‘आफ्नो टाउको फुटेपछि मीतको टाउको बेलैसरि !’

‘आफ्नो टाउको फुटेपछि मीतको टाउको बेलैसरि !’


✍ अर्जुनराज पन्त

घटना यस्तै ०५२ सालतिरको हो, मुलुकमा प्रजातन्त्र आइसकेपछि एक किसिमको सामाजिक जागरणका लहरहरू चले । गाउँ-गाउँमा आमा समुह नामका समुह खडा भए, रक्सी फाल्ने र जुवातास बन्द गराउने अभियान शुरू भयो । सकेका कामहरू आफै गर्थे नसकेका काममा प्रहरी/प्रशासनको साथ सहयोग लिएर पनि काम गर्थे । २४सै घण्टा तास खेलेर ब्यारेकमा बिताउने प्रहरीले समेत आत्माले नमाने पनि ‘कानुन पालना त गर्नु पऱ्यो’ भन्दै मन नलागि-नलागि सकेसम्म देखेर पहिल्यै भागुन् भन्दै तास खेल्नेलाई बर्दीका साथ समात्न जान्थे । पहिल्यै खबर गरेर भगाउन आजजस्तो मोबाइल/फोन जस्ता साधन पनि थिएन । कानुनी रूपमा अपराध मानिए पनि ब्यवहारिक रुपमा ठूलो जुवा खेल्दैनथे, भलिबल खेल्न उमेरले नसक्ने, क्यारमबोर्ड किन्ने बजेट नभएका बुढाखाडा खेतीपातिको काम नहुँदाका दिन जोडिएर तास खेल्थे ।

ब्यवहारिक रूपमा त्यस क्रियाकलापले ठूलो असर नपारे पनि आमा-समुहमा लागेका महिलाहरूको लागि ठूलो प्रतिष्ठा र चुनौतीको विषय बन्न पुग्यो । गाउँका महिला त हुन् भन्दै नटेरेपछि प्रहरीको शरणमा पुगे । तर, प्राथमिकताको विषय हैन भन्दै आनाकानी गर्दा प्रहरी कार्यालयमा नै नाराबाजी होला कि भन्ने डरले उजुरी गरेको अखडामा डिएसपीले पुलिस पठाइदियो । जुवाडे पनि बाठा थिए पैसाको सट्टा मकैका गेडा खेल्थे, हिसाबकिताब पछि मिलाउँथे । पुलिसले बाउन्न पत्तिसहित चार जुवाडेको मुचुल्का बनाउन नाम सोध्दै थियो, एक जुवाडेले आफ्नो नामै नबताइ एकोहोरो ‘कान्छा बा बचे ! कान्छा बा बचे !!’ भन्दै टाउको कन्याउन थाले । नाम सोध्दा-सोध्दा आजित भएको हवल्दारले भन्यो- ‘के तिम्रा कान्छाबा नि खेल्छन् ? कहाँ छन् ल बोलाउ ।’ उनले ‘कान्छा बा ! कान्छा बा’ भन्दै बोलाए, अल्लि कोल्टोमा घर पर्ने कान्छाबाले पुलिस देखेनन्, तास चाहिएर बोलाए होला भन्दै हातमा तास फिट्दै आए ।

तिनलाइ समेत गरि पाँचै जनालाई पुलिसले लग्यो, एक रात उतै राख्यो र भोलिपल्ट ‘अब आइन्दा खेल्दैनौँ’ भन्ने कागज गराएर छाडदियो । भन्न त रातभरि उहीँ तास खेलियो भन्थे, के गरे उनै जानुन् । जे होस् भोलिपल्ट घर फर्के ।

अब प्रसङ्ग बदलौँ, समसामयिक विषय १२भाइ पत्रकारमाथि अर्का पत्रकारले गरेको टिप्पणी र लाइभ भिडियो प्रकरण ! आफ्नै सहकर्मी आफूभन्दा कम शैक्षिक योग्यता भएकोले आफूभन्दा निकै प्रगति गर्दा कसैमा डाहा र प्रतिशोध हनु मानविय स्वभाव नै हो, नौलो हैन । विगतमा क-कसका लेनदेनका हिसाबकिताब के थिए, लुटको एउटै झुण्डमा बसेका बीच भुँडी फोडाफोड हुनु नौलो विषय हैन । तर, त्यही तासको खालमा भएको घटनाजस्तै आफू फसिसकेपछि विदेशमा बसेका सबै नेपालीले नेपाल आउँदासाथ पासपोर्ट बनाउँछन् भनेर तिनलाई समेत यही कथाको कान्छाबाको हालतमा ल्याइदिनु कति न्यायसङ्गत हो ? वास्तविक पाटो त बेग्लै छ, विदेशमा बस्ने सबै नेपालीले त्यसो गर्दैनन् पनि ! अनजानमा गरेका कोही-कसैलाई पनि मन्त्री/उपप्रधानमन्त्री चाहिएको थिएन, राजनीति गर्नु छैन ! किन तिनलाइ अनुसन्धानको दायरामा ल्याइदिने ? आफ्नो टाउको फुटेपछि मीतको टाउको बेलैसरि ?

आशा छ- यिनका भागबन्डाका लडाइँमा कुनै अज्ञानी कान्छाबाहरूले दुःख नपाउन् ।