कार गरेरै केलाउनुपर्ने हुन्छ । अर्थात्, फिचर अन्तर्वार्तामा मात्र निर्भर भएर लेखिनु भन्दा पनि उनीहरूको अनौपचारिक गफको टिपोट गर्दै औपचारिक गफको फिडब्याकमा उभ्याएर लेखिनुपर्छ ।
औपचारिक वार्ता बनावटी र सीमित हुन्छ तर अनौपचारिक गफले उसको मनोवैज्ञानिक असरसहित उसले गरेको संघर्षलाई सतहमा ल्याइदिन्छ । यदि त्यसरी लेखियो भने फिचर कथा औपचारिकताबाट यथार्थमा गएर तथ्यगत भोगाइमा बुनिन्छ र एउटा अनुसन्धानमुलक, प्रेरणादायी, आकर्षक सत्य कथा बनेर निस्कन्छ । एउटा फिचर लेख समाचार कथाभन्दा फरक स्वादको हुन्छ किनकि यसले पाठकहरूलाई कुनै विशेष विषय, घटना वा स्थानमा गहन दृष्टिकोण प्रदान गर्दछ । एउटा राम्रो फिचर कथाले पाठकको ध्यान अन्त्यसम्म खिच्नसक्ने हुनुपर्छ वा वृत्तलेखनले एक प्रेरणादायी कथासहित पाठकमा स्थायी छाप सिर्जना गर्ने हुनुपर्छ ।
छोटकरीमा भन्दा लेखिएको फिचर लेखले गहिरो विश्लेषण प्रदान गर्नुपर्छ । फिचरले घटना, ऐतिहासिक पूर्ववर्ती वा भविष्यका प्रभावहरू वरिपरि फराकिलो सन्दर्भमा विचरण गरिरहेको हुनुपर्छ । फेसन, मनोरञ्जन, प्रविधि, जीवनशैली, रुचि, ज्ञान र ब्याक्तिको भविष्यप्रतिको दृष्टिकोणबारे फिचर कथाहरूले उनीहरूकै पृष्ठभूमिको भूमिकाभित्र रहेर उत्तरहरूको अपेक्षा गर्दछ । सम्बन्धित विषयबारे रुचिपूर्वक चिरफार गर्छ र सफलता तथा असफलताका आयामहरूबारे बहसको पृष्ठभूमि तयार गर्दछ । मेरो विचारमा, युरोपमा नेपालीहरूको संघर्ष र सफलताको कथामा खासगरी कस्ता-कस्ता प्रवृत्ति हुन सक्लान् आफैंले अनुमान गरेर योजना बनाउनुपर्छ कि !
खासगरी, एउटा उत्कृष्ट फिचर लेखनको लागि केही गृहकार्य वा पूर्वाधार निर्माणका कार्य गर्नु जरुरी छ । युरोपमा नेपालीको अन्तरमन पगालेर आँशु र खुशी उन्ने कला नभइ उत्कृष्ट फिचर बन्दैन । त्यसको लागि लेखकले समय छुट्ट्याएर चुनिएको प्रतिनिधि पात्रसँग केही समय बिताउनुपर्छ । जसलाई फिचर लेखकहरूले उत्खनन् समय भनेका छन् । फिचर लेखनमा औपचारिक वार्तालाप केवल ४० प्रतिशत हो भने ६० प्रतिशत अनौपचारिक उत्खनन् वार्ता सङ्गत हो । त्यसपछि उसको सम्पर्कका सहयोगीबाट पनि प्रतिनिधि पात्रले गरेका विशेष संघर्षका अरु रोचक कुराहरू लिन सक्छन्, जसले फिचर निर्माणलाई रसिलो र चोटिलो बनाउन मद्दत पुऱ्याउँछ ।
यी त भए फिचर लेखनको पूर्वाधार र यससँग सम्बन्धित तयारीका कुरा । अब आफ्नो तयारीपछि मणिजी फिचर लेखनका लागि प्रतिनिधि पात्रसँग वार्तालाप गर्न जाँदै हुनुहुन्छ । त्यसको लागि पात्र कुन क्षेत्रको हो, उसको संघर्षले कति र कुन पक्षको प्रतिनिधित्व गरेको छ र उक्त पात्रविशेषको बारेमा लेखेको फिचरका उत्तम विषयहरू के हुन सक्लान् ? यो विषयगत ज्ञाता वा लेखकले आफैं वा सहयोगीहरूमार्फत निर्धारण गर्नुपर्छ । योजनाको प्रमुख कुरा उसले गरेको तयारीले निर्धारण गर्दछ । पङ्क्तिकारको विचारमा सिङ्गो युरोप एक कितावमा अटाउनको लागि विविध क्षेत्रका विज्ञहरूको सल्लाह पनि महत्वपुर्ण हुन्छ । त्यसको लागि हरेक क्षेत्रका प्रमुख पात्रहरू निम्नानुशार चयन गर्न सकिन्छ । जस्तै :
युरोपका नेपालीहरूको सिङ्गो प्रवृत्तिलाई प्रतिनिधित्व गर्ने गरेर कुटनैतिक निकायबाट, अनुभवी लेखक वा साहित्यकारबाट, पत्रकारबाट, यातायात क्षेत्रबाट, खेल क्षेत्रबाट, ब्यवसायीबाट, स्वास्थ्यकर्मीबाट, प्राध्यापक वा वैज्ञानिकबाट, कलाकारबाट, शिक्षक वा विद्यार्थीबाट र एनआरएन अभियन्ताबाट प्रतिनिधि पात्रहरू चयन गर्दा क्षेत्र समेटिन सक्छ । माथिका अनुसन्धान, सेवागत वा पेशागत क्षेत्र उदाहरण मात्र हुन् किनकि, यस्ता सयौँ अन्य क्षेत्रहरूमा पनि नेपालीका पिडा र प्रेरणा भरिएका कथाहरू हुन् सक्छन् । त्यसलाई प्राथमिकतामा राख्ने या नराख्ने कुरा लेखकले उपादेयताको आधारमा आफैं निर्धारण गर्ने कुरा हुन् । मेरो विचारमा सबै क्षेत्रसँग मेल खाने र विषयगत उत्खनन्मा सहायक प्रश्नहरू मैले निम्नानुसार राखेको छु :
तपाईंको विद्यार्थीकालको आकांक्षा के थियो ?
