विभत्स हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन ध्यानाकर्षण

विभत्स हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन ध्यानाकर्षण


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले खोटाङमा ६ वर्षअघि विभत्स तरिकाले शृङ्खलाबद्ध हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

इन्सेक प्रतिनिधि तारानाथ फुँयालले आइतबार आयोगका कामुसचिव मुरारीप्रसाद खरेललाई ज्ञापनपत्र बुझाउनुहुँदै विसं २०७३ माघ २६ गते विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेकी रीता तामाङ, धारिलो हतियार प्रयोग गरेर विसं २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानकी ज्ञानीमाया विश्वकर्मा र विसं २०७४ साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङकी देवी विश्वकर्माको परिवारलाई न्याय दिलाउन ध्यानाकर्षण गराउनुभएको हो ।

आयोगसमक्ष महिलाको हत्याका विषयमा वस्तुनिष्ठ छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन र आम नागरिकलाई राज्य र मानवअधिकारको प्रत्याभूति दिलाउन माग गरिएको इन्सेक प्रतिनिधि फुँयालले बताउनुभयो । यसअघि राष्ट्रिय महिला आयोगले तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन यही माघ ५ गते गृह मन्त्रालयलाई पत्राचार गरेको जनाइएको छ ।

६ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा भएका तीन महिलाको विभत्स हत्याको घटना प्रकृति उस्तै-उस्तै देखिए पनि हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म दोषिको पहिचान गर्न सकेको छैन । लामो समय बित्दासमेत दोषी पहिचान नहुँदा निर्दोष महिलाको हत्या रहस्यमय बनेको छ । घटनामा कसको संलग्नता थियो, घटनाको कारण के थियो भन्ने प्रश्नको जवाफ अझै गर्भमै रहेको छ । तीन महिलाको शृङ्खलाबद्ध हत्यामा संलग्न दोषी पत्ता लाग्न नसक्दा जिल्लामा प्रहरी प्रशासनको आलोचना हुने गरेको छ ।

घटनाका दोषी पहिचान नभएको विषयमा जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा आवाज उठ्ने गरेको छ । तीन महिलाको शृङ्खलाबद्ध हत्याका विषयमा अनुसन्धान जारी रहे पनि रिजल्ट (नतिजा) प्राप्त हुन नसकेको प्रहरीले जवाफ दिने गरेको छ । जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा पीडित परिवार त्रसित छन् भने दोषीको मनोबल बढाउन टेवा पुगिरहेको इन्सेक प्रतिनिधि फुँयालले बताउनुभएको छ । तीन महिलाको हत्यारा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन जिल्लास्थित महिला अधिकारकर्मीले प्रहरी प्रशासनको ध्यानाकार्षण गराउँदै आएका छन् ।

होटलमा काम गर्दै आएकी १७ वर्षीया रीता खोटेहाङ गाउँपालिका-८ सिम्पानीस्थित कुसेऔँशी जङ्गलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन् । सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी उनको शव बाटोभन्दा करिब ४० मिटर तल भिरमा भेटिएको थियो । टाउको फुटेको, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुङ्गाले काटिएको अवस्थामा शव भेटिएकाले उनको हत्या गरिएको स्थानीयवासीको दाबी छ । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ ।

यस्तै, स्याउला काटेर घर फर्कने क्रममा ५७ वर्षीया ज्ञानीमायाको इलाका प्रहरी कार्यालय महादेवस्थानभन्दा करिब पैदल पाँच मिनेटको दूरीमा हत्या भएको थियो । हलेसी मन्दिरतर्फबाट स्वास्थ्यचौकी जाने बाटोमुनि उनको शव विभत्स अवस्थामा भेटिएको थियो । ज्ञानीमायाको शव घाँटीको पछिल्लो भाग, देब्रे स्तनलगायतका ठाउँमा धारिलो हतियारको गहिरो चोट लागेको अवस्थामा भेटिएको जनाइएको छ । उनको हत्यापछि १२ आनाको रिङ, १० आनाको सौभाग्य, दुई आनाको फुली, कम्मरमा बाँधेको पेटीको गोजीमा राखिएको दुई आनाको औँठी लुटिएको श्रीमान् डिकबहादुर विश्वकर्माले बताउँदै आउनुभएको छ । हत्या गरिएका ज्ञानीमायाको साथमा नगद रु तीन सय आठ मात्र फेला परेको थियो । उनको शव सुतेझैँ अवस्थामा लडाइएको अवस्थामा भेटिएको थियो ।

जन्तेढुङ्गा गाउँपालिका-४ डम्बर्खुशिवालयस्थित माइती पुगेर घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी ३७ वर्षीया देवी दोस्रो दिन विसं २०७४ साउन ५ गते जन्तेढुङ्गा गाउँपालिका-३ काहुलेको छिमावास्थित नेप्टे जङ्गलमा विभत्स हत्या भएको अवस्थामा फेला परेकी थिइन् । देवीको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको र टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएको जनाइएको छ ।

  • रासस