नगरप्रमुखको मनोमानीले बुङ्गल नगरपालिका एक महिनादेखि प्रशासकीय अधिकृतविहीन

नगरप्रमुखको मनोमानीले बुङ्गल नगरपालिका एक महिनादेखि प्रशासकीय अधिकृतविहीन


  • सुरेश धामी, बझाङ

बझाङको बुङ्गल नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । एक महिनाभन्दा बढी समयदेखि नगरपालिका अधिकृतविहीन बन्दा योजना सम्झौता, निर्माण सम्पन्न भएका योजनाको अन्तिम भुक्तानी तथा कर्मचारीको तलबलगायतका नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको स्थानीय दीपक जोशीले बताए ।

बुङ्गल नगरपालिकामा एक महिनाअघिसम्म देवराज जोशीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएको भएपनि नगरप्रमुख जयबहादुर धामी र नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले राजनैतिक प्रतिशोधका कारण निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका जोशीलाई जबर्जस्ती राजीनामा गर्न लगाएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको हो ।

नगरप्रमुख धामीका समर्थक नेपाली काङ्ग्रेसका जनप्रतिनिधिहरूले आफ्ना कार्यकर्तालाई प्रक्रिया नपु¥याइ भुक्तानी गर्न लगाएको र जोशीले नमानेपछि जबर्जस्ती राजीनामा गर्न लगाएको एक कर्मचारीले बताए । नगरप्रमुख धामीले नेपाली काङ्ग्रेस बुङ्गलका केही नेताहरूको निर्देशनमा आफ्ना कार्यकर्तालाई बजेट दिने र भुक्तानीका लागि आफूअनुकूल नभए कर्मचारीलाई धम्क्याउने गरेको ती कर्मचारीले दाबी गरे ।

मेयर धामीले नीतिविपरीत आफूअनुकुल काम गर्न दबाब दिएपछि अधिकृत जोशीले यस्तो अवस्थामा आफू निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्न नसक्ने जानकारीपत्र नगरप्रमुख धामीलाई बुझाएका पनि थिए । तर नगरप्रमुख धामीले जिम्मेवारीबाट बाहिरन नहुने तर्क दिँदै जबर्जस्ती आफूअनकुल नीतिविपरीतका काम गर्न लगाएको स्रोतको भनाइ छ ।

काम गराइसकेपछि ४ महिनापछि पहिले अधिकृत जोशीले काम गर्न नसकिने भनेर दिएको पत्र देखाउँदै राजीनामा स्वीकृत भएको भन्दै कार्यपालिकाले निर्णय गरेर निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीलाई हटाइ ध्रुवराज जोशीलाई ‘निमित्त’ जिम्मेवारी दिने निर्णय गरेको थियो । ध्रुवराज जोशी र देवराज जोशी एकै तहका कर्मचारी हुन् । एक महिनाअघि नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने कार्यपालिकाको निर्णय बोकेर नगरप्रमुख धामी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका थिए । तर मन्त्रालयले कर्मचारी अभावका कारण अहिले नयाँ अधिकृत खटाउन सक्ने अवस्था नरहेको र एउटै तहका कर्मचारीमध्ये एउटालाई हटाएर अर्कालाई निमित्त दिन नसकिने र हटाउनुपर्ने कारण नभएकाले काम गरिरहेका देवराज जोशीलाई नै निमित्त भएर काम गर्नु भनेपछि धामी रित्तै हात फर्केका थिए ।

प्रमुख प्रशासकीय अधिकृत निमित्त मात्रै हुँदा स्थानीय तहको दैनिक काम प्रभावित हुनुका साथै महत्त्वपूर्ण निर्णय समयमा हुन नसकेको जनप्रतिनिधिहरूले बताएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको नगरपालिकामा अहिले सेवा प्रवाह नहुँदा सेवाग्राही मर्कामा परेका छन् । बुङ्गल नगरपालिकामा उपसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत रहने भए पनि कर्मचारी अभावका कारण नगरपालिकामा निमित्तको भरमा कार्य सञ्चालन भइरहेको थियो । दरबन्दीअनुसार कर्मचारीको अभाव र भएका कर्मचारीलाई पनि जनप्रतिनिधिले कानुन मिचेरै काम गर्न दबाब दिने गरेका कारण बुङ्गल नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्न नमान्ने गरेको स्रोतको भनाइ छ ।

यसअघि पनि बेला–बेला प्रमुख प्रशासकीय अधिकृत माग गर्दा मन्त्रालयबाट नपठाउने र पठाए पनि नगरपालिकाले जिम्मेवारीविहीन गर्ने गरेका कारण सरुवा मागेर अन्यत्रै जाने गरेको स्थानीयको भनाइ छ । एक जना कर्मचारीले भने– ‘हामी कर्मचारी भइसकेपछि जागिरको सवाल हुन्छ, कागजपत्र मिलाउनैपर्छ, नत्र हामीलाई आलेप÷मलेपले समात्छ, तर नगरप्रमुख धामी र दुई जना वडाध्यक्षहरू व्यक्तिगत चेक काटेझैँ भुक्तानीका लागी दबाब दिने गर्छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीले नीतिगतरूपमा चल्न खोज्ने र जनप्रतिनिधिले जोशीलाई आफूअनुकूल हुने गरी चलाउन खोज्दा नमानेपछि उनलाई धम्क्याएर राजीनामा गर्न लगाएको उनको भनाइ छ ।

यस विषयमा जोशीसँग बुझ्दा जबर्जस्ती नभइ आफूलाई काम गर्ने वातावरण नभएका कारण राजीनामा दिएको बताए । नगरप्रमुख धामीले बुङ्गल नगरपालिकामा भएका करारका कर्मचारीहरूलाई पनि आफूअनुकूल काम गर्न दबाब दिने गरेको पाइएको छ ।

यस विषयमा नगरप्रख धामीले चाहिँ आफूले जोशीलाई कुनै दबाब नदिएको र अधिकृत जोशीले काम गर्न नसक्ने भन्दै राजीनामा दिएपछि नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको बताए । आफूप्रति लागेका सबै अरोप निराधार रहेको उनको जिकिर छ ।