युरोपमा तपाईंको आगमनबारे भन्न मिल्छ कि मिल्दैन ? भन्न मिल्ने भए…
तपाईंको सेवा वा पेशागत अनुभव बताइदिनुहोस् ।
अहिले तपाईं सफल या असफल कहाँनेर हुनुहुन्छ ?
सफलताको प्रेरणा के कसरी मिल्यो ?
के–कस्ता पुस्तक पढ्नुभएको छ ? नाम बताउन सक्नुहुन्छ ?
प्रेरणादायी पुस्तक त त्यसबाट पाएको प्रेरणाबारे केही भनाइ
तपाईंको बच्चाले नेपाली लेखपढ गर्न जानेका छन् ?
पत्रकारविशेषको लागि :
पत्रकारिता खासगरी डायस्पोरामा भइरहेको नेपाली पत्रकारिता कसरी भइरहेको छ र के गर्दा अझ राम्रो हुन्थ्यो ? पब्लिक बनेर सुझाव दिँदा के भनेर पत्रकारहरूलाई सुझाव दिनुहुन्छ ?
नेपाली डायस्पोरामा राम्रो साहित्यकारको नाम, राम्रो पत्रकारको नाम, राम्रो सामाजसेवी, उत्कृष्ट ब्यवसायीको नाम क्रमशः एक-एक वटा ।
तपाईंको दिमागमा सबैभन्दा बढी के घुमिरहन्छ ? छोटो भनाइ राखिदिनुहोस् ।
तपाईंको जीवनको निरास र आशा पलाएको एक-एक क्षण सम्झनुस् र भन्न मिल्छ भने भन्नुहोस् ।
प्रवासबाट नेपाल, नेपाली परिवार र नेपालीहरूलाई के भनेर आश्वस्त पार्नुहुन्छ ?
नेपाल जाँदा र फर्किने बेलालाई सोच्नुस् । ती दुवै क्षणको अनुभूतिबारे बताइदिनुहोस् ।
के तर्पां नेपाल फर्कने सोचमा हुनुहुन्छ ? फर्कनुहुन्छ भने कहिले, कुन अवस्थामा र, फर्कनुहुन्न भने किन ? फर्कने चाहना र अवस्था नभए किन सक्नुहुन्न ? बताइदिनुहोस् ।
के गर्दा बढी आनन्दित हुनुहुन्छ ?
अन्तिम अवस्थामा तपाईंले कमाएको सम्पति के गर्नुहुन्छ ?
परिवारबाहेक अरुको लागि के गर्नुभएको छ ?
नेपाली समुदायबाट तपाईंको अपेक्षा के हुन सक्ला ?
मृत्युपछि तपाईंको काम लाग्ने अंगले अरु बाँचुन् भन्ने चाहनुहुन्छ ?
जीवनको अन्तिम अबस्थाबारे के सोचिरहनुभएको छ ?
जीवनमा धेरै सोच्नुपर्ने कुरा के हो जस्तो लाग्छ ?
तपाईंको अहिलेसम्मकै मनपर्ने तस्बिर मलाई दिन सक्नुहुन्छ ?
अन्तमा, फिचर लेखनको क्रममा उत्खनन् गर्दै जाँदा अन्य प्रश्नहरू स्वतः थपिँदै जान्छन् । सबैलाई रेकर्ड गरिन्छ र सम्पादनको क्रममा दोहोरिएका, कम उपयोगी, पत्रकारिता वा लेखकीय विधामा वर्जित शब्दहरू हटाइन्छ । सबैको शिलशिला मिलाएपछि मात्र एक उत्कृष्ट फिचर तयार हुन्छ । जसको लागि पङ्क्तिकारले लेखेको एक फिचर www.ghatanarabichar.com/47404 यस लिंकबाट हेर्न सकिन्छ । यो उत्कृष्ट वा मध्यम कस्तो छ त्यो त स्वयम् पाठकहरूले लिएको स्वाद र प्रेरणामा निर्भर रहने कुरा हो ।
प्रतिक्रिया