नेपाली मिडियाको वर्तमान अवस्था

नेपाली मिडियाको वर्तमान अवस्था


हामीकहाँ पत्रकारिता तालिमको ठुलो अभाव छ । पत्रकारिताको आधारमूत तालिम नलिइ सिधै पत्रकार बनेका कारण पत्रकारबाट विषयबस्तु, लेखन, भाषालगायतका कुरामा मात्र नभएर ब्यक्तिगत क्रियाकलापमा समेत कमी-कमजोरीहरू हुने गरेका छन् । अरुले गल्ती, कमजोरी औंल्याइदिनुअघि आफूले आफैलाई आलोचनात्मक दृष्टिले हेर्नु राम्रो हुन्छ ।

बबिता बस्नेत

आर्थिक अवस्था : मुलुकको अर्थतन्त्रमा गिरावट आइइरहेका बेला मिडियाको बिस्तार तीव्र रूपमा भइरहेको छ । अनलाइनको सङ्ख्या बढ्दो छ भने नयाँ-नयाँ टेलिभिजन च्यानल पनि दर्ता भइरहेका छन् । कोभिडपछिको मिडिया कसरी चलिरहेको छ ? यो विषयमा खासै छलफल र बहस हुने गरेको छैन । मिडिया चल्ने मुलतः विज्ञापनले हो । विज्ञापनका लागि उद्योग/ब्यवसाय फैलिनुपर्छ । अहिले उद्योग ब्यवसाय पनि खुम्चिएकै अवस्थामा छ । त्यसैले मुलुकको अर्थतत्रन्त्रमा आएको मन्दीसँगै नेपालका मिडिया निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका छन् । नेपालको मिडियाको समस्या के हो ? भनेर कसैले प्रश्न गर्दा ‘आर्थिक नै प्रमुख हो’ भन्ने जवाफ सही हुन जान्छ । यद्यपि सूचनामा पहुँच, सेल्फसेन्सरसीप, सम्पादकीय स्वतन्त्रता लगायतका कुराहरू पनि छन् । सम्पादकीय स्वतन्त्रता विज्ञापनको बजार र मिडियाका प्रकाशकहरूसँग जोडिएको छ । त्यसैपनि नेपालको मिडिया अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको थियो, कोभिड महामारीपछि झनै असहज अवस्थामा पुऱ्याइदिएको छ ।

कोभिडपछिको अवस्था : नेपाल पत्रकार महासङ्घको तथ्याङ्कअनुसार कोभिड-१९ पछि करिव १० प्रतिशत पत्रकारले जागिर गुमाएका छन् । करिब नौ प्रतिशत पत्रकारको तलब कटौती भएको छ भने २० प्रतिशत पत्रकारले नियमित तलब पाएका छैनन् । यस्तै, ४ प्रतिशत मिडियाहाउस बन्द भएका छन् । कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको पत्रकारिता क्षेत्रलाई कोभिड-१९ ले उद्योगधन्दा बन्द हुँदा विज्ञापनमा ठूलो असर पऱ्यो, जसका कारण मिडियामा कार्यरत पत्रकारले जागिर गुमाए । जतिले काम गरे उनीहरूले पनि समयमा तलब पाएनन्, कतिपय मिडिया हाउसमा कार्यरत पत्रकारहरूले अहिले पनि समयमा तलब पाइरहेका छैनन् ।

कोभिडपछि महिला पत्रकारको अवस्था पनि फरक देखिएको छ । सन् २०२० मा मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले महिला पत्रकारहरूलाई परेको असरलाई लिएर अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानले कोभिड-१९ महामारीका कारण अधिकांश सहभागी महिला पत्रकारलाई आर्थिक असर परेको देखाएको छ । उक्त अध्ययनमा सहभागी ६३ प्रतिशत महिला पत्रकारले आर्थिक असर परेको बताएका थिए ।

६७ प्रतिशत सहभागी महिला पत्रकारले महामारीको बेला तलब समयमा नपाउँदा आर्थिक समस्या भोग्नुपरेको कुरा उक्त अध्ययनले देखाएको थियो । २३ प्रतिशतको तलब र काम दुवै घटेको, १९ प्रतिशतले तलब ढिला पाएको, ११ प्रतिशतले तलब नपाएको र अरू १९ प्रतिशतको तलब घटेको, तर काम बढेको बताएका थिए ।

