प्रश्नभन्दा माथि हुन सक्दैन पत्रकारिता

प्रश्नभन्दा माथि हुन सक्दैन पत्रकारिता


✍ राजबाबु शंकर

नेपालमा पत्रकारिता गर्ने शैलीबारे सबैलाई प्रश्न उठाउने हक छ । राज्यका अरू अङ्गहरू जस्तै पत्रकारिता पनि प्रश्नभन्दा माथि होइन, हुन सक्दैन । र, पत्रकार हुनु भनेको जो-कोहीको सामाजिक प्रतिष्ठामाथि हमला गर्ने लाइसेन्सहोल्डर पनि होइन । निःशर्त रूपमा पत्रकारिता भनेको बस्तुगत, तथ्यपरक र सन्तुलित हुनै पर्दछ । राजनैतिक, प्रशासनिक, न्यायिक र स्वघोषित नागरिक समाजप्रति अनेकौँ सवालहरू खडा भइरहेको वर्तमान अवस्थामा पछिल्लोपटक पत्रकार जगतप्रति पनि संगीन सवालहरू उठेका छन् ।

नेपालका केही नाङ्ले छापाहरू र डिजिटल पत्रकारिताका वरिष्ठ भनाउँदाहरूले, विगतमा पत्रकारिता क्षेत्रमा रहेर चर्चित र पछिल्लो समय राजनीतिमा लागेर पनि महाचर्चित बन्न पुगेका, रवि लामिछानेको खेदो खन्न लाञ्छनाको सुनामी नै ल्याए । तर, जब तिनको हमला अति भयो; तब उनीहरूको मुखौटो सार्वजनिक रूपमै रविले खोलिदिएको प्रसङ्ग सर्वाधिक स्तब्धकारी प्रसङ्ग बन्न पुग्यो । यो अवस्था भनेको सदैव अरूमाथि नैतिकता, इमान्दारी र सदाचारको पाठ पढाउने तप्कामाथि नै अब प्रश्न खडा भएको छ । प्रश्न गर्नेले अरूलाई जवाफ दिनु पर्दैन भन्ने कहिल्यै हुँदैन । त्यसैले साहस दुस्साहस वा आक्रोशवश, जसरी अथ्र्याए पनि, रविले नेपालका मूलधारको पत्रकारिताबारे गम्भीर बहस छेडिदिएका छन्, त्यो पनि चुनौतीका साथ । यो उठ्नैपर्ने विषय पनि थियो नै, जसको थालनी संयोगवश रविले नै गरे । र, अब समाज सो बहसमा सरिक भएको छ- उत्तरको अपेक्षाका साथ ।

त्यसो त कतिपय कथित वरिष्ठ पत्रकारले ‘हामीले लडेर ल्याइदिएको लोकतन्त्रमा रविहरूले यत्तिको बोल्न पाएका हुन्’ भनेर ठालू नपल्टिएका हैनन् । तर, नेपाली पत्रकारिता जगत्लाई नै आरोपमय र लाञ्छनायुक्त विवादमा जबर्जस्ती घिसार्ने ती ठालूहरूलाई अब भने बहस र प्रश्नबाट भाग्ने छुट किमार्थ छैन । उनीहरूले आफ्नो अनुहार ऐनामा हेर्न तयार हुनैपर्ने भएको छ । किन पनि भने, उनीहरूमाथिको लाञ्छनाले आम पत्रकारिता जगत्लाई बदनाम तुल्याएको छ, बेइमान भएको अर्थमा परिभाषित गरेको छ ।

रवि प्रकरणले नै यस देशका जिम्मेवार निकायहरू कतिसम्म नकच्चरा रहेछन् भन्ने पनि देखायो । अमेरिकी पासपोर्ट बोकेर आएको एउटा व्यक्तिले नेपाली पासपोर्ट बनाउँदा, पुरानै नागरिकताले कम्पनी खोल्दा, व्यापार-व्यवसाय गर्दा, मतदाता नामावलीमा नाम लेखाउँदा, पार्टी दर्ता गर्दा, सांसद उम्मेदवार भएर विजयी हुँदा र उपप्रधानमन्त्रीसहित गृहमन्त्री नै हुँदासम्म राज्यका निकायले पत्तै नपाउनु भनेको राज्य संयन्त्र कतिसम्म निकम्मा हो- स्वतःसिद्ध छ ।

साहू (बिजनेस टाइकुन)हरूद्वारा सञ्चालित सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता पाइन्न । ती हरहालमा र पत्रकारिताका आडमा ब्ल्याकमेलिङ गरेर भए पनि कमाउनुपर्ने एकसूत्रीय शर्त लादिएका सम्पादकहरू ती साहूका बुख्याँचा जस्ता मात्रै हुन् भन्ने तथ्य यही प्रकरणबाट केही त छर्लङ्गिएको छ । सूचना प्रवाहमा ‘कार्टेलिङ’ गर्ने गरिएको छ । अनि दृश्यमा भने, तिनै सम्पादकहरू नारा लगाउँछन्- प्रेस स्वतन्त्रताको ! कत्ति विरोधाभास ? सम्पादकहरूले एकतर्फी पत्रकारिता गर्छन् भन्ने आरोपको एउटा प्रारुपमय दसी हो- रवि प्रकरण ।

होला, रविले पत्रकार सम्मेलनमा धेरै आवेशमा आरोप बोले । तर, त्यति हुँदाहुँदै पनि बृहद् जनपङ्क्ति किन उनैको वाहवाही गरिरहेका छन् ? आरोपित १२ भाइलगायत विरुद्ध किन खनिइरहेका छन् लगातार ? अर्थात्, पत्रकारहरूको खास रुझान, निहीत स्वार्थ, कमाइको स्रोत आदिबारे जान्ने-बुझ्ने तप्का बढ्नु यस पेशाका हकमा शुभ र प्रकारान्तरले देशकै हितमा हो; यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरणका लागि यो समयले जबर्जस्त जागृत गरेको जेहाद हो । यानि कि अबका दिनहरूमा सञ्चारमाध्यम सञ्चालक वा कार्यरतहरूले आत्मसमीक्षाका लागि तयार नभए खैरियत छैन भनेर समयले दिएको सन्देश समेत हो । जनताको प्रश्न जायज छ र जनताका निम्ति नै पत्रकारिता गरिरहेका हौँ भन्नेहरू सच्चिन जरुरी पनि छ ।

सञ्चारमाध्यम पनि सामाजिक मर्यादा र कानूनी शासनभित्र रहनुपर्छ । समाचार लुकाउने र अतिशयोक्तिपूर्ण बनाउने धन्धा पत्रकारको पेशागत धर्म हुन सक्दैन । ‘खराब’ औंल्याउन पाइन्छ । जनतालाई सुसूचित गर्नुपर्ने दायित्व भएको माध्यम कसैको पनि बिचौलिया बनेको अवस्थामा सञ्चारमाध्यममा कार्यरतहरूमाथि प्रश्न गर्दा प्रेस स्वतन्त्रताविरुद्ध पनि हुँदैन । प्रश्नै गर्न नहुने र गर्दा चौतर्फी हमला हुने अचम्मको भाष्य स्थापित गराउने प्रयास लोकतान्त्रिक गणतन्त्रसापेक्ष होइन । र, पत्रकारिता पनि प्रश्नभन्दा माथि हुन सक्दैन ।