प्रेस स्वतन्त्रता र सेल्फ सेन्सरसिप : नेपालमा प्रेस स्वतन्त्रताको अवस्था अहिले कस्तो छ ? के नेपाली पत्रकारहरू निर्धक्क कलम चलाउनका लागि स्वतन्त्र छन् ? नेपाली प्रेसलाई कतैबाट हस्तक्षेप छ कि छैन ? छ भने कोबाट छ ? यो पनि छलफल र बहस गर्नुपर्ने अर्को विषय हो । झट्ट हेर्दा पत्रकारिता क्षेत्रलाई अहिले कतैबाट प्रत्यक्ष हस्तक्षेप देखिँदैन । लेख्नेहरू लेखिरहेकै छन्, बोल्नेहरू बोलिरहेकै छन्, सञ्चारसंस्थाहरू खुल्ने क्रम जारी छ । छापा र विद्युतीय दुवै मिडियाको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । मिडिया बढेपछि पत्रकार र सञ्चारकर्मीको सङ्ख्या बढ्ने नै भयो । बाहिरबाट हेर्दा प्रेस स्वतन्त्रतामा हनन भएको जस्तो कहीँ-कतैबाट लाग्दैन/देखिँदैन । बरु प्रेस जिम्मेवार भएन, सही सूचना प्रवाहित गरेन भनेर समय-समयमा जनगुनासो सुनिन्छ । स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने सञ्चारमाध्यमहरू स्वयम् व्यापक राजनीतीकरणमा फसेका भन्ने टिप्पणी त अब सामान्य हुन थालिसके । यद्यपि खस्कँदो राजनीतिक मर्यादा र मूल्य मान्यताबीच मिडियाले निर्वाह गर्दै आएको भूमिका केही हदसम्म स्वतन्त्र नै छ भन्नचाहिँ सकिन्छ । पूर्ण प्रेस स्वतन्त्रताको उपभोग गर्नबाट मिडियालाई वन्चित गर्नका लागि समय-समयमा नीति तथा कानूनहरू ल्याउने गरिएको छ ।

कुनै बेला प्रत्यक्ष सेन्सरसिप ब्यहोरिसकेको नेपाली मिडिया अहिले पनि ‘सेल्फ सेन्सरसिप’ मा छ भन्दा विश्वास नलाग्न सक्छ । वास्तविकताचाहिँ के हो भने अहिले पनि मिडियाले देखेको कुरा जस्ताको तस्तै छाप्न या प्रसारण गर्न सक्ने अवस्था छैन । डर धेरैतिरबाट छ, दृश्यमा भएका, अदृश्यमा रहेका, पर्दाअगाडिका, पर्दापछाडिका अनेक शक्ति र समूह आफ्ना वास्तविकता जनतासामु नआऊन् भन्ने चाहन्छन् । त्यसप्रकारका समूहले आफ्नो बारेमा कुनै समाचार सार्वजनिक भएमा सञ्चारमाध्यमका कार्यालयमा टेलिफोन गरेर मात्र होइन उनीहरू स्वयम् उपस्थित भएर फेरि त्यसप्रकारका सामग्री प्रकाशित/प्रसारित भएमा सम्बन्धित पत्रकार र सम्पादकको जीउज्यान जोखिममा पर्ने समेतको धम्की दिन्छन् । ‘तपाईंका छोराछोरी कुन स्कुल, कलेज पढ्छन् र कुन बाटो हिँड्छन् भन्ने कुरा हामीलाई थाहा छ’ भन्नेसम्मको धाकधम्की पाएर पनि कतिपय पत्रकारहरू जोखिमपूर्ण त्रासका बीच पेसालाई अघि बढाइरहेका छन् ।

हामीकहाँ मौलाएको राजनीतिक विकृतिसँगै सबै मिडियाकर्मीलाई उस्तै दृष्टिकोणले हेर्ने चलन क्रमशः स्थापित हुँदै गएको छ । कति सर्वसाधारणलाई त युटुबर र टेलिभिजन पत्रकार उस्तै हुन् कि भन्ने पनि छ । के मूलप्रवाहका मिडिया, के समाजिक सञ्जाल सबैलाई एकै ठाउँ राखेर गोलमोटल रूपमा हेरिएको अवस्था छ । सबै पत्रकार उस्तै छैनन्, पत्रकारितालाई व्यावसायिक बनाउन लागिपर्नेहरूको सङ्ख्या पनि त्यतिकै छ । विडम्बना यो छ कि जो स्वतन्त्र छन्, ‘थ्रेट’ उनीहरूलाई नै बढी छ । राजनीतिक टीका-टिप्पणी र खोज पत्रकारिता गर्नेहरूले नै बढी धम्की पाउँदै आएका छन् । सेल्फ सेन्सरसिप राजनीतिक दलहरूका कारण पनि छ । पत्रकारहरू स्वयम् कुनै न कुनै रूपमा राजनीतिक दलसँग सम्बद्ध भएकाले आफूनिकट पार्टीका कुराहरू लुकाउने प्रवृत्ति पत्रकारहरूमै पनि देखिएको छ । सेल्फ सेन्सरसिप स्थापित र भरखरै अस्तित्वमा आएका सबै प्रकारका मिडियामा छ । सुरुवात गरेर ‘फलोअप’ दिन नसकेका कतिपय सामग्री सेल्फ सेन्सरसिपभित्रै परेका हुन् भनेर बुझ्न मिल्छ ।

पत्रकारका गल्ती, कमी-कमजोरी : पत्रकारका गल्ती कमजोरीहरूको बारेमा पनि अब हामीले खुलेर बहस गर्नुपर्छ । पत्रकारलाई सामान्यतया अरुले आलोचना गरेको मन पर्दैन, त्यसैले आफैले आफूलाई आलोचनात्मक दृष्टिकोणले हेर्न जरुरी छ । हामीले जे गरिरहेका छौँ, के ती सही छन् ? राजनीतिक दलसम्बद्ध संघ-संगठनमा बसेर गरिएको ‘जयनेपाल’ र ‘लालसलाम’ले हामीलाई ब्यवसायिक हुनबाट कति हदसम्म बन्चित गरिरहेका छन् ? आफूले आफैलाई प्रश्नसहित मूल्याङ्कन गर्नुपर्ने अवस्था छ । नेपालको पत्रकारितालाई स्वतन्त्र र सम्मानित हुनबाट बञ्चित गर्ने कारणमध्ये एक पत्रकारहरूको खुल्लमखुल्ला राजनीतिक आवद्धता पनि हो ।

पत्रकारिता मूलतः अभ्यास हो । अभ्यासमा आउनुअघि आफूले पत्रकारिता किन गर्ने हो भन्ने कुरामा स्पष्ट हुनु आवश्यक हुन्छ । त्यसप्रकारको स्पष्टता अध्ययन र तालिमले दिन्छ । पत्रकारिता के हो, केका लागि, यो क्षेत्रमा आएर के गर्न सकिन्छ, के गर्न सकिँदैन या मिल्दैन । एउटा पत्रकार हुनका लागि आफूमा के-के गुण हुन आवश्यक छ भन्नेलगायतका आधारभूत कुराहरू नजानी पत्रकारितामा आउँदा यसको मूल्य-मान्यतालाई कायम राख्न सकिँदैन । हामीकहाँ पत्रकारिता तालिमको ठुलो अभाव छ । पत्रकारिताको आधारमूत तालिम नलिइ सिधै पत्रकार बनेका कारण पत्रकारबाट विषयबस्तु, लेखन, भाषालगायतका कुरामा मात्र नभएर ब्यक्तिगत क्रियाकलापमा समेत कमी-कमजोरीहरू हुने गरेका छन् । अरुले गल्ती, कमजोरी औंल्याइदिनुअघि आफूले आफैलाई आलोचनात्मक दृष्टिले हेर्नु राम्रो हुन्छ ।

(नेपाल पत्रकार महासंघद्वारा प्रकाशित ‘पत्रकारिता’ बाट)